दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–३ चरिघ्याङमा निर्माणाधीन सडक पहिरोले बगाउँदा सिंगो बस्ती जोखिममा परेको छ । निर्माणाधीन ग्याबिनडाँडा–टुकी–चौतराडाँडा सडक मार्गको प्रवेशद्वारमा पहिरो गएसँगै सिंगो बस्ती जोखिममा परेको हो ।
डोजरले माटो भर्ने क्रममा ग्याबिन वालसहित डोजर नै दुर्घटनामा परेको थियो । डोजरमा क्षति पुगेको र चालक भने सकुशल रहेका छन् । चरिघ्यङ–टुकी–चौतराडाँडा सडक २०७५ सालबाट वडा नम्बर–३ को बजेटमा निर्माण भइरहेको सडक हो । साना र हलुका सवारीसाधन तथा एम्बुलेन्स मात्रै चल्न मिल्ने तरिकाले बाटो निर्माण भइरहेको थियो । तर आइतबार सडकमा लगाइएको ग्याबिन पर्खाल नै भत्किएपछि जोखिम बढेको निर्माण व्यवसायी राम तामाङले जानकारी दिए । चरिघ्याङ गुम्बा डाँडा र पुरगाङदेखिको नालाको पानी समेत यहीँ मार्ग हुँदै बग्ने भएकाले बस्ती नै जोखिममा परेको तमाङले बताए ।
‘पहिरोले मेरो कटेरोमा क्षति मात्रै पु-याएको छैन सबै भलभित्र नै छिरेको छ,’ स्थानीय कान्छी खत्रीले भनिन्, ‘यस्तै पानी परिरहे मेरो कटेरो बगाउँछ ।’ पहिरो र त्यसपछिको भलले खेतीयोग्य जमीन सबै बिगारेको छ । ग्याबिनडाँडा टुकी चौतराडाँडा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मिश्र तामाङले निर्माणाधीन सडक बनाउने क्रममा पहिरो गएको बताइन् । सडक निर्माणका क्रममा स्थानीयलाई सार्वजनिक बाटो ओगटेको र बाटोलाई पर्याप्त सपोर्ट नपुगेका कारण पहिरो गएको तमाङले जानकारी दिइन् । उनले वडा कार्यालय र नगरपालिकासँग समन्वय भइरहेकाले छिट्टै जोखिम न्यूनीकरण हुने बताएकी छन् ।






