सप्तरी । रोकिराखेको ट्याक्टरमा ठोकिएर टाटा सुमो दुर्घटनामा पर्दा आइतबार एकाबिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन् ।
जिल्ला प्रहरीका अनुसार बिहान ३ः३० बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका खण्डमा रोकिराखेको स.१त.२५१२ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे.१ ज. २४५२ नम्बरको सुमो ठोकिदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा सुमो सवार झापाको शिवसतासी नगरपालिका ११ डुरामनी बस्ने २५ वर्षिय रमेश लिम्बुको मृत्यु भएको छ । उनलाई गम्भिर अवस्थामा उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
यस्तै दुर्घटनामा गम्भीर घाइते भएका सुमो चालक पाँचथर जिल्ला फिदिम नगरपालिका ३ बस्ने ३४ वर्षीय टेक बहादुर दर्जी र झापा जिल्ला गौरादह नगरपालिका ४ निवासी ३६ वर्षीय जितबहादुर श्रेष्ठको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
बाक्लो हुस्सु र तिब्र गतिका कारण सो दुर्घटना भएको अनुमान गरिएको छ । ट्याक्टर, चालक तथा सुमो गाडी नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।