काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेर आन्दोलनमा उत्तिएका ट्यांकर चालक र सहचालकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन पाउने भएका छन् । उनीहरूको माग पूरा भएसँगै अब गत आइतबारदेखि अवरुद्ध भएको पेट्रोलियम पदार्थको ढुवानी सुचारु हुनेछ । सरकारले बुधबारबाट उनीहरूलाई खोप उपलब्ध गराउने सहमति गरेको छ ।
नेपाल आयल निगम व्यवस्थापन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच मंगलबार भएको वार्तामा बुधबारदेखि खोप दिने सहमति भएको हो । निगमबाट जारी परिचयपत्रका आधारमा प्रादेशिक कार्यालय थानकोटबाट सञ्चालित ट्यांकर चालक र सहचालकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने सहमति भएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।
माग पूरा भएसँगै आजबाट पेट्रोलियम ढुवानी सुचारु हुने
उनले आन्दोलनरत पक्ष र सरकारबीच सहमति भई यस्तो निर्णय भएपछि हालसम्म पेट्रोलियम पदार्थको लोड-अनलोड तथा बिक्री वितरणमा गर्दै आएको अबरोध मंगलबार साँझबाट फिर्ता लिई ट्यांकरले रि–डिपो अपरेसन कार्य सुचारु गर्ने सहमति भएको जानकारी दिए ।
ट्यांकर चालक संघको अगुवाइमा गत आइतबारदेखि अमलेखगन्ज र काठमाडौंमा पेट्रोलियम पदार्थ ढुवानी बन्द भएको थियो । यसैगरी, अब निगमसँग आबद्ध एलपी ग्याँस उद्योगी, ग्याँस बिक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदुरलाई क्रमिक रूपमा खोप लगाउँदै जाने सहमतिसमेत भएको निगमले जनाएको छ ।
यसअघि नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्धको खोप उपलब्ध नभएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विगत तीन दिनदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध बनाएर आन्दोलन गरेका थिए ।
आफूहरूले धेरैपटक सम्बन्धित निकायमा माग गर्दासमेत खोप उपलब्ध नभएको भन्दै ट्यांकर चालकले गत आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका थिए । उनीहरूले गरेको अवरोधले निजी पम्प प्रभावित भएका थिए ।
सरकारले अत्यावश्यक सेवामा बन्द, हड्ताल गर्न नपाउनेगरी कानुनी व्यवस्था गरे पनि अहिले बागमती प्रदेशमा पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक सामान ढुवानी कार्य ठप्प भएको थियो ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले आफ्नो जायज माग पूरा नभएसम्म आफूहरूले ढुवानी अवरुद्ध पार्ने चेतावनी दिएका थिए । ढुवानीकर्ताको अवरोधका कारण बागमती प्रदेशभरको आपूर्ति प्रभावित भएको थियो ।
मंगलबार सहमति नभएको भए निषेधाज्ञामा केही खुकुलो भएसँगै पेट्रोलियम पदार्थको अभाव हुन सक्ने आँकलन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले गरेको थियो । एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले पनि गत आइतबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिँदा अब काठमाडौंमा पेट्रोलियम पदार्थ अभाव हुन सक्ने जानकारी गराएका थिए । एसोसियसनका अनुसार हाल काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडांै, ललितपुर र भक्तपुर)मा मात्र १ सय ७६ वटा निजी पेट्रोल पम्प सञ्चालित छन् ।