काठमाडौं । ऋषिराज आचार्यको निर्माण निर्देशन रहेको हास्यप्रधान चलचित्र ‘चुरीफुरी’ को छायांकन सम्पन्न भएको छ । पुस अन्तिमबाट छायांकन थालिएको यो चलचित्रको ४३ दिनमा ‘इन्ड कल्याप’ भएको निर्देशक आचार्यले बताएका छन् ।
यो चलचित्रमा रवीन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीवजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिषिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एक्दुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायतका कलाकारको अभिनय रहेको छ । मोडेल अभिषेक श्रेष्ठले हिरोका रूपमा डेब्यु गरेको ‘चुरीफुरी’को सम्पादन नवीन निरौलाले गरिरहेका छन् ।
यो चलचित्रमा राहुल राईको छायांकन, निर्देशक आचार्यकै लेखन रहेको छ । यो चलचित्रको निर्मातामा आचार्यसँगै रिना ढकाल, सहनिर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । दीपक शर्माको संगीत रहेको फिल्मका गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिसा पौडेललको स्वर छ । भीमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्मको कला निर्देशक विजय आचार्य छन् ।
कथाको मागअनुरूप नै फिल्ममा नयाँ तथा हास्य व्यंग्य क्षेत्रका कलाकारको बाहुल्यता रहेको निर्देशक आचार्य बताउँछन् । नवप्रतिभा अडिसनमार्फत छनोट गरिएको बताउँदै निर्देशक आचार्यले ‘चुरीफुरी’को प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी दिए ।