डिजिटल प्लेटफर्ममा दयाहाङको नाटक मितज्यू

काठमाडौं । कोरोना संक्रमणको महामारीसँगै दुई साताभन्दा लामो समयदेखि भएको लकडाउनका कारण यतीबेला काठमाडौं र मोफसलका दर्शक घरमै बन्दी अवस्थामा छन् । यस्तो अवस्थामा दिन काट्न कठिन छ । त्यसैले आफ्नो दर्शकलाई घरमै बसेर नाटक हेर्ने अभ्यास नछुटोस् भनेर मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गरेको छ ।

नाटक मितज्यूलाई सो थिएटरले शुक्रबार बेलुका डिजिटल माध्यमबाट रिलिज गरेको हो । सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक मितज्यूलाई मण्डलाले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरेको छ । यतिबेला यो नाटकले राम्रो प्रतिक्रिया पाएका छन् । घर बसेर दिन बिताउनुपरेका बेला आफूहरूले डिजिटल प्लेटफर्मबाट यो राम्रो नाटक हेर्न पाएको प्रतिक्रिया दर्शकको छ । यस्तै अरू नाटक पनि युट्युबमार्फत सार्वजनिक गर्न दर्शकले आग्रह गरेका छन् ।

नाटकमा बुद्धि तामाङ, विजय बराल, सिर्जना सुब्बा, उमेश तामाङ, विकास जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपानेलगायतको मुख्य भूमिका रहेको छ ।

नेपालमा कोरोनाको महामारी सुरु हुन थालेपछि मण्डला थिएटरले लकडाउन अघि यो नाटकलाई आफ्नो थिएटरमा मञ्चन गरेर छायांकन गरेको हो । यतिबेला नाटकलाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका हुन् ।

दयाहाङकै निर्देशनमा यो नाटक सात वर्षअघि मण्डला थिएटर नेपालले महिनांै दिन मञ्चन गरेको थियो । सो थिएटरको सातौं प्रस्तुतिका रूपमा मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक मितज्यूलाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि पुर्नलेखन तथा परिकल्पना गरिएको राईले बताए । सो नाटकको स्कृप्टलाई यसपटक केही पुनलेखन गरेर आंशिक पुरानै र अधिकांश नयाँ कलाकारका साथ पूर्वाभ्यास गराइएको थियो । सो अभ्यास पूरा भएपछि बल्ला छायांकन गरिएको पनि दयाहाङले बताएका छन् ।

नाटक मितज्यूको कथा पनि निकै रमाइलो छ । मितज्यू नाटक दुई जना वृद्धले आफ्नो किशोरावस्थातिर फर्केर हेर्दा देखिने ‘फ्लासब्याक’ कथा हो । मितेरी साइनोसँगै उनीहरूका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरूले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ ।
नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोअन्र्तगत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ । पञ्चायतकालीन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धको स्मृतिमार्फत वर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपुर उपयोग गरिएको छ । यो नाटकमा निर्देशकले फेन्टासीसँगै दुई वृद्धको जीवनदर्शनलाई पनि नजिकबाट समेटेका छन् ।

दयाहाङका अनुसार यो नाटकको छायांकन चैत महिनाको अन्तिममा गरिएको थियो । नाटक निर्माण तथा छायांकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकको संलग्नता रहेको थियो । त्यसपछि पोस्ट प्रोडक्सनको काम सकेर यसलाई यतिबेला रिलिज गरिएको हो ।

राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् भने नाटकमा बेनुका राईको संगीत सुनिनेछ । शुक्रबार बेलुका नाटक प्रिमियरपश्चात् अनलाइन एप्लिकेसन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्र्तक्रिया गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

अप्ठेरोमा परेकालाई घरमा ग्यास पु¥याउनेः प्रजिअ