सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले ज्यान गुमाएका हुन् ।
बैशाख ११ गतेभन्दा पहिला ३४ जना बिरामीको मृत्यू भएको थियो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले दिएको जानकारी अनुसार, हालसम्म १ लाख ६ हजार १७ जनाले आरटी पीसीआर चेकजाँच भएको छ । जसमा १२ हजार ४ सय ५८ जना पीसीआर पोजेटिभ र १३ हाजार ५ सया ५३ जना एन्टिजेन्ट प्रविधिबाट संक्रमित देखिएका छन् । जसमा ९ हजार ६ सय ५० जना निको भएर घर फर्किएका छन् । हाल ३२ सय ४२ जना कोरोना संक्रमित छन् । ५ हजार २ सय ५६ जना आइसोलेसनमा रहेका स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतले आजदेखि थप कोरोनाका बिरामी भर्ना नगर्ने बताएको छ । प्रदेश अस्पतालले शुक्रबार सूचना जारी गर्दै अक्सिजनको अभाव हुँदा कारोनाका थप बिरामी भर्ना लिन नसकिने जनाएको हो । नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुन नसक्दा नयाँ बिरामी भर्ना गर्न समस्या भएको अस्पतालले बजनाएको छ । ‘प्रदेश अस्पतालमा धान्न नसकिने गरि बिरामी थपिएका छन् । अक्सिजन आउन छाड्यो नयाँ बिरामीलाई अस्पतालले भर्ना लिन सक्दैन ।’ प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले भने ।
प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि यहाँ रहेको कोरोना संक्रमित बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन सिलिन्डर आवश्यक रहेको निर्देशक खड्काले बताए अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि हाइफ्लो अक्सिजन दिन नसक्ने अवस्था आउदा यो स्थिति आएको निर्देशक खड्काले जानकारी दिए । अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट भए पनि त्यसबाट उत्पादन हुने अक्सिजनले बिरामीलाई थेग्न सक्ने अवस्था छैन । प्रदेश अस्पतालमा हाल करिब १०० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ । तर, अस्पतालमा दैनिक ३०० बढी अक्सिजन आवश्यक पर्छ । हाल अस्पतालमा ९२ जना जटिल प्रकृतिका संक्रमित उपचाररत रहेको निर्देशक खड्काले बताए ।






