काठमाडौं । नेपाली साहित्यका प्रभावशाली महिला स्रष्टा डा. बानिरा गिरी हामीमाझ रहिनन् । उनको ७५ वर्षको उमेरमा आइतबार राति १० बजे कोरोना संक्रमणका कारण निधन भएको हो ।
कोरोना संक्रमण भएपछि घरमै उपचार गरिरहेकी गिरीको बेलुका स्वास प्रश्वासमा समस्या आएको थियो । त्यसपछि उनलाई काठमाडौं बानेश्वरको सिभिल अस्पताल पु¥याइयो । अस्पताल पु¥याइएको आधा घन्टामा नै उनको निधन भयो । अस्पतालमा ल्याउँदासम्म उनको अवस्था निकै गम्भीर भइसकेको चिकित्सकले बताए ।
डा. गिरी लामो समयदेखि मधुमेहबाट पीडित थिइन् । यस्तै उनी विगत पाँच वर्षदेखि अल्जाइमर रोगबाट समेत पीडित थिइन् । जसका कारण विगत तीन वर्षदेखि उनी घरमै अर्धचेतना अवस्थामा थिइन् ।
दिवंगत स्रष्टा डा. गिरीको सोमबार सैनिकले पशुपतिमा अन्त्येष्टि गरे । उनका परिवारमा श्रीमान्, एक छोरा र एक छोरी थिए । अमेरिकामा भएका कारण उनको अन्त्येष्टिमा छोरा र छोरी उपस्थित हुन सकेनन् ।
सहित्यकार डा. बानिरा गिरीको जन्म २००२ साल चैत २९ गते भारतको दार्जिलिङस्थित खर्साङमा भएको थियो । उनले स्नातकसम्म दार्जिलिङमै पढेकी हुन् । त्यतिबेलासम्म उनी कविता लेखनमा चर्चित भइसकेकी थिइन् ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट २०२२ सालमा आयोजित प्रथम कविता महोत्सवमा भैरव अर्याल पहिलो र बानिरा गिरी दोस्रो भएका थिए । कञ्चन पुडासैनीका अनुसार सो महोत्सवमा बानिरा गिरी नै प्रथम भएकी थिइन् । तर, प्रवासी नेपालीलाई प्रथम कविता महोत्सवमा नै प्रथम पुरस्कार दिन मिल्दैन भन्ने प्राज्ञबीचको मतमतान्तरका कारण उनलाई दोस्रो पारिएको थियो । त्यतिखेर बानिराको कविता सुनेपछि राजा महेन्द्रले उनलाई नेपालमा एमए पढ्नका लागि छात्रवृत्ति दिएपछि उनले काठमाडौंमा एमए पढिन् र उनी नेपालमै बसिन् ।
स्नातकोत्तर गरेपछि उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आबद्ध भइन् । त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक भएपछि उनले उनले २०४२ सालमा विद्यावारिधि गरेकी थिइन् ।
डा. गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । डा. गिरिका चर्चित पुस्तकमा ‘एउटा एउटा ज्युँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह हुन् । यस्तै ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ उनका चर्चित उपन्यास हुन् । यीमध्ये पनि कारागार उनको सर्वाधिक रुचाइएको उपन्यास हो । ‘विश्व नारीरत्न बानिरा गिरी’ शीर्षकमा उनको जीवनीसम्बन्धी पुस्तक नेपाली र अंग्रेजी भाषामा पनि प्रकाशित छ ।
‘शब्दातीत शान्तन’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो । उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । यस्तै डा. गिरी प्रबल गोरखा दक्षिणबाहु, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्णपदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञापदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्णपदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदिबाट सम्मानित भएकी थिइन् ।
त्रिमूर्ति निकेतनको आयोजनामा डा. गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइएको थियो । त्यही अवसरमा प्रधानमन्त्री कोइरालाबाट डा. गिरी ५ लाख रुपियाँ राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधिद्वारा सम्मानित भएकी थिइन् । सोही अवसरमा कोइरालाले डा. गिरीलाई उनकै उचाइ बराबरको ताम्रपत्रसमेत समर्पण गरेका थिए ।
डा. गिरीका पति इन्जिनियर शंकर गिरीको चाहनाअनुसार दुई वर्षअघि ७ करोड रुपियाँ राशिबराबरको बानिरा फाउन्डेसनको स्थापना भएको थियो । सो फाउन्डेसनले साहित्यको विविध कार्य गर्ने परिवारले जनाएका छन् ।
सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा. गिरीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेकी थिइन् । उनी सो सम्मेलनमा भाग लिने पहिलो नेपाली महिला प्राज्ञ थिइन् । डा. गिरीले चीन, बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, सिंगापुर, जापान, इटली, फ्रान्स, नर्वे, नेदरल्यान्ड, डेनमार्क, स्वीट्जरल्यान्ड, बेलायत, अमेरिका जस्ता मुलुकमा सम्पन्न विभिन्न अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।






