मासिक तीन लाख कमाउछन् यी भिडियो सम्पादक

काठमाडौं । कोरोनाको कहरले नेपाली चलचित्रका प्राविधिक निकै मारमा परे । तर, पछिल्लो समय म्युजिक भिडियोको छायांकनको क्रम बढेपछि आफूहरूलाई राहत मिलेको उनीहरूको भनाई छ ।

कोरोनाको संक्रमण अघिसम्म चलचित्र, म्युजिक भिडियो, विज्ञापनको सम्पादनमा व्यस्त रहेको फिल्म तथा भिडियो इडिटर भरत रेग्मी कोरोना कालमा आफूहरूलाई निकै ठूलो घाटा भएको बताउँछन् । लकडाउनमा आफ्नो घर नवलपरासी पुगेर केही समय बिताएका उनी अहिले फेरि काममा फर्किएका छन् ।

‘पुराना स्टक कामबाहेक गत चैतदेखि भदौसम्म कोरोनाका डरले कुनै पनि नयाँ काम गरिएन । भदौको अन्त्यमा लकडाउन हटेपछि अनलाइनबाटै भिडियो इडिटिङ गर्न थालियो ।’ यो चार महिनामा करिब १८ ओटा म्युजिक भिडियो र आधा दर्जन विज्ञापनको सम्पादन गरेका भरत अहिले पनि पूर्ण सुरक्षित रूपमै काम गर्दै छन् ।

‘भिडियो सम्पादन सकिएपछि अनलाइनबाटै भिडियो देखाउने गरेको छु । निर्देशकले ओके भनेपछि तयार गरेर मेलबाट पठाउने गरेको छु ।’ यसरी भर्चुअल रूपमा काम गर्दा आफूलाई कोरोना सर्ने सम्भावना न्यून रहने र परिवारमा कोरोनाको जोखिम कम रहने पनि उनले बताएका छन् ।

एउटा म्युजिक भिडियो सम्पादन गरेर २५ हजार रुपैयाँसम्म पारिश्रमिक लिने उनी नेपालमा महँगा सम्पादकमा पर्छन् । कान्तिपुर टेलिभिजनमा १४ वर्षसम्म दृष्य सम्पादन गरेका उनले त्यसपछि स्वतन्त्र रूपमै सम्पादन कार्य गर्दै आएका छन्, ‘दुई÷तीन ओटा म्युजिक भिडियो सम्पादन गर्दा एक महिनाको तलब उठ्ने भएपछि मैले टिभी छाडेर स्वतन्त्र रूपमा सम्पादन थालें । अहिले सम्पादनकै कमाइले काठमाडौंमा घर बनाउन सफल भएको छु ।’ भिडियो सम्पादनमा मासिक ३ लाख रुपैयाँसम्म कमाउँदै आएका भरतले कोरोना कालको ६ महिना काम नगर्दा लाखौं रुपैयाँ घाटा भएको सुनाए ।

टेलिभिजन छाडेपछि रक व्यान्ड स्याडोजको ‘म हुँ प्रकृति…’गीतबाट स्वतन्त्र रूपमा भिडियो इडिटिङ सुरु गरेका उनले हालसम्म पाँच सयभन्दा बढी म्युजिक भिडियोसँगै बृत्तचित्र, विज्ञापन र चलचित्रको सम्पादन गरिसकेका छन् । नेपालमा अग्रजदेखि पछिल्ला पुस्ताका अधिकांश चर्चित गायक गायिकाको म्युजिक भिडियो सम्पादन उनले गरिसकेका छन् ।

उनले लता मङेश्कर, राम कृष्ण ढकाल, दीपक खरेल, दीप श्रेष्ठ, धिरज राई, शिशिर योगी, विधान श्रेष्ठ, ओम बिक्रम विष्ट, योगेश्वर अमात्य, हेमन्त शर्मा, हेमन्त राना, हिमाल सागर, युवराज चौलागाई, मिलन अमात्य, धर्वेन्द्र सेवान, इन्दिरा जोशी, हरि बम्स आचार्य, कन्धारा बयान्ड, भरत सिटौला, सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रमोद खरेल, अन्जु पन्त, बाबु बोगटी, कालीप्रसाद बास्कोटा, अनिल सिङ, सन्नी रौनियार, शिव परियार, विश्वा नेपाली, स्वनुप पौडेल, सन्जना श्रेष्ठ, आशीश सचिन, निसान भट्टराई सहित अधिकांश चलेका गायक गायिकको भिडियो सम्पादन गरिसकेको उनले बताए । भरतले आर्थिक रूपमा विपन्न भएकालाई सस्तोमा पनि भिडियो सम्पादन गरेको बताए ।

भरतले नेपाली चलचित्र कलिउड, ऋतु, कथा काठमाडौं, सुश्री सम्पत्ति, चौका दाउसहित १० ओटा चलचित्रको सम्पादन गरिसकेका छन् । तथापि, उनको भनाइमा सम्पादनमा चलचित्रभन्दा भिडियोमा आर्थिक रूपमा निकै फाइदा हुन्छ । एउटा चलचित्र सम्पादन गर्दा ३ लाख रुपैयाँसम्म पाइन्छ । जबकी एउटै भिडियोको २५÷३० हजार रुपैयाँ र विज्ञापनको ५० हजार रुपैयाँसम्म पारिश्रमिक आउँछ । चलचित्रमा आर्थिकभन्दा पनि आफ्नो कला प्रस्तुत गर्न पाइने भएकाले चलचित्रको सम्पादन गर्दै आएको उनले बताए । विभिन्न म्युजिक भिडियोसँगै बृत्तचित्र सुनाकलीबाट थुप्रै अवार्डहरू जितेका भरत सम्पादन पेसामा नामसँगै दाम र सम्मान पनि हुने गरेको बताउँछन् ।

सम्पादनसँगै ग्राफिक, एनिमेसन, रङ संयोजन गर्ने भरत पछिल्लो एक महिनाबाट फेरि व्यस्तता बढेको सुनाउँछन्, ‘अहिलेको अवस्था सामान्य हुँदै गएकाले सम्पादनका काम थुप्रै आइरहेका छन् । अझै पनि कोरोनाको महामारी नघटेका कारण भर्चुअल रूपमै इडिटिङको काम गरेको छु ।’

नेपालमा भिडियो सम्पादनमा प्रतिस्पर्धा भए पनि समयमै राम्रो काम दिन सक्यो भने खाली बस्नुु नपर्ने उनको कथन छ । नेपाल मात्र नभएर सम्पादनसम्बन्धी युरोप अमेरिकाका कतिपय काम आफूले अनलाइनमार्फत नै लिएर सम्पादन गर्दै आएको भरतले बताए । कोभिड–९ पछि अनलाइनबाटै काम गर्ने अभ्यास बढेकाले खोप लगाएर सुरक्षित नभएसम्म यसलाई निरन्तरता दिने उनको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

कुरी-कुरी