काठमाडौं । कम्तीमा सय वर्षसम्म फोहोर व्यवस्थापन हुनेगरी १३ वर्षदेखि चर्चा र विवादमा रहेको नुवाकोट र धादिङको सिमानामा निर्माणाधीन बन्चरे डाँडा स्यानेटरी ल्यान्डफिल्डको ढिलासुस्ती अझै हटेको छैन ।
सम्झौताअनुसार गत कात्तिकमा पहिलो चरणको काम सम्पन्न हुनुपर्नेमा अहिले पनि अधुरै रहेको छ । कात्तिकमा पहिलो चरणको काम सम्पन्न नभएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर आफैं फिल्डमा पुगेर फागुनभित्र फोहोर फाल्न मिल्ने बनाउन सबै पक्षलाई निर्देशन दिएका थिए । फागुनमा पनि त्यहाँ फोहोर फाल्न नमिल्ने भएको छ ।
सहरी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद दवाडीले स्थानीयको अवरोध, ठेकेदारलगायत विभिन्न प्राविधिक कारण निर्माणमा केही ढिला भएको बताए । तर, ल्याल्डफिल्ड निर्माणमा सरकारी उदासीनता पनि उस्तै देखिएको छ । सरकारले स्थानीयले उठाएका जायज माग सम्बोधन नगर्दा र नियमित अनुगमन नगर्दा निर्माण कार्य गतिहीन बन्न पुगेको हो ।
स्थानीयले सडक बाटो, मुआब्जा तथा गुणस्तरीय ल्यान्डफिल्ड निर्माण गर्न माग गर्दै पटकपटक अवरोध गर्दै आएका छन् । सरकारले स्थानीयको मागलाई उचित तरिकाले हल गरेर निर्माण कार्यलाई गति दिने काममा सरकारी पक्षको सक्रियता कमजोर बन्दै आएको छ ।
परियोजना पछिल्लो समय भने सहरी विकास मन्त्रालय मातहत ल्याएर सरकारले काम अघि बढाएको छ । पछिल्लो समय सहरी विकास राज्यमन्त्री मानन्धरले सक्रियता देखाउँदै उपत्यकाका नगरपालिकाका मेयर, धादिङ र नुवाकोट जिल्लाको प्रभावित क्षेत्रका सांसद र गाउँपालिका÷वडाध्यक्षसँग निर्माणाधीन स्थलमा छलफल गरेका थिए ।
त्यसक्रममा स्थानीयले फोहोर फाल्न सुरु भएपछि दुर्गन्ध आउन नहुने, लिकेजको उचित व्यवस्थापन गर्नुपर्ने, सडक पूर्वाधार र स्वास्थ्य चौकीको निर्माण गरिनुपर्नेलगायतका माग राखेका छन् । राज्यमन्त्री मानन्धरले उचित माग सम्बोधन गर्न सरकारको तर्फबाट प्रतिबद्धता जनाएपछि अहिले त्यहाँ बिनाअवरोध काम भइरहेको छ ।
सहरी विकास मन्त्रालयले पहिलो चरणको निर्माण सम्पन्न गरी यही फागुनसम्म त्यहाँ फोहोर फाल्ने योजना बनाएको थियो । सहरी विकास मन्त्रालय प्रवक्ता तथा सहसचिव दवाडीले चैत, वैशाखसम्म पहिलो चरणको काम सम्पन्न भएर फोहोर फाल्न मिल्ने बताए ।
सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउने कार्यअन्तर्गत सफा सुन्दर सहर बनाउनका लागि फोहोर व्यवस्थापन गर्न पनि सरकारले ल्यान्डफिल्ड निर्माणमा सक्रियता देखाएको थियो । तर, निर्माण कार्य भने योजनाअनुसार बढ्न सकेको छैन ।
राज्यमन्त्री मानन्धरले पुस पहिलो साता पनि सचिवसहित अनुगमनमा बन्चरेडाँडा पुगेका थिए । परियोजना निर्माणका लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरेको छ । आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
सहसचिव तथा प्रवक्ता दवाडीका अनुसार पहिलो चरणमा सानो स्थानमा फोहोर फाल्न मिल्ने बनाउने र दोस्रो चरणमा पूर्ण र कंक्रिट ल्यान्डफिल्ड निर्माण हुने बताए ।
त्यस क्षेत्रका वडाध्यक्ष केदार पौडेलले पहिलो चरणअन्तर्गतको निर्माणको काम अघि बढिरहेको र अहिले दोस्रो चरणअन्तर्गत ७० करोडको ठेक्का प्रक्रियाको काम भइरहेको जानकारी दिए ।