न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको दुबै सभालाई सम्बोधन गरिरहेका छन् । ट्रम्पले तेस्रो पटक दुबै सदनलाई सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्प र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको मनमुटाव मंगलबार छताछुल्ल भएको छ ।
राष्ट्रपतिको स्टेट अफ द युनियन स्पिचका क्रममा उनीहरूले एकअर्कालाई उपेक्षामात्र गरेनन् उनीहरुले रिसको आवेग सार्वजानिक रुपमा देखाए । संसदको बैठक सुरू हुनुअघि सभामुख पेलोसीले ट्रम्पसँग हात मिलाउन खोजेकी थिइन् ।
उनले हात अघि बढाउँदा ट्रम्पले देखेको नदेखेझैं गरिदिए । बैठक सुरू भएपछि पेलोसीले ट्रम्पलाई पोडियममा बोल्न बोलाउँदा‘हाइ प्रिभिलेज एन्ड डिस्टिन्क्ट अनर भनेर सम्बोधन गरिन् । उनले सोझै अमेरिकाका राष्ट्रपति भनेर चिनाइन् ।
त्यसपछि ट्रम्पले सम्बोधन गरे । उनले आफ्नो कार्यकालमा धेरै राम्रा काम भएको भन्दै अमेरिकी जनताको मनोबल बढेको दाबी गरे । उनको भाषण सकिएपछि दुबै सदनका रिपब्लिकन सांसदहरूले उठेर उनलाई सम्मान देखाए । डेमोक्रयाट सांसदहरू भने बसिरहे ।
सम्बोधनका क्रममा ट्रम्प बोल्दै गरेको पोडियमको पछाडि बसेकी पेलोसीले ट्रम्पले दिएको भाषणको प्रति च्यातेर फालिन् । अमेरिकी संसदको इतिहासमा बिरलै हुने यो घटनापछि राजनीतिक विश्लेषकले उक्त बैठक स्टेट अफ द युनियन नभई स्टेट अफ द डिभिजन भएको टिप्पणी गरेका छन् ।
पेलोसी ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित गरेको हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख हुन् । तल्लो सदनले पठाएको महाअभियोग प्रस्तावमा रिपब्लिकनको बहुमत रहेको सिनेटले अस्वीकार गर्ने पक्काजस्तै छ ।