काठमाडौं । विभाजित अवस्थामा पुगेको नेकपाका दुवै समूहको बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले फरक फरक निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहको बालुवाटारमा बसेको बैठकले आगामी वैशाखमा तोकिएको निर्वाचनलाई पूर्ण रूपमा सफल बनाउने गरी आफ्ना सबै जनवर्गीय संगठन र कमिटीलाई निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ । तर पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको बैठकले भने प्रतिनिधिसभा विघटन र निर्वाचनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको बिहीबार बालुवाटारमा बसेको सो बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहालको कार्यकारी अधिकार बदर गर्ने निर्णयसमेत गरेको छ । दाहालले केन्द्रीय कमिटी र स्थायी कमिटीले दिएको जिम्मेवारीअनुसार पार्टीलाई चलायमान बनाउन नसकेको भन्दै केन्द्रीय कमिटीले उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । तर दाहालको अन्य जिम्मेवारी भने यथावत् नै राखिएको छ ।
– निर्वाचनमा होमिनुको विकल्प छैन: ओली समूह
– आन्दोलन गर्नुको विकल्प छैन: दाहाल–नेपाल समूह
– गृहमन्त्री थापा ओली समूहमा सहभागी
– संसद् विघटन लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम
– प्रदेश इन्चार्जमा हेरफेर
‘उहाँ (दाहाल)लाई अध्यक्षबाट हटाइएको छैन तर केन्द्रीय कमिटी र स्थायी कमिटीले दिएको जिम्मेवारी बहन गर्न नसकेकाले उहाँको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरिएको छ,’ बैठकमा सहभागी एक नेताले बताए ।
बैठकले विभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको छ । बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गत ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई पार्टीका केही नेताबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी तथा षड्यन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको बाध्यात्मक कदमका रूमा चित्रण गरेको छ ।
बैठकले बहुमतप्राप्त दलको निर्वाचित प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयको छिनोफानो जनताको अभिमतबाट खोज्नु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको ठहरसमेत गरेको छ । ओली समूहको बैठकले जनजीविकाका विभिन्न सवालमा समेत निर्णय गरेको छ ।
तोकिए ७ प्रदेशका इन्चार्ज
ओली समूहको बैठकले नेताहरूको कार्यविभाजन गर्ने निर्णय गरेको छ । जसअनुसार प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी र उपत्यकाको इन्चार्जमा कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । बैठकले प्रथम अध्यक्ष ओलीको मात्रै हस्ताक्षर चल्ने गरी विधान संशोधन गर्ने निर्णय गर्दै निर्वाचन आयोगमा दर्ता गरेको छ ।
स्रोतका अनुसार बिहीबार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने गरी विधान संशोधन गरिएको छ । यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो ।
यसैगरी केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरेअनुसार ११ सय १९ सदस्यीय कायम गरिएको छ । ओली समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी गराइसकेको छ । दाहाल–नेपाल समूहले बुधबार निर्वाचन आयोग पुगेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको थियो ।
प्रतिक्रान्तिलाई परास्त गर्न प्रधानमन्त्रीलाई साथ: बादल
नेकपा दुई समूहमा विभाजित भएसँगै कुनै समूहमा नलागेका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा अन्ततः ओली समूहमै फर्किएका छन् । तर नेकपा उपाध्यक्ष रहेका वामदेव गौतम अहिलेसम्म कुनै समूहको बैठकमा सहभागी भएका छैनन् ।
ओली समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता थापाले दाहाल–नेपाल समूहतर्फ संकेत गर्दै नेकपाबाट एउटा गुट अलग भएको बताएका छन् । मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन प्रधानमन्त्री ओलीलाई आफूले साथ दिएको बताए ।
प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताउँदै उनले चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बताए । दाहाल–नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको आरोप थापाले लगाएका छन् । प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताउँदै थापाले निर्वाचनमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने आवश्यकता औंल्याए ।
यसअघि थापालाई अध्यक्षद्वय दाहाल र नेपालले आफ्नो समूहको बैठकमा सहभागी हुन आग्रह गर्दै आएको भए पनि उनी अन्ततः ओली समूहमै फर्किए ।
दाहाल–नेपाल समूहद्वारा आन्दोलनको घोषणा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले संसद् विघटनका विरुद्धमा आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार बबरमहलमा बसेको बैठकले आगामी १४ पुसमा देशैभरि प्रदर्शन गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य श्रीप्रसाद साहका अनुसार ११ पुसमा ७ वटै प्रदेश कमिटीको बैठक एकै दिन बस्ने निर्णयसमेत गरेको छ ।
१२ पुसमा ७७ वटै जिल्लामा जिल्ला भेला आयोजनाका साथै सोही दिन सबै जिल्लामा वर्तमान अवस्था र कार्यभारका विषयमा प्रशिक्षण सञ्चालन गर्ने निर्णयसमेत दाहाल–नेपाल समूहको बैठकले गरेको छ ।
यसैगरी शुक्रबार बिहान साढे ९ बजे माइतीघर मण्डलामा सबै केन्द्रीय सदस्य भेला भई १० बजे संयुक्त पत्रसहित निर्वाचन आयोग जाने निर्णय गरिएको छ । शुक्रबार नै दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यस्तै २० पुससम्म सबै नगर र गाउँ कमिटीका बैठक र भेला गर्ने तथा २५ पुससम्म सबै वडामा बैठक र भेला गर्ने निर्णय भएको श्रेष्ठले बताए । साथै १४ पुसभित्र जनसंगठनका बैठक गर्दै दोस्रो चरणको आन्दोलन तय गर्ने बताइएको छ ।
नेकपा केन्द्रीय कमिटीको तेस्रो बैठक भनिएको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्यीय आन्दोलन परिचालन समितिसमेत बनाएको छ ।






