काठमाडौं । पूृर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकको पछिल्लो राजनीतिक अवस्थापछि दुई छिमेकी मुलुकले नेपालमा खुल्ला परेड खेलिरहेको बताएका छन ।
बिहिबार मेलमिलाप दिवसको अवसर पारेर काठमाडौंको शान्तिबाटिकामा तेज-तीर्थ ट्रष्टले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति यादवले संसद विघटनको घटनापछि मुलुक दुई देशको परेड मैदान बन्नु दुःखद् भएको बताएका हुन ।
‘काठमाडौंको पठित वर्ग र चिन्तित वर्गको बिचमा मैले भन्न डराउनु पर्दैन, ‘राष्ट्रमा अहिले खतरा छ, असंवैधानिक तरिकाबाट संसद विघटन भयो, विदेशीको पनि ध्यान तानिएको छ, दुई ठूला देशका बीचमा हामी छौं, तानातान छ, यहाँ उत्तर र दक्षिणको खुला परेड सुरु भइरहेको छ, यो सुखद् होइन,’ पूर्व राष्ट्रपति यादवले सम्बोधनका क्रममा भने ।
यादवले अहिले मुलुक संविधान, संविधानवाद र लोकतन्त्रमाथीको आक्रमणबाट अनिश्चितताको बाटोबाट अघि बढिरहेको पनि बताए ।
उनले लोकतन्त्रको पिल्लर नै राजनीतिक दल भएकाले दलहरुले नै अहिलेको अवस्थामा आआफ्नो कर्तव्य पूरा गरेर राष्ट्रलाई भलो गरेर मेलमिलापकै नीतिबाट अघि बढ्नु पर्ने बताए । यादवले जंगलमा पुगेको लोकतन्त्रको गाडीलाई राष्ट्रिय फोर्स मिलेर नै फेरी जंगलबाट राजमार्गमा ल्याउने विश्वास र व्यक्त गरे ।
मुलुकमा संकट परेको वर्तमान अवस्थामा संविधानले नै तोकेको चार अंग मध्येको एक अंग न्यायालयमा समेत जनताको र आफ्नो विश्वास र भरोसा रहेकाले न्यायलयले देशलाई अनिश्चितताको बाटोमा जानबाट रोक्ने समेत विश्वास व्यक्त गरे ।
कार्यक्रममा पत्रकारद्धय अजयबाबु शिवाकोटी र निर्मला आचार्य, इतिहासविद् योगेन्द्रमान शाक्य, प्रजातान्त्रिक योद्धा शिव कंगाल र साहित्यकार नारायणदेवीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।






