धनगढी । नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण धनगढीमा सुरु भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि धनगढी रंगशालामा सुरु भएको हो ।
यही फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजंघा फुटबल क्लब विजयी भएको छ । धनगढी रंगशालामा भएको खेलमा वागमती युवा क्लब सिराहलाई टाईब्रेकरमा ४–२ ले हराउँदै कञ्चनजंघा क्वाटरफाईनल प्रवेश गरेको हो । निर्धारित समयसम्म दुवै टीमले गोद रहित वरावरी खेलेपछि भएको टाईब्रेकरमा कञ्चनजंघालाई जिताउन गोलरक्षक निगम सिंह नायक बने । उनले वागमतीका विपिन तुमसिङ मगर र अनिल मगरको प्रहारलाई रोकेका हुन् ।

यसअघिको दुवै हाफमा कञ्चनजंघाले अधिकांश समय वल आफ्नो पोल्टामा राखेको भएपनि गोल गर्न नसकेपछि टाईव्रेकरबाट छिनोफानो गरिएको हो । खेलमा कञ्चनजंघाका निगम सिंह दिनेश सोप म्यान अफ द म्याच भए ।

उनले नगद १० हजार सहित ट्रफी पाए । पहिलो खेलमा जित हात पारेको कञ्चनजंघाले अव सेमिफाईनल प्रवेशका लागि आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत शनिवार शसस्त्र प्रहरी बल एपिएफ र न्युरोड टीम एनआरटी बीच प्रतिस्पर्धा हुने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।

फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ ।

१ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्येक्ष तथा दुई करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिता ’bout जानकारी पाउने आयोजकले दावी गरेको छ ।
