राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको खुलासा भएको छ । यो मुलुक र मुलुकवासीका लागि निकै पीडादायी अवस्था हो । यसरी ठूलो परिमाणमा राजस्व छली हुन थालेपछि सरकारका सम्बन्धित निकाय पनि त्यसलाई रोक्न जुर्मुराउन थालेका छन् । जुन निकै प्रशंसनीय छ ।
राजस्व अनुसन्धान विभाग र यसको नेतृत्वले राजस्व छलीका अपराधीलाई कानुनी कठघरामा ल्याउन गरेको अध्ययन अनुसन्धान र पहललाई पनि मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ । विभागको यस्तो कामकारबाहीले आगामी दिनमा पनि जारी राख्न सक्नुपर्छ । विभागमाथि कुनै राजनीतिक दबाब पर्नुहँुदैन भने विभागका कर्मचारीले पनि कुनै प्रकारको प्रलोभनमा नपरेर उच्च मनोबलका साथ काम गर्नुपर्छ ।
मौका छोपेर विभिन्न बहाना बनाउँदै कर्मचारीसँगै मिलेमतो तथा सेटिङ मिलाएर यस्तो काम हुने गरेको खुल्न आएपछि यसलाई गम्भीर अपराधका रूपमा लिन थालिएको छ । यसबीचमा देश र जनतालाई गुमराहमा राखेर मुलुकलाई ठूलो घाटा पु¥याउन खोज्ने आर्थिक अपराधीको जालो तोड्दै बितेको दुई वर्ष नौ महिनाको अवधिभित्रै करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छल्नेलाई कानुनी कठघरामा उभ्याइएको छ । राजस्व अनुसन्धान विभागले गरेको यो आँटिलो कामले राजस्व चुहावट र विदेशी विनिमय अपचलन गर्नेबीच ठूलो तनाव सिर्जना गरिदिएको छ । समस्या के पनि हुन सक्छ भने उनीहरू आफ्ना तनाव व्यवस्थापन गर्न माहिर हुन्छन् । यसका लागि विविध उपाय अवलम्बन गर्छन् । विकसित विज्ञान तथा प्रविधिको जमानामा ठगीका पनि विविध रूपहरू हुन सक्छन् । यसको बारेमा सरकारी निकाय निकै चतुर हुनु जरुरी छ ।
राजस्व ठगी गर्नेहरूले आफ्ना फर्मसमेत नक्कली बनाएका हुन्छन् । यस्ता नक्कली फर्म खडा गरी मूल्य अभिवृद्धिकरको झुटो विवरण पेस गरिरहेका हुन्छन् । नेपालजस्तो सानो देशमा १ हजारभन्दा बढी त्यस्ता नक्कली फर्म भेटिनु भनेको चानचुने कुरा होइन । यी फर्ममा देखिएको विकृति र ठगी भनेको राजस्व चुहावट र विदेशी विनिमय अपचलन नै हो । यी सबै काम सरकारी संस्था र सरकारी कर्मचारीसँगैको मिलेमतोमा हुनु झन् दुःखको कुरा हो । हाल यसै विषयलाई गम्भीरताका साथ लिएर राजस्व विभागले खोज तथा अनुसन्धानका नयाँनयाँ कुरा, विधि, प्रविधि र तरिका प्रयोग गरिरहेको छ । यसैको परिणामस्वरूप छोटो अवधिमा आर्थिक अपराधमा संलग्न भएकामाथि कारबाही सुरु गरिएको छ । विभिन्न फर्मका सञ्चालकविरुद्ध ४७ अर्ब ३३ करोड रुपैयाँ मागदाबीसहित विभिन्न अदालतमा मुद्दा दायर भइसकेको छ । ठगीविरुद्ध मुद्दा पर्न थालेपछि राजस्व ठगहरू रातारात आफ्ना हिसाबकिताब चुस्त राख्न दौडधूप गरिरहेको व्यापारीबीच चर्चा सुरु भइसकेको छ । अहिले पनि कयौं मुद्दा अनुसन्धानका क्रममा रहिरहेकाले विभागको काम गराइलाई दिन गुणा र रात चौगुणाका हिसाबले अघि बढाउनु जरुरी छ ।
आर्थिक अपारदर्शिता र राजस्व ठगी आफंैमा अपराध हो । यो अपराधमा कमी ल्याउन व्यावसायिक पारदर्शिता, स्वस्थ प्रतिस्पर्धा, राजस्व चुहावट नियन्त्रणमा व्यापक विस्तार गर्नुपर्छ । यसका लागि व्यावसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नुपूर्व ढुवानी साधन र मालवस्तुको संक्षिप्त विवरण लिएर यसको मजबुद आधार तयार गर्नुपर्छ । अनुगमन, निरीक्षण आदिलाई बढाएर लैजानुपर्छ । यसका लागि व्यवसायीमा समेत सचेतना कार्यक्रम तथा उपभोक्तामा बिल लिने बानीको विकास गरिनु जरुरी छ । जन्म, मृत्यु र कर तीन अनिवार्य कुराबाट कोही पनि अछुतो रहन सक्दैन भनेर पाठ सिकाइनु जरुरी छ ।