सडकले फेरिएको भोजपुर

युवराज विष्ट

भोजपुर सडक पहुँचमा जोडिएको लामो समय भएको छैन । छिमेकी जिल्ला धनकुटामा सडक विस्तार भएको करीब ३० वर्षपछि भोजपुरमा सडक विकास भएको हो । २०५६ बाट सडक खन्न सुुरु भएको स्थानीय जानकार गणेश श्रेष्ठ बताउँछन् । उनका अनुसार तत्कालीन ग्रामीण सडक परियोजना (¥याप)अन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनियो । यसपछि मात्र लेगुवा–भोजपुर सडक ट्रयाक खोलिएको हो ।

२६ असार २०६५ मा भोजपुर जिल्लामा नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिलो पटक टँुडीखेलमा महेन्द्र जीप ओरालिएको थियो ।

दिउँदमा दुई दिनसम्म लगाएर ट्याक्टर भोजपुरबाट लेगुवासम्म आवतजावत गर्थे । बसयात्रा गर्न भने करीब ६६ किलोमिटर पैदलपछि धनकुटा सीमा लेगुवा पुग्नुपर्ने बाध्य थियो । नुन, चामल, मट्टीतेल १० दिनसम्म ढाकरमा बोकेर ल्याउनुपर्ने अवस्था स्थानीयले भोगे । नुन जोह गर्न तत्कालीन अवस्थामा सुनसरी चतरा, धनकुटा हिले, उदयपुर बेलटार मुख्य बजार रहेको स्थानीय मानबहादुर विष्ट सुनाउँछन् । भोजपुरमा यातायात विकास देखेर उनलाई अचम्मै लागेको छ । ‘बस चढिएला’ भन्ने उनले कहिल्यै सोचेकै रहेनछ ।

दुई दशकमा भोजपुरले सडक क्षेत्रमा अग्रता लिएको हो । विशेषगरी भोजपुर–धनकुटा सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि विकासले अग्रता लियो । ८ वर्षअघि अरुण नदीमा पुल बनेपछि भोजपुरबासीले यातयात सहज पहुँच पाएका हुन् । त्यसबेला भोजपुर खण्डमा कच्ची बाटोको ट्रयाक खोलिएको थियो ।

अहिले एसियाली विकास बैंकको लगानीमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्रे भएको छ । जिल्लामा कालोपत्रे भएको यो पहिलो सडक हो । भोजपुर लेगुवा, धनकुटा हुँदै धरान जोड्ने सडकको कुल लम्बाई करीब १५४ किलोमिटर छ । अहिले सुविधायुक्त बस, भोजपुरबाट दैनिक काठमाडांै, विराटनगर, धरानलगायतका लागि छुट्छन् ।



राष्ट्रिय राजमार्गस“ग जोडिएको सडक भोजपुरबासीका लागि उपहार बन्यो । जिल्ला काठमाडौंसम्मको छोटो सडक सञ्जालस“गका रूपमा जोड्न देउराली चोक–चखेवा भञ्ज्याङ ४२ किलोमिटर सडक कालोपत्रे अन्तिम चरणमा छ । खोटाङ हुँदै यो सडक विस्तार जारी छ ।

६ महिनाभित्र सक्ने लक्ष्यसाथ काम भइरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ । कालोपत्रे भएकाले मौसमका कारण कठिनाई भए पनि कामलाई गति दिइएको कार्यालय प्रमुख सुरेश न्यौपाने बताउ“छन् । ‘यो सडक निर्माण तीव्र गतिमा बढेको छ,’ उनी भन्छन्, ‘लकडाउन तथा मौसमका कारण कालोपत्रे काममा केही बाधा पुगेको छ तर अब ६ महिनाभित्र सम्पूर्ण काम सक्ने तयारी गरेका छौं ।’

तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष २०७२÷ ०७३ बाट काम थालनी गरेको थियो । यसअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ थालिए पनि लकडाउन, मौसमलगायत कारण केही ढिला भएको कम्पनीले जनाएको छ । काम गर्ने समय पाँच महिनामात्र उपयुक्त हुने भएकाले केही बाधा पुग्ने गरेको कम्पनीका इन्जिनियर शैलेन्द्र मल्ल बताउ“छन् । तर, पनि जेठ २०७८ भित्र निर्माण सम्पन्न गर्ने उनको दाबी छ । सडक निर्माण लागत करीब ६५ करोड छ । निर्माण कार्य दुई प्याकेजमा भइरहेकोे छ । जसमध्ये पहिलो प्याकेजको काम पूर्ण सम्पन्न भएको छ ।

पश्चिमी क्षेत्रबाट भोजपुर नगरपालिकाका बोखिम, शिद्धेश्वर, गुप्तेश्वर र टेम्केमैयुङ गाउँपालिका सेतीबगर, शिरदली, मेस्पाङ, खोङटाङ, अन्नपूर्णलगायत ठाउँ छोएर सडक विस्तार जारी छ । एकदिनको पैदल यात्रा गरेर भोजपुर बजार आउनुपर्ने अवस्था रहेका यस क्षेत्रका मानिस सडक सुविधापछि स्थानीय उत्पादन विक्री गरेर घर फर्कन पाएका छन् । यस क्षेत्रमा उत्पादन भएका कृषि उपज काठमाडौं, धरान विराटनगरलगायत सहरमा पुग्ने गरेका छन् ।

प्रदेश सरकारको करीब १७ करोड लागतमा जिल्लाको एकमात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्मको ५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । प्रेदश–१ सरकारले कालोपत्रे गरेको भोजपुरको पहिलो सडक पनि हो । यहाँ पहिलो आसपाल्ड प्रविधिबाट करीब १७ करोड लागतमा सडक कालोपत्रे भएको छ ।

त्यस्तै, रामप्रसादराई गाउँपालिका डढुवादेखि आरीखोलासम्मको करीब २० किलोमिटर सडक कालोपत्रे जारी छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको सडकमा प्रदेश सरकारको करीब ५४ करोड लगानी छ । जुन सडकको काम २० प्रतिशत बढी सकिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर डिल्लीश्वर कार्कीले जानकारी दिए । यो सडक अबको करीब २६ महिनामा सम्पन्न गरीसक्नु पर्नेछ ।

त्यस्तै, प्रदेश सरकारले षडानन्द नगरपालिका–१२ तुर्केपुल–फाली दोबाटो २२ किलोमिटर सडक कालोपत्रेको काम सुरु गरेको छ । ६१ करोड ६० लाख लागतमा आस्फाल्ड प्रविधिबाट कालोपत्रे भइरहेको सडक दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको पूर्वाधार विकास कार्यालयको भनाइ छ ।

भोजपुरलाई छोटो सडक मार्गबाट तराईका जिल्लास“ग जोड्ने लक्ष्यसाथ हतुवगढी–९ हसनपुर चुहार र उदयपुर बेलका नगरपालिका–७ मैनामैनी जोड्ने दुधकोशी नदीमा मोटरेबल पक्की पुल निर्माण भइरहेको छ । प्रदेश सरकारको २१ करोड २३ लाख १२ हजार ४ सय ७ रुपैया“ लागतमा पुल निर्माण सुरु भएको हो ।

लम्बाई ९० मिटर र चौडाई फुटपाथसहित साढे १० मिटर पुलको डिजाइन अवधि ५० देखि ८० वर्ष रहेको छ । पुल भूकम्पप्रतिरोधी हुने यातायात पूर्वाधार निर्देशनालय प्रदेश–१ प्रमुख रेवतीरमण पराजुलीले जनाएका छन् ।

सदरमुकामबाट दुधकोशी पुलसम्मको लम्बाई करीब ६५ किलोमिटर छ । तराईका जिल्लास“ग जोड्ने सबैभन्दा छोटो मार्ग भएकोले आर्थिक रूपमा टेवा पुग्ने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको विश्वास छ । ‘प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको पुलको काम धमाधम भइरहेको छ,’ उनी भन्छन्, ‘हामीले पनि बेलाबेला अनुगमन गरिरहेका छौं, यो पुल निर्माण भएपश्चात दक्षिणी क्षेत्र हुँदै तराईका जिल्ला पुग्न अत्यन्त छोटो बाटो हुनेछ । यसबाट हाम्रो करीब ४५ किलोमिटर बाटो छोटो हुने देखिन्छ ।’ पूर्व क्षेत्रबाट धरान पुग्न भोजपुरबासीले १५४ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।

दक्षिणी क्षेत्रबाटै भोजपुर हतुवागढी होमताङ र धनकुटा मुघा जोड्ने सुन बालुवा र आमचोक गाउँपालिका पाङचा सेतो गरगरे र उदयपुर चौदण्डीगढी रानीटार जोड्ने दुधकोशी नदीमा पनि संघीय सरकारको ठुलो लगानीमा पक्की पुल निर्माण भइरहेको छ । यी पुल निर्माणपछि दक्षिणी क्षेत्रका सबै नाका सडकको सहज पहुँचमा जोडिने छन् ।


उत्तर– दक्षिण सडक विस्तार रणनीतिक योजनाअनुसार उदयपुर मैनामनी हाल निर्माण भइरहेको दुधकोशी पुलबाट हतुवागढी, आमचोक गाउँपालिकाबाट भोजपुर सदुरमुकाम हुँदै संखुुवासभा किमाथाङकासम्म सडक जोड्ने लक्ष्य रहेको प्रदेश–१ मुख्यमन्त्री शेरधन राई बताउ“छन् ।

‘तराई हुँदै भोजपुरलाई उत्तर–दक्षिण सडकको पहुँचमा जोड्न प्रदेश सरकारको प्राथमिकता प्राप्त रणनीतिक वैकल्पिक सडकका रूपमा यो सडकलाई राखेका छौं, जसका लागि मेरो पहलमा एसियाली विकास बैंकको लगानीमा आरसीआइपी संस्थाले आधारभूत प्रक्रिया पूरा गरेर डीपीआर बन्ने तयारीमा छ,’ मुख्यमन्त्री राई भन्छन्, ‘तत्काललाई चतरादेखि भोजपुर सदरमुकाम हुँदै दिङ्लासम्म र भविष्यमा किमाथाङ्कासम्म जोडेर वैकल्पिक राजमार्ग बनाउने प्रदेश सरकारको योजना छ ।’

प्रदेश सरकारले मुख्य सडकस“गै यहाँ आवश्यक सम्पूर्ण नदी तथा खोलामा पुल निर्माण प्रक्रिया सुरु गरेको छ । जिल्लाभित्र प्रदेश सरकारको लगानी तथा समन्वयमा १३ वटा पक्की पुल बन्ने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । जसमध्ये आधा दर्जनभन्दा बढी पुल निर्माण सुरु भएको र अन्यको बोलपत्र भइरहेको कार्यालयको भनाइ छ ।