काठमाडौं । चलचित्र बाबरीको केही छायांकन भारतको सिक्किममा गर्ने तयारी हुँदै थियो । तर, नेपाल भारत सीमा बन्द गरेका कारण आफूहरू छायांकनका लागि सिक्किम जान नसकेको निर्माण पक्षले जनाएको छ । आफूहरूलाई पूर्वी नेपालको सीमाबाट सिक्किम जान रोक लगाएपछि चलिचत्रको युनिट काठमाडौं फर्किएको निर्माण पक्षको भनाइ छ ।
यो चलचित्रको गत महिनाबाट पूर्वका विभिन्न स्थानमा छायांकन भइरहेको थियो । नेपालमा यो चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ । अब केही प्रतिशत छायांकन नेपाल भारतको सीमा खुलेपछि सिक्किममा गरिने भएको छ ।
यो चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी मुख्य भूमिकामा छन् । अदितीले चलचित्र कृबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । केही समयदेखि उनी भारतमा विभिन्न प्रोजेक्टमा काम गर्दै थिइन् । यो नयाँ चलचित्र आफ्नो होम प्रोडक्सनमा निर्माण हुने भएपछि उनी यसमा नायिका भएकी हुन् ।
चलचित्र बाबरीमा धिरज र अदितीसँगै धिरज टोटलानीको पनि मुख्य भूमिका छ । अग्रज अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानी हुन् । यसरी यो फिल्ममा धिरज मगर र धिरज टोटलानी गरी दुई जना नायक रहेका छन् ।
यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै छन् । फिल्मको निर्माता पुष्पा बुढाथोकी हुन् । निर्माता पुष्पा अभिनेत्री अदितीकी आमा हुन् । उनले बाबरीको नेपालमा गर्नुपर्ने छायांकन आफूहरूले पूरा गरेको बताएकी छन् । मोरङको लेटाङसहित विभिन्न स्थानमा यसको छायांकन गरिएको पनि उनले जानकारी गराएकी छन् । अब बाँकी छायांकन सिक्किममा गर्नुपर्ने भएकाले भारतको सीमा खुलेपछि आफूहरू सिक्किम जाने उनले बताएकी छन् । यसरी नेपालको सबै छायांकन सकेर फिल्म युनिट काठमाडौं आइपुगेको पनि पुष्पाले जानकारी गराइन् ।
चलचित्र बाबरीमा एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंको संगीत रहेको छ । चलचित्रको छायांकारमा नरेन्द्र मैनाली रहेका छन् ।






