सम्पादकीय : कोरोना खोप समयमै भित्र्याऊ

विकसित देशहरूमा कोरोना संक्रमण नियन्त्रणलाई मध्यनजर गरेर कोभिड–१९ विरुद्ध खोपहरू दिन थालेपछि नेपालमा पनि ती खोप भित्र्याउन सरकारले गृहकार्य सुरु गर्नु आफैंमा निकै सकारात्मक कार्य हो । नेपालमा कोरोनाविरुद्ध खोप ल्याउने विषयमा सरकारका सरोकारवाला निकायले सक्रियता बढाएपछि विश्वसनियतामा पनि बढोत्तरी हुँदै गएको छ । सरकारी अधिकारीहरूले त अबको ३/४ महिनाभित्रै खोप ल्याउन सकिनेगरी आवश्यक गृहकार्य अघि बढाइएको दाबीसमेत गरिरहेका छन् । यी सबैको पहल र प्रयत्न एक ठाउँमा आउन सकेमात्र निर्धारित समयमा कोरोनाविरुद्धको खोप नेपालमा आउने विश्वास लिन सकिन्छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समेत जिम्मेवारी हेर्दै आइरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना खोपसँग सम्बन्धित विषयमा गृह, अर्थ, परराष्ट्र, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री र सचिवसँग गहन छलफल गरिसकेका छन् । यो गृहकार्यसँगै उनले सम्बन्धित संस्था तथा विभागहरूलाई खोप ल्याउने प्रक्रिया अघि बढाउन आवश्यक निर्देशन दिएका छन् । उक्त काम गर्दा प्रक्रियामा कुनै बाधा अबरोध आइपरेमा प्रधानमन्त्री कार्यालयले तत्काल पहल गरिदिने आश्वासन पनि दिइएको छ ।

ल्याइने खोप जनताका माझमा निःशुल्क वा सशुल्क कुन रूपमा वितरण गर्न सकिन्छ भन्ने’bout पनि पर्याप्त छलफल भएको देखिन्छ । छलफलमा खोप जनतालाई निःशुल्क उपलब्ध गराउनुपर्नेमा बढी बहस र जिकिर भएको खुल्न आएको छ । करीब ७० प्रतिशत जनसंख्यालाई खोप दिइनुपर्नेबार गम्भीरतापूर्वक छलफल हुनु धेरै राम्रो कुरा हो । यसका लागि लक्षित एरियाका जनतामाझ खोप पुर्याउन एकीकृत रूपमा गृहकार्य अघि बढाउनु जरुरी छ । जनतामाझमा समयमै निःशुल्क खोप उपलब्ध गराउन सके स्वास्थ्य सुविधाका क्षेत्रमा सरकारले यसअघि गुमाएको साख उल्लेख्य रूपमा फिर्ता गर्ने देखिन्छ । कोरोना महामारी लामो समयसम्म रहने र विभिन्न चरण र लहरमा आउने यसको संक्रमणविरुद्ध लड्न पनि यसको स्वरूप परिवर्तन अनुसार तयारी गरिरहनु पर्ने भएकाले प्रतिरोधजन्य तयारीमा लाग्नु नै वेस हुन्छ । यसका लागि हरेक जनतामा कोरोना महामारी संक्रमणविरुद्ध लड्नसक्ने क्षमताको विकास नै सवैभन्दा उत्तम स्वास्थ्योपचार हुन आउँछ । सुरुमा खोप लगाएर शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउन सकेमा महामारी संक्रमण दूर हुने र एक मानवबाट अर्को मानवमा सर्ने संभावना पनि स्वतः कम हुन जान्छ ।

नेपालमा कोरोना महामारी संक्रमण भेटिँदाको सुरुको अवस्थामा निकै तामझामका साथ भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन निर्माण र प्रयोग गरी उदाहरण देखाइयो । तर त्यसपछि लगत्तै स्वास्थ्य उपकरण खरिदमा भए÷गरिएको गडबडीले सरकारको साख निकै गिरायो । त्यसपछिको समयमा कोरोना संक्रमितका लागि गरिने पीसीआर परीक्षण सशुल्क बनाउँदा सरकारप्रति अविश्वास नै खडा हुन गयो । यसको नकारात्मक प्रभाव हाल निशुल्क पीसीआर परीक्षण गरिदा पनि कायमै छ । यसबाट पाठ सिकेर सरकारद्वारा कोरोना महामारीलाई एक सरुवा रोगका रूपमा मान्यता दिई यसको उपचार निशुल्क रूपमा गरिनु पर्ने प्रावधान अघि सारिनु पर्छ । यसका लागि सरकारले एक त समयभित्रै खोप भिœयाउनेगरी द्रुत तयारीमा लाग्नु पर्छ । दोस्रो, खोप दिनका लागि प्राथमिक्ताका आधारमा क्षेत्र चयन तथा आन्तरिक तयारीलाई पूरा गरिसक्नु पर्छ । खोपका लागि –७२ डिग्री सन्टिगेडको चीसो आवश्यक पर्ने भएकाले त्यसका लागि उपकरण र स्टोर निर्माणको निकै खाँचो छ । सरकारले कोरोनाको खोप समयमा नै ल्याउन सकेमा त्यो ठूलो उपलब्धि हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 409 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ वटा स्थानीय तहको मतपरिमाण सार्वजनिक (सूचीसहित)