काठमाडौं । गंगाप्रसाद घिमिरेले हालै नयाँ गीत दुई चुल्ठी…बजारमा ल्याएका छन् । यो गीतमा उनलाई अञ्जु गौतमले स्वरमा साथ दिएकी छन् । म्युजिक नेपालबाट उनले यो गीतको भिडियो रिलिज रिलिज गरेका हुन् । गत महिना मात्र माया हो नडुल त्यसरी…को भिडियो पनि उनले बजारमा ल्याएका थिए ।
यसपटकको भिडियोलाई दर्शकले रुचाएपछि उनी उत्साहित छन् । उनको यो नयाँ गीतमा नन्दु राईको शब्द संगीत रहेको छ । रोहित लाम्गाडेले निर्देशन गरेको यो भिडियोमा जेनिस तिमिल्सिना र सलिना पोखरेलको स्वर रहेको छ ।
गत वैशाखको अन्तिममा नयाँ गीतिसंग्रह नाच मारुनी–२ लाई बजारमा ल्याउने तयारीमा रहेको गायक गंगाप्रसाद लकडाउनका कारण आफ्नो संग्रह बजारमा आउन नसकेको बताउँछन् । गीतिसंग्रह ल्याउन नसके पनि दर्शकलाई यो बेलामा मनोरञ्जन दिनका लागि नयाँ गीत दुई चुल्ठी बजारमा ल्याएको उनले बताए ।
गायक घिमिरेले यसअघि पाँचवटा गीत समेटेर गीतिसंग्रह नाच मारुनी बजारमा ल्याएका थिए । जसमध्ये उनको शीर्ष गीत नाच मारुनी निकै रुचाइयो । संग्रहका पूर्वेली माया…, बिन्दास जिउने हो… जस्ता गीत पनि दर्शकले रुचाए पछि उनी नाच मारुनी शीर्षकमै दोस्रो गीतिसंग्रह निकाल्न उत्साहित भएका रहेछन् ।
केही समयअघि नै निकाल्ने भनिएको यो संग्रह कोरोनाको कारण रोकियो । जब संग्रहका गीतको भिडियो तयार गर्दै थिए । त्यसपछिबाट फेरि दोस्रो चरणको कोभिड महामारीसँगै लकडाउन सुरु भयो । सोही कारण आफ्नो नयाँ गीतिसंग्रह नाच मारुनी–२ दर्शकमाझ ल्याउन नसकेको उनले बताएका छन् ।
‘दर्शककै प्रतिक्रियाअनुसार नयाँ गीतिसंग्रहको नाम नाच मारुनी–२ राखेको हुँ । यो संग्रहमा समेटिएको पूर्वपश्चिम रेलले, लालज्योति…, नयाँ मारुनी भाका र अर्को एउटा गीतको भिडियोका अहिले सम्पादन पनि सकिएको छ ।’ अब लकडाउन खुल्नासँग नयाँ गीतिसंग्रहसँगै यी गीतको भिडियो पनि म्युजिक नेपालबाट सार्वजनिक गर्ने उनले बताए ।
आधा दशक यताबाट गायनमा सक्रिय गायक घिमिरेले दर्जन बढी गीत आफ्नो स्वरमा लाइसकेका छन् । पूर्वेली लोक भाका गाउन विशेष रुचाउने उनले भर्खरै बजारमा आएको नयाँ गीत दुई चुल्ठीबाट निकै आशावादी छन् । पहिलो संग्रहबाट म्युजिक अवार्डसमेत जितेका घिमिरे दोस्रो संग्रहले पनि दर्शकको मन जित्ने विश्वासमा छन् ।






