यो हप्ता कहाँ जाने ?
कसरी जाने ?
कुन रुट बनाउने ?
‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश र प्रकृतिबीच कुची–रङले पौठेजोरी नगरेको औंलामा गन्न नभ्याउने भइसकेछ । यतिखेर अन्य क्षेत्रजस्तै ‘कुची’ पनि चौघेरामा ‘लक्ड’ छ ।
प्रकृतिसंग लपक्कै हुन रुचाउने अग्रज ललित कलाकार नन्दबहादुर देशार ‘अर्जुन’ शुक्रबार घरभित्रै क्यानभास रंग्याउँदै भेटिए । ‘यस्तो बेला जहाँ पायो, त्यही जानु पनि भएन,’ ललितपुर चापागाउँ भन्सार टोलस्थित घरमा रङ खेलाउँदै गरेका ५६ वर्षीय देशार भन्छन्, ‘लकडाउनकै कारण प्रत्येक शनिबार चल्ने कुक यात्रा पनि घरभित्रै सीमित गरेका छौं ।’
‘कुक’ अर्थात् ‘कुची कलम’ । कुक यात्राबाट सिर्जित कलाकृति अहिले कोठाभित्रै सीमित बनेको छ । कलाकार–पत्रकारको संयुक्त यात्रा हो, कुक । हरेक शनिबार यात्राक्रममा कलाकार क्यानभासमा ‘कला’ उतार्छन् । पत्रकार सामाजिक विषयवस्तु समाचार बनाउँछन् ।
हरेक शनि’bout ‘हाइकिङ विशेष हुनुपर्छ’ भन्दै उत्साहित भइरहने ललित कलाकार सुरेम देशार पनि घरभित्र क्यानभास रंग्याइरहेका छन् । ‘यो हप्ता स्पेसल गर्नुपर्छ है ?’ केही साताअघिसम्म सुनिइरहने उनको यो वाक्य अहिले झरुवासीस्थित घरमै कैद छ ।

‘प्रकृतिसँग प्रत्यक्ष रूपमा घुलमिल हुन पाइएको छैन तर केही छैन, घरभित्रै पनि काम गरिरहेका छौं,’ सुरेम भन्छन्, ‘परिवारसँग बसेर काम गर्नुको पनि बेग्लै आनन्द हुँदोरहेछ ।’ यद्यपि, ‘कुक यात्रा’ उनले औधी ‘मिस्ड’ गरिरहेका छन् ।
‘स्पटमै गएर चित्र कोर्नु भनेको भगवान भेटिएजस्तै हुन्छ,’ रङमा कुची चोप्दै सुरेम थप्छन्, ‘हुन त, घरभित्र बनाउनु र प्रकृतिसँग साक्षात भएर सिर्जना गर्नुमा आकाशपातालकै फरक छ नि । कोरोनाकै कारण मुलुक निषेधाज्ञामा छ । हामी कोठाभित्र सीमित छौं । कोठाभित्रैबाट कला पस्किरहेका छौं ।’
शनिबारको दिन कुक यात्री, कोही कसैको फोन नउठेमा ‘कुर्ने कि नकुर्ने ?’ भन्ने दोधारमा पर्छौं । सकेसम्म प्रतीक्षा गर्छौं । ‘स“गै हि“डौं’ भन्ने ध्येय सधैं पाल्छौं । जुन अघापि चल्दै आएको छ । लकडाउनयता भने कुक यात्रा घरभित्रै ‘लक्ड’ भएको छ । कलाकार (कुची) गृहसिर्जना र पत्रकार (कलम) ‘वर्क फ्रम होम’मा छन् ।
यात्रा सदस्यका कुनै पनि समस्या आफ्नै ठान्ने समूह कोठाभित्रै पनि सक्रिय छन् । मलगायत पत्रकार युमाश शेर्पा र दीपक श्रेष्ठ यात्राका ‘रेगुलर’ कलम हुन् । अर्का पत्रकार नवीन लुईटेल बेलाबेला सहभागी हुने गरेकै छन् ।

‘कुक’को कुची अशुराम खाइजु, नन्दबहादुर देशार ‘अर्जुन’, सुरेम देशार, दिलकुमार देशार, राजेन्द्र देशार, अनिल महर्जन, सृष्टि महर्जन भ्याएसम्म ‘शनि’bout यात्रा’मा सहभागी भइरहेकै हुन्छन् ।
यतिबेला कोठाभित्रै कलाकृति बनाउन व्यस्त ‘कुक यात्रा’ सामाजिक विषयवस्तु तथा समस्या सम्बन्धित निकायसम्म पु-याउन प्रयासरत छ । तर, अहिले सर्वत्र क्षेत्रजस्तै हाम्रा पाइलामा पनि ‘ब्रेक’ लागेको छ । आफूमा ऊर्जा भए पनि बाध्य छौं, यात्रा रोक्न । एक यात्री कोभिडले थला नै परे ।
पत्रकार (कलम) दीपक श्रेष्ठ कोभिडका कारण आराम गरिरहेका छन् । अहिले कोरोनामुक्त भए पनि उनी शिथिल महसुस गरिरहेका छन् । महामारी संकट निवारणमा नेपालीमात्रै हैन, विश्व नै ऊर्जाशील हुनुपर्ने अवस्था छ ।
‘आजभोलि त कोठाभित्रै सीमित भएको छु, बाहिर निस्किएकै छैन,’ कलाकार सुरेम सुनाउँछन्, ‘बिहीबारसम्म तीनवटा चित्र बनाएँ, कोठाभित्रै गुम्सिएर बस्नुपर्दा भने कठिन हुने रहेछ ।’ प्रकृतीप्रेमी सुरेम क्यानभासमा ‘प्रकृति’लाई नै बढी स्थान दिन रुचाउँछन् । निषेधाज्ञा सदुपयोग गर्नैकै लागि उनले घरमै क्यानभास मगाए । ‘अहिले यही क्यानभास काम लागिरहेको छ,’ उनी भन्छन् ।
दुई दशकअघि चापागाउँ बज्रबाराही जंगलमा रुखमा चित्र टाँगेर प्रदर्शनी थालेका सुरेमको समूह अचेल कला स्तरीयता विषयमा लामै बहस गर्नसक्ने भएको छ । उनको दिनचर्या हो, क्यानभासमा कला उतार्ने । उनीलगायत अर्जुन, अशुराम, दिलकुमार, अनिल, राजेन्द्र, सृष्टि (कुची)लगायत घरभित्रकै ‘कला कार्यशाला’मा सक्रिय छन् ।
भक्तपुरका अशुराम पनि क्यानभास रंग्याउन व्यस्त छन् । कोठाभित्रबाट विश्वकै ध्यानाकर्षण गर्नेखाले चित्र कोर्न प्रयासरत छन्, अशु । कुचीमा पोख्त उनी ‘कलाकारले हरेक आकृति अर्थपूर्ण रूपमा प्रस्तुत गर्नसक्नुपर्ने’मा जोड दिन्छन् ।
‘महत्व बुझ्ने कलालाई सधैं सम्मान गर्छन्,’ अशुको ठम्याइ छ, ‘कला पढ्नसक्ने व्यक्ति जन्माउनु नै कलाकारको ठूलो सम्पत्ति हो ।’ कुक यात्राका स्मरण ताजै राखेर उनी पनि अहिले बन्द कोठाभित्र क्यानभासमा कला उतारिरहेका छन् । ‘साधनाले कला अझ बढी खार्छ, मेरो कलामा सकेसम्म जीवन्तता देखाउने प्रयत्नमा हुन्छु,’ अशुराम भन्छन् ।
भेट्नेबित्तिकै ‘रमाइलो गर्नुपर्छ है,’ भन्ने अर्का कुची हुन्, दिलकुमार । ‘कोरोनाले तनावै दिन्छ कि क्या हो ?’ अलि आत्तिएझैं उनी फेरि आफैं भन्छन्, ‘हामीलाई त कोरानोले छुँदैन है ।’
यात्रामा सधैं ‘इन्जोय’ गर्न रुचाउने ‘रसिक’ दिलकुमार पनि कोठाभित्र बन्दी भएका छन् । तर, कलामा भने बन्दी हुनुपरेको छैन । दिनभरजसो क्यानभासअघिल्तिरै हुन्छन्, उनी । ‘कुक यात्रा गर्न नपाएकोमा भने खिन्न छु,’ आगामी दिनप्रति आशातीत देखिएका दिलकुमार थप्छन्, ‘अब लकडाउन खुलेपछि रमाइलो गर्नुपर्छ ।’
एक प्राइभेट कम्पनीमा जागिरे अर्जुन देशार कला क्यानभासमा उतार्न हरेक शनिबार कुक यात्रामा सहभागी हुने गर्छन् । उनको कलाको विशेषता पनि ‘जीवन्तता’ हो । पाका उमेरमा पनि कलाकै कारण उनले ‘तन्नेरी’ महसुस गर्न पाएका छन् ।
‘मेरो प्यासन भन्नु नै कला हो, फुर्सद हुनेबित्तिकै क्यानभासमा कुची चलाइहाल्छु, यसलाई छोड्नै सक्दिनँ,’ नागरिकताको नाम नन्दबहादुर देशार भए पनि कलाफाँटमा ‘अर्जुन’बाट परिचित छन् । चित्रकला वा फोटो ‘फ्रेमिङ’सँगै उपहाजन्य सामग्री बनाउन पनि उनी पोख्त छन् ।
कुक यात्रका अर्का रमाइला पात्र हुन्, दीपक श्रेष्ठ । अघिल्लो वर्ष कोरोना महामारीमा बन्दाबन्दी हुँदा ‘यो कोराना केही होइन’ भन्ने लागेको थियो, उनलाई । तर, यो वर्ष नयाँ ‘भेरियन्ट’ले उनलाई समात्यो । कोरोनापछि उनले स्वास्थ्यलाभ गरिसकेका छन् ।
‘कोरोना केही होइन भन्ने धारणा राख्न नहुने रहेछ,’ कुक यात्राका ‘कलम’ श्रेष्ठ भन्छन्, ‘सबैले सचेत हुनैपर्छ, कोरोनाप्रति कसैले पनि बेवास्ता गर्नुहुन्न, त्यसैले बेलैमा सचेत हौं ।’सामाजिक विकृति, विसंगतीविरुद्ध कलम चलाइरहेका श्रेष्ठ विशेषगरी कला लेखनीमा पनि दख्खल राख्छन् । ‘पत्रकारले कला, संस्कृति जगेर्नाका लागि भए पनि सक्रिय हुनुपर्छ,’ उनी भन्छन्, ‘कलामा भएको शक्ति उजागर गरी समाजलाई बुझाउने दायित्व पत्रकारकै हो ।’
कुक यात्रालाई निरन्तरता दिने विषयमा उनी सधैं सचेत छन् । ‘यात्री सबैले आफ्नो साताभारको थकान मेट्ने र शनिबारको बिदासमेत समाज उत्थानकै लागि यात्रा जारी राख्नुपर्छ,’ उनको जोड छ । उनका अनुसार कुक यात्राका माध्यमबाट पत्रकारले समाजका हरेक विषय समाचार बनाउँछन् भने कलाकारले क्यानभासमा उतार्छन् । ‘यस्ता कला र कलम विकासमा यात्रा जारी छ, अहिले हामी कोठाभित्र बन्द छौं,’ उनी भन्छन्, ‘तर, हाम्रा कुची कलम बन्द भएका छैनन् । हामी यो यात्रा दीर्घकालीन रूपमा अघि बढाउँदै जानेछौं ।’







