संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरले मंगलबारपनि आन्दोलन जारी राखेका छन् । ज्याला नबढाएको र जिल्ला दररेट अनुसार पारिश्रमिक नपाएको भन्दै मजदुरले मंगलबार पनि आयोजनाको काम ठप्प पारेका छन् ।
भौतिक पूर्वाधार कार्यालय संखुवासभाले निर्धारण गरेको दररेट अनुसारको ज्याला नदिएको, आठ घण्टा भन्दा बढी काम लगाएको, समयमा तलव भुक्तानी नगरेको भन्दै ड्यामसाइडका मजदुरले मंगलबार पनि कार्यालय घेराउ गरेका छन् । ज्याला नबढाएको र जिल्ला दररेट अनुसार पारिश्रमिक नपाएको काम ठप्प पारेको मजदुरले बताएका छन् ।
अरुण तेस्रोको ड्याम साइडमा भारतिय र नेपाली सहित करिव २ हजार कामदार आन्दोलित भएका हुन् । ज्याला बढाउन माग गर्दै उनीहरुले मंगलबार पनि बिहानैदेखि काम ठप्प पारेको कामदार अप्सन राईले जानकारी दिए । मजदुरको आन्दोलनका कारण मकालु गाउँपालिका ५ को ड्यामसाइट फ्याक्सिन्दामा काम ठप्प भएको छ । कामदारले निर्माण स्थलमा नाराजुलुस समेत गरेका छन् ।
लामो समयदेखि मजदुरहरुको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरहरुलाई काम नदिएको र स्थानीयलाई काममा प्राथमिकता नदिएको उनीहरुको आरोप छ । निर्माण कम्पनीले दैनिक ज्यालाका बारेमा चासो नदेखाएपछि असुन्तष्टि जनाउँदै कामदारले काम रोकेका हुन् । अरुण तेस्रो सुरुङमार्ग निर्माण लगायतका ड्यामसाइडको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्स्ट्रक्सनले काम गरिएको छ ।
अरुण तेस्रोका मजदुरले यसअघि पनि ज्याला बढाउन माग गर्दै काम अवरुद्ध गर्दा तत्कालै बढाउने सहमति भएको थियो । बर्ष दिन बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरहरूलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेका भन्दै पुनः काम ठप्प पारेको जनाएको छन् । अरुण तेस्रो परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा निर्माण गर्न लागिएको हो ।