दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ ।
दोलखाका २ नगरपालिका र ७ वटा गाउँपालिकाका १ हजार ९ सय ४४ जना स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी तथा कार्यालय सहयोगीहरुलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बिभुकुमार झाले जानकारी दिए ।
भीमेश्वर नगरपालिकाका १ सय १४ जना महिला स्वयंसेविका सहित करिब २ सय ५० जना जिरि नगरपालिकामा महिला स्वयं सेविका सहित २ सय ३६ जना रहेका छन् । वैतेश्वर गाउँपालिकाका १ सय ५० जना महिला स्वयंसेविका गरी २ सय २ जना, तामाकोशी गाउँपालिकाका १ सय ४० जना महिला स्वयंसेविका गरी २ सय २३ जना रहेका छन् । त्यस्तै मेलुङ गाउँपालिकाका १ सय ६५ जना महिला स्वयंसेविका गरी २ सय ७ जना, गौरीशंकर गाउँपालिकाका १ सय ५ जना महिला स्वयंसेविका १ सय ९७ जना, शैलुङ गाउँपालिकाले १ सय ५१ जना स्वयमसेविका गरी २ सय १ जना रहेका छन् । बिगु गाउँपालिकाले १ सय ३१ जना महिला स्वयंसेविका १ सय ७८ जना र कालिञ्चोकबाट १ सय ६५ जना स्वयंसेविका गरि २ सय ४१ जना नागरिकको नामावली संकलन गरी पठाएको छ ।
स्वास्थ्य मन्त्रालयले खोप लगाउनुपर्ने स्वास्थ्यकर्मी स्वयंसेविका, कर्मचारी र कार्यालय सहयोगीको नामावली पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीयहरुलाई पत्राचार गरे लगतै नाम सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयले अहिले संकलन भएको नामावलीको आधारमा प्रत्येक जिल्लामा खोप पठाउने गरी योजना बनाउनेछ । स्थानीय तहबाट प्राप्त तथ्यांकलाई जिल्ला स्वास्थ्य कार्यालयले प्रदेशको सामाजिक विकास मन्त्रालय र संघको स्वास्थ्य सेवा विभागमा पठाउनुपर्ने व्यवस्था मिलाइएको झाले बताए । ‘५२ हजारभन्दा बढी महिला स्वयंसेविकाले पहिलो चरणमै खोप लगाउने छन्’ उनले भने ।