राजमार्ग बन्यो, पुल बनेनन्, कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पताल पुग्न सकेनन्

 

गुल्मी । गुल्मीको मालिका गाउँपालिका –७ घमिरका एक दम्पत्तिलाई जेठ २८ गते कोरोना पुष्टि भयो । जसमध्ये श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो । चारदिनसम्म स्थानीय स्वास्थ्य संस्थामै उपचार गराएका दम्पत्तीलाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार पाचौँ दिनमा मंगलबार तम्घास पठाउने तयारी भयो । घमिरबाट अर्जै हुदैँ तम्घास जाने सडकमा पहिरो गएकोले तम्घास पुग्न सम्भव भएन ।

वैकल्पिक सडक सिलादी हुँदै तम्घास पुग्ने हो । घमिरकै एम्बुलेन्स प्रयोग गरी संक्रमित सिलादीसम्म झरे । तर सिलादीमै घमिरबाट आएको खोला बढेको कारण एम्बुलेन्स खोला तर्न सकेन । उनीहरुलाई तम्घाससम्म ल्याउनको लागि भन्दै नेपाली सेनाको ट्रक तम्घासबाट सिलादीतर्फ गयो । तर इस्माको गुर्बा खोलामा अर्को ट्रक अड्किएको कारण सेनाको ट्रक बिरामी भएको ठाउँसम्म पुग्न सकेन र राति नै तम्घास फर्कियो । बिरामी भने मंगलबार सिलादीकै स्थानीयकोमा बसे । बुधबार बिहान बर्षा अलि कम भएपछि उनै बिरामी बोकेर एम्बलेन्स सिलादीबाट हिड्यो । घमिर खोला तरेपनि रोदी खोलाको बीचमा एम्बुलेन्स फस्यो ।

खोलाबाट पानी पसेर एम्बलेन्समा समस्या देखियो । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा एम्बलेन्सलाई खोलाबाहिर निकालियो । अहिले संक्रमित बुल्मको एक होटलमा बसेका छन् भने गाउँपालिकाको अर्को पिक अप गाडी संक्रमित भएको ठाउँसम्म जाँदै गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले बताए । ‘बर्षा नहुदैँ जान मान्नुभएन, अहिले गुल्मी अस्पतालको सहयोगमा तम्घास पठाउन खोजेका हौँ ।’ गाउँपालिकाका स्वास्थ्य संयोजक भुसालले भने, ‘लगातार परेको बर्षाले बढेको खोलाको कारण बिरामीलाई अस्पताल पु-याउन सकेका छैनौं ।’ बिरामीलाई घरबाट हिडाएको २४ घण्टासम्म पनि अस्पताल पु-याउन नसक्दा अवस्था झन जटिल भएको भुसालले बताए । जबकी घमिर देखि तम्घासको दुरी एम्बुलेन्समा एक देखि डेढ घण्टाको हो ।

घमिरबाट आउने बिरामी मात्र होइन, अहिले जिल्लाका अधिकाशं ठाउँको हालत यस्तै छ । तम्घासबाट सिमलटारीसम्म २३ किलोमिटर बाटो पिच गरिएको छ । पहिले तम्घास–सिमलटारी सडकअन्तरगत पर्ने उक्त सडक अहिले मदन भण्डारी राजमार्गअन्तरगत पर्छ । तर उक्त सडकको बीच भागमा पर्ने खोलामा पुल नबन्दा यात्रु भने मर्कामा परेका छन् । उक्त राजमार्गमा इस्मा गाउँपालिकाको गुर्बामा गुर्बा खोला, इस्मामै रोदी खोला, चौरासी नजिककैको खोला, हुलाके खोला र घमिर खोला पर्दछन् । तर अहिलेसम्म कुनै पनि खोलामा पुल छैनन् ।

यसरी राजमार्ग बनेपनि पुल नबन्दा एम्बुलेन्सभित्रै जिवन माग्न बिरामी बाध्य भएका छन् । उक्त राजमार्गमा गुर्बा खोलामा कल्भट बनेपनि गत बर्ष ठुलो बाढी आउँदा कल्भर्ट थुनियो । त्यस ’roundका घर डुबे । स्थानीयले कल्भर्ट नै भत्काइदिए । तर कल्भर्ट भत्काएको एक बर्षसम्म त न भत्काउनेलाई कारवाही भयो, न त नयाँ कल्भटै नै बन्यो । जसले गर्दा अहिले त्यहाँको आवाज–जावत अहिले बन्द छ । बाँकी रहेका रोदी खोला, चौरासी नजिकैको खोला, हुलाके र घमिर खोलामा पुल नै छैनन् । त्यसैले गर्दा राजमार्ग बनेपनि पुल नबन्दा विपतमा राजमार्गको उपयोग हुन सकेको छैन । गुर्बादेखि नै पुल नबन्दा इस्माको हस्तिचौर, धुर्कोटको वस्तु, मदाने र मालिका गाउँपालिकाका नागरिक तम्घास आवत–जावत गर्न नसक्ने भएका छन् ।

मदन भण्डारी राजमार्ग गुल्मीका प्रमुख शशांक मिश्रले राजमार्गमा पर्ने खोलामध्ये चार ठाउँमा पुलको डिपिआर भइरहेको जानकारी दिए । गुर्बाखोलामा पानीको सतह कम हुँदाबित्तिकै हिमपाइप राखेर तत्काल यातायात सुचारु गर्ने तयारी भएको मिश्रले बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बर्षायाम बढेकोले अत्यावश्यक काम नपरी यात्रा नगर्न आग्रह गरिन् । तत्कालको लागि पुल र आवश्यक वैकल्पिक व्यवस्था गर्न मदन भण्डारी राजमार्गलाई निर्देशन दिएको पनि शर्माले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसमा उम्मेदवार छान्न सकस