काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला शुक्रबार बसेको सचिवालय बैठक पुनः ३ मंसिरमा बस्ने गरी सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बढीमा एक घण्टामै सकिएको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको अर्को बैठक पुनः ३ मंसिरमा बस्ने गरी सकिएको बताए ।
‘सचिवालयका पाँच सदस्यले सहमतिमा बैठक गर्न आग्रह गरेको पत्र र त्यसको जवाफमा अध्यक्ष ओलीले दाहाललाई लेखेको पत्र । त्यसको जवाफमा दाहालले पठाएको पत्रका साथै पार्टीको संकट निवारणका लागि दाहालले तयार पारेको प्रस्ताव र स्थायी कमिटी बैठक पछाडि जारी गरिएको अन्तरपार्टी निर्देशिका सचिवालयका साथीहरूलाई अध्ययनका लागि बुझाइएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यी सबै सामग्रीको गम्भीर र समग्रतामा अध्ययनपछि पार्टीलाई एकताको बाटोमा अगाडि बढाउनु उपयुक्त हुन्छ भन्ने धारणाका साथ सचिवालय बैठक मंसिर ३ गते बस्ने गरी आजको बैठक सम्पन्न भएको छ ।’
बैठक माग गर्दै २२ कात्तिकमा अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य श्रेष्ठसहितका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित रूपमा पत्र बुझाएका थिए ।
सचिवालयका ५ नेताले प्रधानमन्त्री ओलीलाई लिखित रूपमा पत्र बुझाउँदा बैठकको माग गरेपछि अध्यक्ष ओलीले महासचिव विष्णु पौडेलमार्फत लिखित रूपमै जवाफ पठाएका थिए । त्यसपछि दाहालले पुनः अर्को पत्र लेखेका थिए ।
लामो विवाद र बहससँगै नेकपाभित्र चर्किएको विवाद पत्र अदानप्रदान गर्दै बैठकसम्म पुगेको हो । बैठकमा पार्टीभित्रका समस्या र समाधानको कार्यसूची बनाएर छलफल गर्ने निर्णय समेत भएको छ । पार्टीभित्र देखिएका सबै प्रकारका समस्याका साथ समाधानका उपाय’bout अर्को बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।
अर्को बैठकमा स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका काम र यसबीचमा पार्टी र सरकारबीच देखिएका विवादमाथि समेत छलफल हुने बताइएको छ । अर्को बैठकमा अध्यक्ष दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि तयार पारेको प्रस्तावका साथै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशिका समेतका विषयमा छलफल हुनेछ ।
नेकपाभित्र स्थायी र सचिवालय कमिटीको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, कर्णाली प्रदेश, पर्साका नेता महेश चौरसिया हत्याकाण्ड, प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटघाटलगायतका विषयमा अध्यक्षद्वय ओली र दाहाल–नेपाल समूहबीच मतभेद बढदै गएपछि विवाद चर्किएको हो ।
पार्टीभित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरूले आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्ने प्रयास गरेका थिए । दुवै समूह आन्तरिक गृहकार्यका साथै छुट्टाछुट्टै गुटगत बैठक, भेला तथा सभा गर्न थालेपछि विवाद थप उत्कर्षमा पुगेको छ । तर सचिवालय बैठकसँगै यी सबै विवादित विषयमा छलफल सुरु भएपछि विवाद छिट्टै नै समाधान हुने बताइएको छ ।






