सावित्रा एक्लैको १२ गोल

काठमाडौं । फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ एक्लैको १२ गोल मद्दतमा विभागीय नेपाल एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि २२–० को फराकिलो जित निकाल्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ ।

यो फराकिलो जितसँगै अपराजित रहेर एक गोल पनि नखाएको एपीएफले ६ खेलबाट १८ अंक जोडेको छ । एपीएफले दोस्रो स्थानको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई ८ अंकले पछि पारेको छ । आर्मीको ५ खेलबाट १० अंक छ । एन्फा कम्प्लेक्समा सोमबार भएको एकपक्षीय खेलमा एपीएफका लागि कप्तान अनु लामाले ५ गोल गर्दा अनिता बस्नेतले ह्याट्रिक तथा सरु लिम्बु र रेनुका नगरकोटीले समान एक गोल गरिन् ।

एक पक्षीय बनेको खेलमा एपीएफले पहिलो हाफमा नै १२–० को फराकिलो अग्रत लिँदा दोस्रो हाफमा १० गोल गरेको थियो । एपीएफले खेलको पाँचौ मिनेटमा सावित्रा भण्डारीको गोलबाट खाता खोलेको थियो । त्यसपछि एपीएफले लगातार गोल गर्ने क्रमलाई अन्तिम समयसम्म निरन्तरता दियो ।

कप्तान अनु लामाले ११, १४ र २०औं मिनेटमा ह्याट्रिक पुरा गर्दा २६ र ६५औं मिनेटमा पनि गोल गरिन् । अनिता यस्तै अनिता बस्नेतले आठौं, ४९औं र ६७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । सावित्राले पाँचौ, ३२ र ३३औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसपछि पनि गोल गर्ने क्रमलाई नरोकेको सावित्राले इन्ज्युरी समयमा गोल गर्दै आफ्नो गोल संख्या १२ पु-याइन् ।

सावित्राले लिगमा २४ गोल गर्दै सर्वाधिक गोलकर्ताको अग्रस्थानमा रहेकी छन् । उनलाई पछ्याइरहेको चन्द्रपुरकी रुथको ७ गोल रहेको छ । पराजित चौदन्डीगढीले ५ खेलसम्म अंकको खाता खोल्न सकेको छैन । लिगमा चौदन्डीगढीले एक गोल गर्दा ५१ गोल खाएको छ ।

राष्ट्रिय खेलाडीले भरिपूर्ण एपीएफसामु चौदन्डी निरिह नै बन्यो । तर, चौदण्डीको त्यो हारको भित्रि कथा केही फरक छ । एपीएफविरुद्ध चौदण्डीले फरवार्ड अन्जना थुलुङलाई गोलपोस्टको जिम्मेवारी दिएको थियो । त्यसअघि अन्जनाले शनिबार बिराटनगरविरुद्धको खेलमा पनि अन्तिम सात मिनेट गोल पोस्ट सम्हालेकी थिइन् । टोलीमा रहेका तीन गोलरक्षक घाइते भएपछि चौदण्डीका प्रशिक्षक दिपक थापाले फरवार्ड अन्जनालाई गोलपोस्ट सम्हाल्ने जिम्मेवारी दिएका थिए । यसअघि कहिल्यै पनि गोल पोस्ट नसम्हालेको अन्जनाले केही उत्कृष्ट बचाउ गरे पनि टोलीले फराकिलो हार टार्न सकेन ।

‘प्लेइङ सेटका खेलाडी घाइते छन् । फरवार्डलाई गोलरक्षकको भूमिका दिनैपर्ने बाध्यता प-यो । उनले निकै राम्रो खेलिन् । उनको खेलबाट सन्तुष्ट छु ।’ प्रशिक्षक थापाले भने, ‘अन्जना टिमका मुख्य फरवार्ड पनि हुन् । उनी टोलीका एक्ली गोलकर्ता पनि हुन् । फिजियोसँग कुराकानी गर्दा गोलरक्षक कहिला फर्किन्छ भन्न सकिने अवस्था नै छैन । अन्य गोलरक्षक फिट नभएको अवस्थासम्म उनी नै हाम्रो लागि पहिलो रोजाईका गोलरक्षक हुन् ।’ फरवार्डबाट गोलरक्षक बनेकी अन्जनाले एपीएफविरुद्ध सक्ने जति प्रयास गरेको बताउँदै धेरै गोल खान पुगेको बताइन् ।

सोमबारै भएको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले महिला राष्ट्रिय लिगमा विराटनगर महानगरपालिकालाई ७–० ले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक पुरा गर्दा विमला चौधरीले दुई तथा रश्मी घिसिङ र विमला बिकले समान एक गोल गरिन् ।

२९औं मिनेटमा रश्मि घिसिङले पेनाल्टी चुकाउदा आर्मी अग्रता लिनबाट चुक्यो । सरिता शेर्पाले पेनाल्टी बक्समा बिमला चौधरीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रश्मीको फितलो प्रहार गोलरक्षक तथा कप्तान कल्पना कार्कीले सहजै बचाइन् । ३६औं मिनेटमा बिमला चौधरीले गोल गर्दै आर्मीलाई १–० ले अघि बढाइन् ।

४५औं मिनेटमा शर्मिला थापाले गोल गर्दै आर्मीको अगता दोब्बर पारिन् । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्मीको अग्रता तेब्बर पारिन् । ५७औं मिनेटमा आशा कुमारीको फ्रिकिक क्रसबारमा लागेर फर्कदा विराटनगर गोलअन्तर कम गर्नबाट चुक्यो । ६१औं मिनेटमा शर्मिला थापाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । उनले सपना लामाको पासमा गोल गरेकी थिइन् ।

६७औं मिनेटमा रश्मि घिसिङले पेनाल्टीमा गोल गर्दै आर्मीलाई ५–० ले अघि बढाइन् । सपना लामाको क्रसलाई पूर्णिमा कुमारीले ह्यान्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी प्रदान गर्दा यसपटक रश्मि चुकिनन् । ७१औं मिनेटमा फ्रिकिकबाट आएको बललाई विमला विकले हुलमुलमा गोल गर्दै आर्मीलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

८४औं मिनेटमा बिमला चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ७–० को फराकिलो जित दिलाइन् । यो जितसँगै आर्मी ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको एपीएफको १५ अंक छ । पराजित विराटनगर ७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी