बझाङ । देशभरी जस्तै बझाङमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार एक वृहत कार्याक्रमकाबीच जिल्ला अस्पतालमा अनमी सुनिता उपाध्यायले स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीलाई खोप लगाएर अभियान सुरु गरेका हुन् ।
कोरोनाविरुद्धको सुरक्षित खोप लगाउनका लागि डराउनु पर्दैन भन्ने सन्देश दिनका लागि आफूले बझाङ जिल्लामा सुरुमै खोप लगाएको कार्यालय प्रमुख भानुभक्त जोशिाले प्रतिक्रिया दिए । यस्तै दोस्रो खोप स्वास्थ्य कार्यालयमा कार्यरत जनस्वास्थ्य निरीक्षक दिपक बहादुर ऐडीले लगाए भने तेस्रो खोप जिल्ला अस्पातालका सि अहेब देबराज रतालाले लगाएका थिए ।
प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको अध्यक्षतामा संचालन भएको राष्टिय कोभिड १९ खोप अभियान २०७७।०७८ का प्रमुख अतिथी जल तथा उर्जा आयोग सचिवालय सचिब सागर कुमार राई रहेका थिए । आज बझाङ जिल्ला भरी १२५ जना स्वास्थ्त्यकर्मीलाई कोभिड १९ विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए ।
१४ गतेदेखि संचालन भएको यो अभियान २४ गतेसम्म संचालन हुने बताउँदै प्रमुख जोशिले जिल्लामा रहेको १२ वटै स्थानीय तहका स्वजास्थ्यकर्मीहरुलाई उक्त खोप दिइने बताए । बझाङ जिल्लाका लागि १५६० डोज प्राप्त भएको छ । बुधबारदेखि १८ गतेसम्म लगाइने पहिलो चरणको खोपमा अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने भएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले प्रदेशका लागि १६ हजार २ सय ९३ जनालाई पुग्ने ३६ हजार डोज खोप सुदूरपश्चिम पुगेको बताए ।
अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपको १० लाख डोज नेपाल आएको छ । खोप सबै प्रदेशमा पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।