३९ रुपैयाँको सेनिटाइजर ८० रुपैयाँमा बिक्री

इटहरी । इटहरीका औषधी पसल सञ्चालकहरुले स्वास्थ्य सामाग्रीमा बदमासी गरेको पाइएको छ । स्वास्थ्य सामाग्री मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने गरेको पाइएपछि कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय इटहरीसहितको संयुक्त टोलीले यहाँका औषधी पसलमा अनुगमन गर्दा कालोबजारी गरेको पाइएपछि कारबाही गरिएको हो ।

उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलका अनुसार इटहरीका तीनवटा औषधी पसलमा अनुगमन गर्दा दुईवटाले कालोबजारी गर्ने गरेको र ती पसललाई जरिवाना तिराइएको छ । इटहरीको बिबिता सर्जिकल हाउस र होम्ताङ आयुर्वेदिक औषधालय पोलिक्लिनिकले कालोबजारी गरेको पाइएपछि कारबाहीस्वरुप जरिवाना तिराइएको उनले बताए ।

उनका अनुसार अनुगमनको क्रममा बजार मूल्यभन्दा बढी मूल्यमा सेनिटाइजर बिक्री गरेको भन्दै अनुचित व्यापारिक क्रियाकलाप कसूरमा बिबिता सर्जिकल हाउसलाई कारबाही गरिएको छ । उक्त मेडिकल पसलले भारतमा उत्पादन भएको सेनिटाइजर इटहरी ल्याएर एक सय प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री गरेको पाइपछि दुई लाख रुपैँया जरिवाना तिराइएको छ ।

‘सेनिटाइजरको थोक बिक्रेता रहेको बिबिता सर्जिकल हाउसले भारतीय बजारबाट ३९ रुपैयाँमा खरिद गरेर ८० रुपैयाँमा बिक्री गरेको भेटिएपछि कारबाही गरिएको हो,’ पोखरेलले भने, ‘उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरी नगद दुई लाख जरिवाना गरेका छौँ ।’ उनका अनुसार उक्त मेडिकललाई दुई लाख रुपैँया जरिवाना तिराइएको छ ।

उनका अनुसार कम्पनीको नाम एउटा भएपनि फरक–फरक नाम राखेर बिल बिजक गर्ने गरेको, कम्पनी होलसेल तथा सप्लायर्स भनेपनि खुद्रा मूल्यमा अधिकतम नाफा राखेर सेनिटाइजर बिक्री गर्ने गरेको भन्दै होम्ताङ्ग औषधालय पोलिक्लिनिकलाई कारबाही गरिएको छ । त्यस मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बिल बिजक जारी नगरेको कसुरमा ३० हजार रुपैँया जरिवाना तिराइएको पोखरेलले जानकारी दिए ।

यस्तै इटहरी मेडिकल हलले खरिद र बिक्री मूल्यबीचको अन्तर कानुन बमोजिम २० प्रतिशत राखेकाले कुनै कारबाही नगरिएको पोखरेलले बताए । ‘कम्पनीको नाम एउटा भएपनि फरक–फरक नाम राखेर बिल बिजक गर्ने र होलसेल भनेर अत्यधिक मूल्यमा बेच्ने गरेकाले कारबाही गरिएको हो ।’ उनले भने ।

यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान अगाडि रहेका औषधी पसलमा अनुगमन गरी कालोबजारी गर्ने व्यापारीलाई कारबाही गरेको थियो । धरानको सुनौलो मेडिकल र टाटा फार्मेसीले खरिद बिल पेश गर्न नसकेपछि कारबाही गरिएको थियो । खरिद विल पेश नगरी जथाभावी मूल्यमा बिक्री गर्ने गरेको पाएपछि उनीहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ उल्लेख भए अनुसार जरिवाना स्वरुप बीस हजार तिराइएको पोखरेलले जानकारी दिए ।

उनले भने, ‘मेडिकलवालाहरुले खरिद गरेको सामाग्री २० प्रतिशत भन्दा बढी मूल्य लिएर उपभोक्तालाई बिक्री गर्न नपाउने भएपनि धेरैजसो ठाउँमा एकसय प्रतिशत भन्दा बढी मूल्य बढाएर बिक्री गरेको पाइएको छ, फेरि फेरि त्यस्तो भेटिएमा कानून बमोजीम थप कारबाही गर्छौँ ।’

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी