दुवई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एकदिवसीय र टी–२० विश्वकपमा टोली संख्या बढाउने निर्णय गरेको छ । आईसीसीले एकदिसीय विश्वकपमा १४ र टी–२० विश्वकप संख्या २० पु-याउने जनाएको छ ।
आईसीसीले सन् २०२३ देखि २०३१ सम्म आफ्नो कार्यक्रम सार्वजनिक गरेको छ । सन् २०२७ को संस्करणदेखि एकदिवसीय विश्वकपमा १४ टोली हुनेछन् । यसले एसोसियट टोलीलाई विश्वकप खेल्न सहज हुनेछ । सन् २०२७ र २०३१ को संस्करणमा ओडिआईमा १४–१४ देश हुनेछन् । यसअघि १०–१० टोलीले प्रतिस्पर्धा गर्दै आएका थिए ।
गत वर्ष जिम्बावे र आयरल्यान्डजस्ता टेस्ट टोलीले नै विश्वकप खेल्न नपाउँदा आईसीसीको चर्को आलोचना भएको थियो । एसोसियटका लागि भने निकै कठिन थियो । यस्तै, सन् २०२४ को संस्करणदेखि टी– २० विश्वकपमा २० प्रतिस्पर्धा गर्नेछन् । यसले नेपाललाई टी–२० विश्वकप खेल्न अझ सहज बनाउनेछ ।
यसअघि टी–२० विश्वकपमा १६ देशले प्रतिस्पर्धा गर्दै आएका थिए । त्यस्तै, च्याम्पियन्स ट्रफी पुनः हुने भएको छ । सन् २०१७ देखि च्याम्पियन्स ट्रफी भएको छैन । जुन ट्रफी पाकिस्तानले भारतलाई हराउँदै उपाधि जितेको थियो ।
एकदिवसीय विश्वकप १४ टोली भएसँगै दुई समूहमा विभाजन गरिनेछ । जसमा सात÷सात टोली हुनेछन् । हरेक शीर्ष तीन टोलीले सुपर सिंक्समा स्थान बनाउनेछन् । सेमिफाइनल हुँदै फाइनल हुने आईसीसीले जनाएको छ । जुन आईसीसीले २००३ मा यसै आधारमा विश्वकप गराएको थियो । टी–२० विश्वकपमा भने चार समूहमा विभाजन गरिनेछ ।
हरेक समूहबाट शीर्ष दुई टोली सुपर एटमा स्थान बनाउनेछन् । जसबाट सेमिफाइनल र फाइनल हुनेछ । च्याम्पियन्स ट्रफीमा ८ देश नै रहनेछन् । एक समूहमा चार÷चार देश हुनेछन् । आईसीसीका शीर्ष आठ टोलीले स्थान बनाउनेछन् ।
नेपाल हाल २०२२ को टी २० विश्वकप ग्लोबल छनोट खेल्ने तयारीमा छ । सो विश्वकपमा १६ टोली हुँदा समूह ‘ए’मा रहेको नेपाललाई विश्वकपमा स्थान बनाउन शीर्ष दुईमा पग्नुपर्ने हुन्छ । एक दिवसीय विश्वकप छनोट नेपालले आईसीसी विश्वकप लिग–२ खेलेको छ ।
विश्वकप लिग २ मा ७ टोलीबीच २०२३ सम्म प्रतिस्पर्धा हुँदा शीर्ष तीनमा पर्न सके ग्लोबल क्वालिफायरमा सिधैं मौका पाउनेछ । शीर्ष तीनमा पर्न नसके नेपालले क्वालिफायर प्ले अफ खेल्दै शीर्ष दुईमा रहन सके ग्लोबलमा स्थान बनाउने अर्को अवसर पाउनेछ । २०१९ देखि सुरु भएको यस सुपर लिग २ मा नेपालले ४ खेल मात्र खेलेको छ । जसमा २ जित र २ हारको नतिजा रहेको छ ।






