कोरोना भाइरस संक्रमणको मौका छोपेर राजधानीमा नै कथित व्यापारीहरूले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै म्याद सकिएका अखाद्य वस्तुहरूमा नयाँ म्याद राख्दै बिक्रीविक्रतरण गरिरहेका छन् । यो गम्भीर अपराध मात्रै नभएर सिंगो राज्यसंयन्त्र माथि नै खुला चुनौती हो ।
नेपालको संविधानको मौलिक हकमा नै हरेक नागरिक स्वस्थ भएर बाच्न पाउनुपर्ने अधिकारको सुनिश्चित गरिएको छ । तर, बजारमा म्याद नाघेका अखाद्य वस्तुहरूको बिक्रीवितरणले नागरिकको स्वस्थ भएर बाँच्न पाउने संवैधानिक हकमाथि नै कुठाराघात भएको छ । यसो त प्रहरी प्रशासनले काठमाडौंका विभिन्न स्थानबाट त्यसरी म्याद गुजिएका बिस्कुट, हर्लिस, चकलेट, जुसलगायतका वस्तु बरामद गरेको छ । प्रहरीले झन्डै २५ करोड मूल्य बराबरका ती अखाद्य वस्तु बरामद गरे पनि तिनको अवस्था के छ भन्ने’bout स्पष्ट जानकारी दिएको छैन ।
ती सबै अखाद्य वस्तु नष्ट गर्नुपर्नेमा नष्ट गर्नबाट जोगाउन विभिन्न खाले चलखेल भइरहेको विषय पनि सार्वजनिक भइरहेका छन् । यदि सरकारी निकायले त्यसरी बरामद गरेका अखाद्य वस्तु नष्ट गर्न सकेन भने सरकारी निकायकै भित्री मिलेमतो भएको अर्थको रूपमा सहजै बुझ्न सकिन्छ । त्यसैले, त्यस्तो अवस्था आउन नदिन पनि छिटोभन्दा छिटो त्यस्ता अखाद्य वस्तुलाई नष्ट गर्नु सरकारको परम् कर्तव्य हो । अहिले सरकारकै केही निकायलाई विभिन्न खाले आर्थिक प्रलोभन देखाई ती व्यापारीहरूले अखाद्य वस्तुलाई खाद्य वस्तु नै भएको प्रमाणित गराउने प्रयास गरिरहेका छन् । उनीहरूको त्यस प्रकारको हर्कतको जतिसुकै निन्दा गरे पनि कम हुन्छ ।
कथित व्यापारीको नाममा नागरिकको स्वास्थ्यमाथि अपराध गरिरहेका ती व्यक्तिहरूको ठूलो जालो केन्द्रदेखि जिल्लासम्ममा नै फैलिरहेको छ । प्रहरी अध्ययन अनुसन्धानका अनुसार अहिले काठमाडांैबाट त्यस्ता अखाद्य वस्तु मुलुकका अन्य विभिन्न जिल्ला र सहरमा समेत पठाइएका छन् । देशभरमा नै नागरिक अखाद्य वस्तुको प्रयोग गर्न बाध्य हुने अवस्थाको सिर्जना गरिनु कानुनी शासनमाथिको उपहाससमेत हो ।
सामाजिक उत्तरदायित्वबिना गरिएका यस्ता हर्कत व्यवसाय होइनन् । यी त दानवीय प्रवृत्ति हुन् । पैसाको लोभमा सर्वसाधारणको स्वास्थ्य अवस्थालाई ध्यान नदिने र कुहिएर सडेका वस्तु खान बाध्य पार्ने अपराधीहरूलाई कुनै पनि बहानामा उन्मुक्ति दिनुहँुदैन । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा हरेक व्यक्तिले कोरोनासँग लड्नका लागि आफ्नो स्वास्थ्य अवस्थालाई मजबुत बनाउनुपर्ने अवस्था छ । तर, बजारमा आएका त्यस्ता सडेगलेका अखाद्य वस्तुको सेवनले क्यान्सर, मुटु रोगजस्ता घातक रोगसमेत लाग्न सक्ने भय बढेर गएको छ ।
मानवसेवा नै धर्म हो भन्ने यथार्थतालाई बिर्र्सिएर अखाद्य वस्तु बिक्रीवितरण गर्दै हिँड्नेलाई अब पाता कसेर कडा कारबाही गर्नुको विकल्प छैन । राज्यसंयन्त्र कमजोर र कानुनी शासनको अभाव भएको अवस्थामा मात्रै नागरिकमाथि हुने अन्याय र अत्याचार मौलाएर जान्छ । त्यसैले, मुलुकमा कानुनी शासनको प्रत्याभूति दिन पनि नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने कालाव्यापारीलाई कुनै पनि बहानामा छुट दिनुहुँदैन र छिटोभन्दा छिटो उनीहरूलाई कानुनी कठघरामा उभ्याएर दण्ड दिनुपर्छ ।






