सत्ताको हार । कुनै पनि समाजमा सुहाउँदो लाग्दैन । सत्ता भनेकै जितेपछि निर्माण हुन्छ र सकेसम्म धेरै जित्नु र धेरै समय टिक्नु सत्ताको गुण मानिन्छ । मान्छेको मन फकाएर, फकाउँदा नमाने धम्क्याएर वा अन्य कुनै हत्कण्डा अपनाएर । सत्तासँग जोडिएका अंगहरुले जुनसुकै अवस्थामा जितेकै हुनुपर्छ ।
यदि सत्ता चलाउनेले नोकर चाकरका प्रशंसायुक्त कुरा मात्रै सुनेर जित्नुपर्ने कुरामा चासो दिएन भने बुझ्नुपर्छ । सत्ता क्रमश कमजोर हुँदैछ । त्यसरी कमजोर भएको सत्ता एकदिन यस्तो नराम्रोसँग ढल्छ । फेरि उठ्नलाई निकै समय लाग्छ । त्यसरी शासक पछारिएपछि मात्रै सत्ता ढलेको बल्ल थाहा पाउने गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको तीन वर्ष बित्दा सत्ताका विभिन्न अंगहरुमा मज्जैको भ्वाङ पर्दै गएको छ । तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म आफ्नो सत्तामा भ्वाङ परेको सुइँको सम्म पाएका छैनन् । त्यही भएर त ढुक्कका साथ भन्ने गर्छन् । ‘अब हुने चुनावमा हाम्रो पार्टीले दुई तिहाई बहुमत ल्याउँछ ।’
अकोराबमा इतिहासमै पहिलो पटक नेतृत्व गुमाएको ओली सत्ताले महासंघको ५१ सदस्यीय निर्वाचनमा शून्य सिट हात पा-यो ।
उनकै शासनकालमा नेकपा (माओवादी केन्द्र र एमालेलाई) अदालतले छुट्याइ दियो । उनको माउपाटी एमालेकै माधवकुमार नेपाल समूह सडक संघर्षमा छ र पनि प्रधानमन्त्री ओली भन्छन् ‘फेरि बहुमत आउँछ ।’ कहिलेकाँहि दुई तिहाइको कुरा पनि गर्छन् । उनका अभिव्यक्ति र पछिल्लो समय उनको पार्टीमा पर्दै गएको भ्वाङको थिति हेर्दा लाग्छ । प्रधानमन्त्री ओलीलाई सत्ताको कुर्चिले यति अन्धो बनाएको छ । उनी आफ्ना चाकरहरुले भनेका हरेक फोस्रा गफ पत्याछन् र मख्ख पर्छन् ।

उनको सत्ता कति कमजोर भन्नका लागि भर्खरै सम्पन्न सामुदायिक रेडियो प्रसारक संघ ‘अकोराब’ र नेपाल पत्रकार महासंघको चुनावलाई हेरे हुन्छ । अकोराबमा इतिहासमै पहिलो पटक नेतृत्व गुमाएको ओली सत्ताले महासंघको ५१ सदस्यीय निर्वाचनमा शून्य सिट हात पा-यो । सामान्यतय चुनाव सम्पन्न भएपछि पराजित हुने समूहले हामी कसरी पराजित भयौं । के गरेको भए विजयी हुन सकिन्थ्यो । अब कसरी अगाडी बढ्नुपर्छ । यावत विषयमा समीक्षा गरेर आगामी रणनीति तय गर्ने चलन हुन्छ र गर्नु पनि पर्छ । तर, सत्ताधारी दल एमालेको भातृसंस्था प्रेस चौतारी नेपालले यस्ता सन्दर्भमा लत्तो छाडेको छ । नेतृत्वको अपरिपक्व रणनीतिकै कारण चौतारी नेतृत्वले बल्ड्याङ खाएको यो पहिलो पटक होइन ।
तीन वर्ष अघि सम्पन्न निर्वाचनमा पनि महासंघमा चौतारी पदाधिकारी बिहीन भएको थियो । थोरै चर्चा गरौं तीन वर्ष अघि सम्पन्न निर्वाचनको ।
कमरेड अब पनि संगठनका कमी कमजोरी’bout खुलेर समीक्षा गर्नु हुन्न, आलोचना गर्नेहरुलाई किनारामै राख्नुहुन्छ भने दुई चार धोक्रा अबिरको जोहो बेलै गर्नु होला र काठमाडौं छेउको कुनै डाँडामा मखमली र सयपत्री फूलको ब्याड बनाउनु होला । प्रतिस्पर्धीलाई अबिर र माला लगाउनमै तपाइहरु व्यस्त हुनु पर्ने छ ।
तीन वर्षअघि जब महासंघको निर्वाचन आयो, नेतृत्वलाई अध्यक्षको उम्मेदवार खोज्नै हम्मे हम्मे प¥यो । वरिष्ठ पत्रकार तीर्थ कोइराला अध्यक्षका लागि राजी भए । हार्दिक होटलमा भब्य कार्यक्रम गरेर अध्यक्षको उम्मेद्वारी घोषणा भयो । कोइरालाको उम्मेदवारी घोषणा हुँदै गर्दा ड्यासमा मुस्कुराउदै बसेका थिए विप्लव नेतृत्वका पत्रकार नेता प्रभात चलाउने । जसलाई चौतारी नेतृत्वले उपाध्यक्षमा समर्थन गर्ने र संगठनात्मक ‘अलाइन्स’ गर्ने आश्वासन दिएको थियो । अध्यक्षबाहेक अन्य उम्मेदवार घोषणा हुँदै गए । अन्तिम सूचिमा चलाउनेको नाम अटाएन । अर्थात् चलाउनेको संगठनसँग चौतारीको ‘अलाइन्स’ टुट्यो ।
त्यो ‘अलाइन्स’ टुट्नुको मूल कारण थियो– चौतारीका नेताहरुको गलत रिपोटिङ । सामान्य त कुनै पनि चुनाव हुँदा हरेक संगठनले मुलुकभर आफ्ना मतदाता कति छन् र जित्नका लागि कति भोट आवश्यक पर्छ । विभिन्न स्थानका प्रतिनिधिका रिपोटिङका आधारमा एउटा खाका तयार पार्ने चलन हुन्छ । त्यो निर्वाचनमा नेतृत्वले प्रतिनिधिका रिपोटिङलाई विश्वासिलो आधार मानेन । हार्दिक होटलको सुविधा सम्पन्न वाता अनुकूलित कोठामा बसेर सूचि तयार गरे अनि भने– ‘हामीलाई कसैसँग ‘अलाइन्स’ गर्न जरुरी छैन, चुनाव जित्न चौतारी एक्लै काफी छ ।’
नेतृत्वको आदेशअनुसार मैदानमा भिडेका उम्मेद्वारहरुले बङ्लङ्ग पछारिएको त्यतिबेला थाहा पाए, जतिबेला अन्तिम मत परिणाम आयो । तर, पनि नेतृत्वले आफ्नो ढंग नपुगेको स्वीकारेनन् । पराजित उम्मेदवारहरुलाई भोट नहालेको अभियोगमा उम्मेद्वारहरुसँग खराब सम्बन्ध बनाएका र संगठनका नेताहरुसँग प्रश्न राख्ने हिम्मत गर्ने केही कार्यकर्तालाई स्पष्टिकरण सोधियो । उम्मेदवारले हारेपछि मन नपरेकालाई स्पष्टीकरण सोध्नु कम्युनिष्ट पार्टीहरुमा श्राद्धमा बिरालो बाँधेजस्तै भइसक्यो । तर, नेतृत्वले संगठनलाई बलियो बनाउने नाममा अहिलेसम्म यही रित दोहो-याइरहेको छ । सायद यसपाली पनि केही पत्रकारका इमेलमा स्पष्टिकरणको पत्र पुगिसक्यो होला ।

निर्वाचनमा पराजित भएपछि सामाजिक सञ्जालमा रुने कराउने क्रम जारी छ, केही उम्मेद्वारहरुको । यसलाई अस्वभाविक भन्न मिल्दैन । हरेक वर्ष निर्वाचन सकिएपछि पराजित उम्मेदवारहरुले नक्कली सदस्यता बढेको, संगठनभित्रै अन्तरघात भएको जानकारी पाउँछन् ।
यति हुँदाहुँदै पनि सत्ताधारी कमरेडहरुले संस्कार देखाउदै प्रतिस्पर्धी विजयी उम्मेद्वारलाई माला र अबिर लगाइदिँदै गरेको तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ अहिले । ति तस्विरमा कमेन्ट गर्ने शुभचिन्तकहरुले लेखेका छन् ‘यस्तो पो संस्कार, हार्नेले जित्नेलाई हाँसी हाँसी माला लगाइदिए ।’ मलाई एउटा कुरामा भने खुसी लागेको छ । कम्तिमा चुनाब हारेपछि भए पनि सत्ताधारी कमरेडहरुले संस्कार थाहा पाए ।
खासमा चुनावमा पराजित भएपछि हार्नेहरुले गर्ने त्यस्तै हो र यो पनि भन्न सकिन्छ यदि सत्ताधारी दलले अहिले जस्तै दम्भ देखाइरहने हो र संगठनका कमी कमजोरीका विषयमा आलोचना गर्नेहरुलाई किनारामै धकेल्ने हो भने अबका केही वर्ष तपाईहरुले भब्य रुपमा हाँसी हाँसी प्रतिस्पर्धीलाई अबिर र माला लगाइदिने अवसर पाउने निश्चित छ । अहिलेकै शैलीलाई जारी राख्नु भो भने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पनि सत्ताधारी कमरेडहरुले अबिर र माला लगाइदिएरै संस्कार देखाउनु पर्ने बाध्यता छ । मेरो एउटा सुझाब तपाईंहरु फेरि पनि आफ्ना संगठनका कमी कमजोरी’bout खुलेर समीक्षा गर्नु हुन्न भने दुई चार धोक्रा अबिरको जोहो बेलैमा गर्नु होला र काठमाडौं छेउको कुनै डाँडामा मखमली र सयपत्री फूलको ब्याड बनाउनु होला । जब निर्वाचन हुन्छ संस्कार देखाउँदै प्रतिस्पर्धी उम्मेद्वारलाई आफ्नै बारीको फूलको माला र आफ्नै बोराको अबिर लगाइदिनु होला । तपाईंहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका ति संस्कारयुक्त तस्विरमा हामी झ्याप्प झ्याप्प ‘लाइक’ हान्न तयार छौं ।
twitter : dhrubalamsal1






