बारा । कोरोना संक्रमणले महामारीको रुप लिन थालेपछि बाराको प्रसौनी गाउँपालिकाले स्वास्थ्यकर्मीलाई घर घरमा पठाउदै ज्वरो नाप्न थालेको छ ।
एकद्धार प्रणाली लागु गरि स्वास्थ्यकर्मीलाई घर घर पठाएको स्वास्थ्य शाखा प्रमुख सुरेश कुमार साहले बताए । ‘हामीले अहिले घर घर फिवर क्लिनिक सञ्चालन गरेका छौं ।’ उनले भने । उनका अनुसार अहिले हरेक वडामा स्वास्थ्यकर्मीहरु घर घर पुगेर सवैको ज्वरो नाप्ने गरेका छन् । कसैलाई ज्वरो आएको भेटिएमा ठाउँको ठाउँ औषधी दिने गरेको स्वास्थ्य प्रमुख साह बताउँछन् ।
ज्वारो नाप्ने क्रममा कसैलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण भेटियो भने तुरुन्त पिसिआर चेकअपको लागि कलैया अस्पतालमा रेफर गर्ने गरेको उनले बताए । परिक्षणमा जो सुकै संक्रमित भेटिएपनि पनि सम्पूर्ण उपचार गाउँपालिकाले गर्ने शाहले जानकारी दिए ।
संक्रमित दिनै पिच्छे बढदै गएकोले यस्को रोकथाम गर्नको लागि गाउँपालिकाको ७ वटै वडामा सुचना प्रवाह गर्न दिनहु अटोमा साउण्ड स्सिटम जोडेर कोरोनासंग सम्बन्धित सुचना समग्री सम्प्रेशन गर्ने गरेको गाउँपालिका अध्यक्ष भोला गुप्ताले जानकारी दिए ।
दिनहु पालै पालो गरि एक एक वडामा सेनिटाईज गर्ने कार्य जारि राखेको गाउँपालिका अध्यक्ष गुप्ताले बताए । वडा नम्वर ३ स्थित मधेश सेवा आश्रममा अक्सिजन सहितको आईसोलेशन निर्माणको अन्तिम तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।
गत आर्थिक वर्ष देखि नै बोर्डको निर्णयले गाउँवासीको लागि एम्बुलेन्स निशुल्क व्यवस्था गरेको गुप्ताले बताए । ‘कुनै पनि रोग लागेमा मुलुकका कुनै पनि अस्पतालमा जान चाहने विरामीको लागि निशुल्क गरेका छौ ।’ उनले भने ।






