पेरिस । विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु मैदानमा फिनल्यान्डसँग २–० ले स्तब्ध बनेको छ । यससँगै फ्रान्सको पछिल्लो १३औं खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । २०१९ मा भएको युरो छनोटमा टर्कीसँग २–० ले पराजित भएयता फ्रान्स पछिल्लो १२ खेलमा अपराजित रहेको थियो । यस क्रममा फ्रान्सले १० जित र २ बराबरीको नतिजा निकालेको छ । फ्रान्स टर्कीसँग १–१ गोलको तथा पोर्चुगलसँग गोलरहित बराबरी खेलेको थियो ।
स्टेट डि फ्रान्स पेरिसमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न फिनल्यान्डका मार्कुस फोर्स र ओन्नी भालाकारीले गोल गरे । फिनल्ल्यान्डले पहिलो हाफमा चार मिनेटको अन्तरमा २ गोल गर्दै जित पक्का गरेका थिए । खेलको १५औं मिनेटमा लुकास डिग्नेकै पासमा माकुर्स थुरामको प्रहार बारमा लागेर फर्कदा जिरुउडको हेडरलाई गोलरक्षक जेसे जोरेनेनले बचाए । लगत्तै थुरामको अर्काे प्रहारमा गोलरक्षक जोरेनेन नै बाधक बने ।
फ्रान्ससँग लगातार दबाब झेलेको फिनल्यान्डले २८औं मिनेटमा मार्कुस फोर्सले गोल गर्दै अग्रता लिन सफल भयो । उनले रसमस कार्जालाइनेनको पासमा गोल गर्न सफल भएका थिए । फिनल्यान्डले फ्रान्सको पोस्टमा पहिलो आक्रमण बुन्दै गोल गर्न सफल भएको थियो । ३१औं मिनेटमा ओन्नी भालाकारीले जोनी काउकोको पासमा गोल गर्दै फिनल्यान्डलाई २–० ले अघि बढाए । चोटका कारण मुख्य फरवार्ड केलियन एमबाप्पेबिनै मैदान उत्रदा फ्रान्सको अग्रपङ्ति केही फितलो देखिएको थियो । प्रशिक्षक डिडियर डेसच्याम्पले फिनल्यान्डविरुद्ध अधिकांश नयाँ खेलाडीलाई मौका दिँदा फ्रान्स फिक्का देखिएको थियो ।
यस्तै, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले इस्टोनियामाथि ४–० को सानदार जित हात पारेको छ । इटालीको सानदार जितमा भिनसेन्जो ग्रिफोले दुई तथा फेडरिको बर्नरडेस्सी र रिकार्डाे ओर्साेलिनीले समान १ गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल भएको थियो । यस्र्त मिचे बात्सुयाईको दुई गोल सहयोगमा शीर्ष बरीयतामा रहेको बेल्जियमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्विट्जरल्यान्डमाथि २–१ को पुनरागमन जित निकालेको छ । यस्तै, जर्मनीले चेक रिपब्लिकमाथि १–० को झिनो जित निकालेको छ ।
घरेलु मैदानमा जियानलुका वाल्डस्मिटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा वाल्डस्मिटले खेलको १३औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । यता, स्पेन र नेदरल्यान्डले १–१ गोलको बराबरीमा खेलेका छन् । पाहुना टोली स्पेनले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो ।
प्रतिस्पर्धात्मक खेलको १९औं मिनेटमा सर्जियो केनालेसको गोलबाट अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गर्न सफल भएका थिए । दोस्रो हाफको सुरुमै घरेलु टोलीले खेललाई बराबरीमा ल्याए । ओवेन विज्नाल्डलको पासमा डोनी भान डि बिकले बराबरी गोल फर्काएका थिए ।






