काठमाडौं । राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का भएको छ । धितोपत्र ऐन अनुसार कामकारबाही नगरे पछि यी दुई कम्पनीहरुको सेयर कारोबार रोकिएको नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदले बताए ।
यी दुई कम्पनीले त्रैमासिक रुपमा बुझाउनु पर्ने वित्तीय विवरण समेत बुझाउन सकेको छैन । लामो समय साधारणसभा गर्न नसकेका यी दुबै कम्पनीहरु नेपाल सरकारको लगानी रहेका कम्पनीहरु हुन् ।
राष्ट्रिय बिमा कम्पनीले ८ वर्षदेखि साधारणसभा नै गराउन सकेको छैन । धितोपत्र सूचीकरण नियमावलीको विनियम २०७५ को वियिम (२२) (१) (क) मा भएको व्यवस्था बमोजिम सूचीकृत संगठित संस्थाले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र पेश गर्नुपर्छ भन्ने व्यवस्था रहेको छ ।
नेप्सेले यी दुबै कम्पनीलाई लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरिक्षण प्रतिवेदन पठाउन भनेपनि नपठाएकाले रोक्का गरिएको बताएको छ । दुबै कम्पनिको शेयर मुल्य उच्च छ । राष्ट्रिय बिमा कम्पनिको सेयर मुल्य १६ हजार ६ सय ७० रुपैयाँ रहेको छ भने विशाल बजारको सेयर मूल्य २ हजार ८ सय ८० रुपैयाँ रहेको छ ।






