काठमाडौँ । सरकारले किसानसँग एक वर्ष अघि गरेको सम्झौता कार्यान्वयन नगरेपछि सर्लाहीका उखु किसान आन्दोलन उत्रिएका छन् । चिनी उद्योगले किसानको बक्यौता भुक्तानी नगरेपछि फेरी किसानहरु काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका छन् । आइतबार देखि माइती घर मण्डलामा उखु किसान धर्नामा बसेका छन् ।
चिनी उद्योगीले उखुको भुक्तानी नदिएपछि गत वर्ष पनि किसानहरुले काठमाडौँको माइतिघर मण्डलामा १८ दिन धर्ना दिएका थिए । किसानको धर्नापछि गतवर्ष १८ पुसमा सरकारको रोहबरमा चिनी उद्योगी र किसान बीच ५ बुँदे सहमति भएको थियो । सरकारले चिनी उद्योगीबाट उखु किसानको बाँकी भुक्तानी दिलाउन ५ बुँदे सहमति गरेको थियो । तर, एक वर्षसम्म सम्झौता कार्यान्वयनमा सरकारले पहल गरेन ।

सघर्ष समितिका संरक्षक राकेश मिश्रले गतवर्ष सरकारले किसानसँग गरेको समहति र सम्झौता कार्यान्वयन नभएसम्म अब घर नफर्किने बताए । उनले भने, ‘गतवर्ष सरकारले चिनी उद्योगीबाट किसानको बक्यौता असुली दिन सहमति गरेर आन्दोलन स्थगित गरेका थियौँ । अब यो वर्ष त्यस्तो गल्ती हामी दोहो-याउदैनौँ ।’ गतवर्ष १८ पुसमा सम्झौता भएपछि सम्झौता कार्यान्वयन होला भनेर एकवर्ष कुरेको उनको भनाई छ । किसानहरुले सरकारलाई गत २३ कार्तिकमा उद्योगी मन्त्री लेखराज भट्ट मार्फत स्मरण पत्र बुझाएका थिए । छठपर्व सम्म पैसा नदिए आन्दोलन गर्ने स्मरणपत्रमा उल्लेख थियो ।
उखु किसानहरुले हरेक दिन बिहान ११ बजे देखि साँझ ४ बजे सम्म हामी माइतिघर मण्डलामा धर्ना बस्ने संघर्ष समितिका संरक्षक मिश्रले बताए । ‘जब सम्म हाम्रो पैसा दिइदैन हामी यतै धर्ना बस्ने छौँ । जसरी भएपनि पैसा लिएर मात्र घर फर्किन्छौं ।’
मिश्रका अनुसार अन्नपुर्ण सुगर मिलको ३० करोड, श्री राम सुगर मिलको ४० करोड,लुम्बिनी चिनी उद्योगको साढे ९ करोड, महमालक्ष्मी सुगर मिलको ६ करोड र इन्दिरा सुगर मिलको करिब ४ करोड रुपैयाँ छ ।








