खोलाकै छेउमा लाखौंको लगानीमा बन्दै सामुदायिक भवन, स्थानियद्वारा विरोध

सप्तरी । खोलाकै छेउमा सार्वजनिक सडकको केही भाग समेत मिच्दै सामुदायिक भवन तथा धार्मिक स्थलको जग्गामा बालविकास कोठा भवन निर्माण थालिएको प्रति सप्तरीको कंचनरुप नगरपालिका २ का स्थानियबासीले आपत्ती प्रकट गरेका छन् ।

कंचनरुप नगरपालिका २ बरमझियास्थित सुन्दरी खोला छेउमै बनाउन लागिएको सामुदायिक भवनका कारण सडकको केही भाग मिचिने र बर्षाका बेला आउने बाढी बस्तीतर्फ मोडिने कुरालाई संकेत गर्दै भवन निर्माणमा गरिएको लगानी पनि व्यर्थ हुने भन्दै उनीहरुले आपत्ती जनाएका हुन् ।
त्यस्तै बालविकास भवन निर्माणमा पनि सोही वडास्थित मदर्सा इस्लामिया आधारभूत विद्यालयको स्वामित्वमा रहेको जग्गामा भईरहेको निर्माण कार्य प्रति स्थानियले कडा आपती जनाउँदै दुवै निर्माण कार्य तत्काल रोकी सबैको सरसल्लाह र सुझावमा उपयुक्त स्थानको खोजी गरी भवन निर्माण कार्य अघि बढाउनु पर्ने माग गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तराई मधेश समृद्घि कार्यक्रम अन्तर्गत प्राप्त २५–२५ लाख रुपैयाँको अनुदानबाट दुवै स्थानमा उपभोक्ता समिति मार्फत भइरहेको काम रोक्न र उपयुक्त स्थानको चयन गर्न माग गर्दै स्थानियले कंचनरुप नगरपालिका तथा सरोकारवाला अन्य निकायमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

शुक्रबार निर्माण स्थलमै पत्रकार सम्मेलनको आयोजना गरेका स्थानियले दुवै भवन निर्माण कार्य नमुना मापदण्ड २०७० को विपरित भएको तथा आसपासका वस्ती डुवानको जोखिममा पर्ने भन्दै यसलाई रोक्नुपर्ने माग गरेका छन् । तत्कालीन बरमझिया गा.वि.स.का अध्यक्ष समेत रहेका छेदीलाल पंडितले सरकारी रकम खेर जान नदिन र वर्षायाममा आउने बाढीले बस्तीलाई जोगाउन आफुहरु सरोकारवाला निमायलाई घचघचाई रहेको बताएका छन् ।

उक्त दुवै आयोजनाको निर्माण कार्य अहिले सुरु छ । तर निर्माण स्थलमा आयोजनाको नाम, लागत रकम, निर्माण कार्य सुरु गरेको मिति तथा निर्माण कार्य पुरा गर्ने समयावधि लगायतका जानकारी दिने कुनै बोर्ड समेत राखिएको छैन ।

उपभोक्ता समिति पनि गोप्य ढंगले गठन गरिएको स्थानियबासीको दाबी छ । जसकारण निर्माण कार्यमा समेत आर्थिक अनियमितता भईरहेको भन्दै स्थानियले सो को पनि छानविन हुनुपर्ने माग गरेका छन् । खोला किनारमा लाखौंको लगानीमा बन्दै गरेको भवन बाढीले भत्काएर खेर जाने र बस्ती पनि बाढीको जोखिममा पर्ने सम्भावना ’bout उपभोक्ता समितिका अध्यक्ष दुर्योधन गोसाईसँग जिज्ञासा राख्दा उनले भने, ‘नगरपालिकाले भविष्यमा नदी नियन्त्रणका लागी आवश्यक पर्ने सबै काम गराइदिने र हाल सोही स्थानमा जग्गा उपलब्ध गराई निर्माण कार्य सुरु गर्न भनेकाले हामी काम सुरु गरेका छौं ।’

स्थानियले पत्रकार सम्मेलनमा सरकारी रकमको दुरुपयोग हुन नदिन र तत्काल सो काम रोक्न अदालतसम्म पुगेको जानकारी दिएका छन् । यस विषयमा सप्तरी जिल्ला अदालतमा वडा कार्यालय, उपभोक्ता समिति र कंचनरुप नगरपालिकालाई समेत विपक्षी बनाई स्थानियबासीको तर्फबाट भुषण प्रसाद गुप्ताद्वारा निषेधाज्ञा मुद्दा पनी दायर गरिएको छ ।

दायर मुदामा हाल निर्माण भई रहेको उक्त कि.नं. २ को ०–५–१२० को जग्गा सार्वजनिक सडकको बाटोको जग्गा तथा कि.नं. १५ को १–१५–१९ को जग्गा खोलाको जग्गा रहेको मालपोत कार्यालय र नापी कार्यालयबाट समेत प्रमाणित भइसकेको अवस्थामा गैरकानूनी ढंगले भईरहेको निर्माण कार्य रोक्न अन्तरिम आदेश जारी गरी पाउँ भनी माग गरिएको छ ।

सो मुद्दा उपर सुनुवाई गर्दे न्यायधिश उमेश कोईरालाको एकल ईजलासले १५ दिन भित्र उक्त जग्गामा भवन निर्माण कार्य सुरु गरिएको विषयमा विपक्षीलाई लिखित जवाफ पेश गर्न जारी गरेको आदेशको प्रतिलिपि समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । तर पनि निर्माण कार्य जारी रहेकोमा चिन्ता व्यक्त गरेका स्थानियले अबिलम्ब उक्त कार्य नरोकिए आन्दोनलको बाटो रोज्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

विकास निर्माण कार्यमा राज्यकोषको सहि परिचालन र सदुपयोग हुनुपर्छ । यसको दुरुपयोग हुनुहुँदैन । यस्तै विकास निर्माणका काममा छिटो, छरितो र गुणस्तरिय काम होओस भन्ने उदेश्यले उपभोक्ता समितिको गठन हुन्छ । तर यहाँ दुवै काम गैर कानूनी ढंगले भईरहेको भन्दै स्थानियले यस प्रकरणको गहिरो छानविन हुनुपर्ने माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

खोकनामै अड्कियो गौरवको आयोजना