काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद केन्द्रदेखि जिल्ला हुँदै गाउँगाउँसम्म पुगेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा लिखित रूपमै एक प्रतिवेदन पेस गर्दै विभिन्न आरोप लगाएपछि विवाद झन् झन् चर्किँदै गएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि लिखित रूपमै भ्रष्टाचारीलाई संरक्षण गरेको, गुट सञ्चालन गरेकोलगायतका गम्भीर आरोप दाहालले लगाएका छन् । प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा दाहालले सहयोग गर्नुको साटो लगातार असहयोग गर्दै आइरहेको र कार्यकारी भूमिकामा रहँदा पार्टी सञ्चालन प्रभावकारी रूपमा नगरेको आरोप लगाउँदै आएका छन् ।
यही आरोपका बीच बसेको सचिवालय बैठकमा दाहालले लिखित रूपमै गम्भीर आरोप लगाएपछि प्रधानमन्त्री ओलीले ती आरोप पुष्टि गर्न चुनौती दिएका छन् । आरोप पुष्टि भए आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छोड्ने, नभए दाहालले छोड्नुपर्ने चुनौती दिँदै ओलीले अर्को बैठकमा जवाफसहितको प्रतिवेदन पेस गर्ने तयारी गरिरहेको नेकपा स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली निकटका नेता एव सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेताले अध्यक्ष दाहाललाई भेटेर आरोपसहितको प्रतिवेदन फिर्ता लिन गरेको आग्रह दाहालले अस्वीकार गरेपछि विवाद बढ्दै गएको नेकपा नेताहरू बताउँछन् ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सचिवालय बैठकमा आरोपसहितको प्रतिवेदन दाहालले फिर्ता लिए विवाद समाधान हुने बताए । एकतर्फी रूपमा आरोप लगाउँदै पार्टी विभाजन हुने गरी प्रस्ताव आएकाले ती प्रस्ताव फिर्ता लिनुपर्ने रिमालको भनाइ छ ।
केन्द्रमा एकले अर्कोलाई पदच्यूत गर्ने योजनासहित अगाडि बढिरहेकै अवस्थामा चितवनमा शनिबार स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेमाथि भएको दुव्र्यवहारले विवाद झन् बढ्ने देखिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने नेता पाण्डेले चितवनमा एक कार्यक्रममा बोल्दै गर्दा केही व्यक्तिले नारावाजी गर्दै दुव्र्यवहार गरेका थिए । चितवन घटनाले पार्टीभित्रको विवाद बढाउने काम गरेको बिश्लेषण दाहाल–नेपाल समूहको रहेको छ । यस घटनामा ओली समूहको हात रहेको उनीहरूको आरोप छ ।
चितवन घटनापछि आइतबार पाण्डे पोखरा पुगेर एक रिसोर्टमा गोप्य कार्यक्रममा सहभागी भएका छन् । नेकपा स्रोतका अनुसार पोखराको त्यो कार्यक्रममा ओली निकट मानिने नेतालाई प्रवेश निषेध गरिएको छ । दाहाल–नेपाल समूह निकट मानिने नेताहरू मात्रै सहभागी कार्यक्रममा पाण्डेले पार्टीमा अराजकता बढ्दै गएको बताएका छन् ।
यता शनिबार नै सुर्खेतमा ओली निकट मानिने नेताले जनताको बहुदलीय जनवाद (जबज) को ब्यानरमा खुला रूपमा कार्यक्रम गरेका छन् । अहिले जिल्लादेखि गाउँगाउँसम्म नेकपा नेता दुई चिरामा विभाजित भएर विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।
नेकपा स्रोतका अनुसार ७७ वटै जिल्लामा पार्टी विभाजन हुने गरी विभिन्न कार्यक्रम आयोजना हुनु र नेता कार्यकर्ता पनि सोहीअनुसार सहभागी हुनुका साथै एकले अर्कोलाई निषेध गर्न खोज्नुले विवाद पेचिलो बन्दै गएको छ ।
‘केन्द्रका विवाद समाधान भएको छैन, जिल्ला जिल्लामा अनेक विवादित गतिविधि सुरु भएको छ । केन्द्रको विवाद जिल्ला हुँदै गाउँगाउँसम्म पुगेको छ,’ नेकपा स्रोतले भने, ‘एकले अर्कोलाई निषेध गर्दै अगाडि बढ्न थालेपछि विवाद झन् बढ्दै गएको छ, समयमै समाधान गरिएन भने विस्फोट हुन समय लाग्दैन ।’
यता प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेको विषयमा दाहाल–नेपाल सशंकित बनेको छ ।
देउवासँगको भेटमा ओलीले सत्ता सहकार्यको प्रस्ताव गरेको हुन सक्ने आशंका दाहाल नेपाल पक्षको छ । तर, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत कांग्रेस पाँच वर्षसम्म प्रतिपक्षकै भूमिकामा रहने उल्लेख गरेका छन् ।
दोस्रो तहका नेता पार्टी एकता जोगाउन सक्रिय
पार्टीभित्रको शक्ति संघर्ष चर्किंदै गएपछि दोस्रो तहका नेताहरू पार्टी एकतालाई जोगाउन लागेका छन् । स्थायी कमिटीका सदस्यहरू घनश्याम भुसाल, योगेश भट्टराई, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापालगायतका नेताहरूले सक्रियता बढाएका छन् । सहमतिका साथ अगाडि बढ्न र पार्टी एकता जोगाउन नेताहरूले अध्यक्षद्वय ओली र दाहाललाई भेटेर छलफल गरेका छन् ।
स्थायी कमिटीका सदस्य पौडेलले पार्टी कुनै पनि हालतमा विभाजन हुन नदिने बताए । शीर्ष नेताहरूलाई भेटेरै पार्टी एकता जोगाउन तथा सहमतिमै अगाडि बढ्न आफूहरूले दबाब दिइरहेको उनले बताए । नेकपाका साथै नेपाली जनताको भविष्यका लागि एकता अपरिहार्य रहेको बताउँदै उनले शीर्ष नेता सचेत नभए ठूलो दुर्घटना हुन सक्ने बताए ।