सप्तरी, राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बिरेन्द्र बजार खण्डमा सोमबार राती ट्रकको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ ।
राती ९ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालबाहक ट्रकले बिपरित दिशाबाट आउँदै गरेको साइकल यात्री सप्तरीको विष्णपुर गाउँपालिका १ बाजिदपुरका राजकुमार खत्वे मण्डललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाइते भएका ३५ वर्षिय मण्डलको उपचारका लागि स्थानिय युनिक अस्पतालमा लादालाँदै बाटोमै मृत्यु भएको डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
प्रहरीले ठक्कर दिई भागेका ट्रकका चालक बिराटनगर उपमहानगरपालिका ६ निवासी तथा ट्रकलाई पनि घटनास्थल भन्दा ४ किलोमिटर टाढा महुली क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीले थप अनुसन्धानका लागि भन्दै ठक्कर दिने गाडीको नम्बर तथा चालकको नाम खुलाएको छैन् । वाक्लो हुस्सुकाबीच तिब्र गतिमा गाडी चलाउँदा सो दुर्घटना भएको प्रहरीको भनाई छ ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरीले घटनास्थलदेखी भारदहसम्म सडकमा गुडिरहेका गाडी रोकेर चेकजाच गर्दा ठक्कर दिने गाडीको चक्कामा लागेको रगतको आधारमा गाडीको पहिचान भएको थियो । सो गाडीका चालकले ठक्कर दिएको कुरा स्विकार समेत गरेको डिएसपी साहले जानकारी दिएका छन् । मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पठाई थप अनुसन्धान भइरहेको जनाएको छ ।