डा. अनुपलाई ‘बिरामी आमा’ को प्रश्न : म मात्रै बाँचेर के गर्नु उहाँ गैहाल्नु भो

काठमाडौं । हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ । वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा । अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा साब भन्नुहुन्छ ।

कोरोना संक्रमितका उपचारमा खटिएका डा. अनुपसुवेदीले सामाजिक सञ्जालमा व्यक्त गरेका पंक्ति हुन् यी । अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृष्यलाई उनले सञ्जालमा व्यक्त गरेका छन् । ह्यम्स हस्पिटलमा कार्यरत डक्टर सुवेदीले सञ्जाल मार्फत कोरोना संक्रमणबाट जोगिने उपायका ’boutमा पनि धेरै टिब्स सेयर गरेका छन् । अहिलेलाई उनले देखेका विरक्तलाग्दा तितो यथार्थलाई उनको सञ्जालबाट साभार गरिएको छ ।

अर्का बा बिस्तारै तङ्ग्रिंदै हुनुहुन्छ । उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन । अर्का बा–आमा दुवैजनालाई कोभिड । एकजना कान पटक्कै नसुन्ने, अर्कोले बुझाइदिनुपर्ने । छोराको अर्को अस्पतालको आइसियुमा मृत्यु भएको खबर कान सुन्ने चाहिंलाई सुनाइयो । उहाँले जीवनसाथीलाई बताउन सक्नुभएन । २ दिनदेखि आँसु लुकाउँदै रोइरहनुभएको छ ।

उनी लेख्छन् ‘५–६ दिनअघि डिस्चार्ज भएर जानुभएकी आमा ओपिडीमा फलोअपमा । रातभरि सुत्नुहुन्न भनेर छोरीले भन्छिन् । अरू लक्षण छैनन् । जाँच्दा सबै राम्रै छ। । म उल्लू “आमा, अझै रोगदेखि डराइरहनुभएको छ कि ? अब त डराउनुपर्दैन, अब बाँचियो है’ भन्छु ।

आमाले ‘खै आफू मात्र बाँचेर के गर्नु बाबु, उहाँले छोडेर गइहाल्नुभयो’ भन्दै बरर्र आँसु झार्नुहुन्छ । बा उहाँ अस्पतालमै हुँदै बित्नुभएको रहेछ ।

०००
महामारीको अघिल्लो उभारको बेलाको एउटा अनुभव शेयर गर्दै सुवेदी लेख्छन् ‘दाइ उमेरका उहाँ । खासमा झन सिकिस्त उहाँकी श्रीमतीलाई पनि हाम्रै ईमर्जेन्सीमा ल्याइएको रहेछ । तर आइसियुमा बेड नभएकोले भाउजूलाई चाहिं अर्को अस्पतालमा रेफर गरिएको रहेछ । हरेक दिन राउन्डमा उहाँ मलाई लौन मेरी श्रीमतीलाई पनि यहीं आइसियुमा सार्न बेड मिलाइदिनोस् न भन्नुहुन्थ्यो । अन्यत्र बेडै नपाएका अरू सिकिस्त बिरामी पनि धेरै आइरहेका छन्, तिनलाई आइसियुमा प्राथमिकता दिनु परिहाल्छ, उता पनि तपाईंकी श्रीमतीको उपचार गर्ने राम्रो टिम होला, चिन्ता नलिनुहोस् भन्थें । निको भएर डिस्चार्ज हुने दिन दाइले भर्खर भाउजूको मृत्युको खबर पाउनुभएको रहेछ । रुँदै भन्नुभोः डा साब,तपाईंले उसलाई यहाँ आइसियुमा सारिदिनुभएको भए ऊ पक्कै बाँच्थी ।’

उनी अगाडी लेख्छन् ‘यस्ता बेलामा ती अथाह वेदनामा रहेकालाई के भन्ने ? समवेदना– जुन ‘सम’ कसैगरी हुनै सक्दैन– पनि कसरी दिने?

यस्तो बेलामा कसरी सान्त्वना दिने केही भेउ नपाएको, पूरै निरीह मजस्ताले कहिलेसम्म यस्तो सधैं फेल भइने, सधैं भाग्न मन लाग्ने जाँचमा परिरहनुपर्ने होला ?’

‘महामारीमा मेरा बिरामीका जस्ता कथा कति होलान् ?’ उनी लेख्छन् ‘स्वास्थ्यकर्मीहरूका फुकाउन मिल्ने नमिल्ने मनका गुजुल्टा कति होलान् ? मैले त्यस बेला त्यसो गरेको भए पो बचाउन सकिन्थ्यो कि भन्ने कति कति थान ‘गिल्ट’ सँगालिनेछन् होला महामारी सकिंदासम्म ? अन्त गर्न नजानेर प्रश्नमै टुङ्ग्याएँ ।’

डा. अनुप सुवेदीको फेशबुकबाट

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा