ललितपुर । केन्द्रीय अस्पतालका रूपमा रहेको हरिहर भवनस्थित पशुपति होमियोप्याथिक सुनसान प्रायः छ । आइतबार दिउँसो पुग्दा फाट्टफुट्ट बिरामी देखिन्थे । यतिबेला अन्य अस्पताल भीडभाड भइरहँदा यहाँ भने खासै धपेडी छैन ।
कोभिड–१९ बीच वीर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत चिकित्सक २४सैं घण्टा व्यस्त छन् । तर, यो अस्पतालमा न बिरामी चाप छ, न त पर्याप्त चिकित्सक ।
सरकारले केन्द्रीय अस्पताललाई ‘कोभिड डेडिकेटेड’ सूचीकृत गरे पनि पशुपति होमियोप्याथिक अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नजरमा पर्न सकेको छैन ।
– कोभिड डेडिकेटेट बनाउन आलटाल
– महामारीबीच फाट्टफुट्ट बिरामी
‘सक्दो लागिरहेका छौं तर सरकारको प्राथमिकतामा यो अस्पताल पर्न सकेको छैन,’ अस्पतालका सी अहेब बामदेव अर्याल स्वयं गुनासो गर्छन्, ‘सरकारले यो अस्पताललाई प्राथमिकतामा राख्नुपर्ने हो तर दरबन्दी निकै न्यून छ । हामी १७ कर्मचारी मात्रै छौं ।’
उपचार विधि फरक भए पनि होमियोप्याथिक पद्दतिबाट समेत कोरोना उपचार सफल र प्रभावकारी पाइएको विभिन्न अनुसन्धानले समेत देखाएका छन् ।
अस्पतालले ‘कोभिड डेडिकेटेड’ बनाउन आग्रह गरे पनि स्वास्थ्य मन्त्रालयले चासो नदिएको पाइएको छ । ५० शय्यासहितको कोभिड डेडिकेटेड बनाउने अस्पतालको योजना छ । मन्त्रालयले केही दिनअघि अनुगमन गरेको थियो । तर, कुनै जवाफ आएको छैन ।
अल नेपाल होमियोप्याथिक एसोसियसन महासचिव डा. रामहरि श्रेष्ठका अनुसार मन्त्रालयले अस्पताल व्यवस्थित गर्न कुनै योजना अघि सारेको छैन ।
‘अनुगमन गरेर मात्रै भएन, सरकार पूर्वाधार विस्तारका लागि पनि गम्भीर बन्नुप¥यो,’ उनले भने, ‘डेडिकेटेड अस्पताल बनाउन र बनिसकेपछि उपचार प्रक्रियादेखि सबैमा सहयोग गर्न एसोसियसन तयार छ ।’ आपतकालीन अवस्थामा अवस्थामा गम्भीर भएर ‘कोभिड डेडिकेटेड’ अस्पताल बनाउन लागि पर्नुपर्नेमा उनी जोड दिन्छन् ।
सरकारले अस्पतालको विकास, विस्तार र सुदृढ गर्ने भने पनि पशुपति होमियोप्याथिक अस्पताल एक चिकित्सकको भरमा चल्दै आएको छ । अस्पतालमा ६ शय्या छन् ।
कोभिड–१९ बीच दैनिक ६० बढी उपचारका लागि आउने गरेका छन् । अन्य समय २ सयदेखि ३ सय जनासम्म आउने गरेका छन् । पटकपटक परिवर्तन हुने स्वास्थ्य मन्त्रीले अस्पताल स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुन नसकेको सरोकारवाला बताउँछन् ।
२०७६ सालमा अस्पताल ‘ओएनएम सर्भे’ गरेर पठाए पनि फाइल स्वास्थ्य मन्त्रालयमै थन्किएको छ । ५० शय्या सञ्चालन गर्न सकिने र यसका लागि १ सय १ दरबन्दी माग गर्दै पठाइएको थियो ।
हाल, चिकित्सालयमा एक स्थायी र करारअन्तर्गत दुई चिकित्सक, चार नर्स, दुई अहेब, लेखापाल, ६ कार्यालय सहयोगीलगायत १७ जना कार्यरत छन् ।
सरकारले चिकित्सालयलाई आफ्नै साधन स्रोतमा २५ शøयाको सैद्धान्तिक सहमति दिएको छ । अस्पताल प्रमुख डा. प्रेमनारायण श्रीवास्तवका अनुसार औषधिदेखि सबै प्रकृतिका रोग निःशुल्क उपचार हुँदै आएको छ । ‘त्यसो भएपछि पैसा कसरी जुटाउने ?’ उनको प्रश्न छ ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने केन्द्रीय अस्पताल विकास र स्तरोन्नतिमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
६ हजार ४ सय ४ संक्रमित निको
यसैबीच, देशभर मंगलबार ६ हजार ४ सय ४ कोरोना संक्रमित निको भएका छन् । हालसम्म ४ लाख ४ हजार ८ सय ८७ भई निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टा अवधिमा थप ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । २४ घण्टामा देशभरका विभिन्न प्रयोगशाला गरी २२ हजार ३ सय ६ जनाको आरटी–पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ । पीसीआर परीक्षण क्रममा ८ हजार ३ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ ।
मंगलबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ । २४ घण्टामा नेपालमा थप ८ हजार ६ सय ३६ मा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म ४ लाख ४ हजार ८ सय ८७ जना संक्रमणमुक्त भएका छन् । देशभर हाल १ लाख १७ हजार २ सय ६१ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ८ हजार ४ सय २८ होम आइसोलेसन र ८ हजार ८ सय ३३ संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ सय ६९ जनाको मृत्यु भएको छ ।






