काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीको कदमसहित प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनमा आबद्ध भएका पाँच दलका नेताहरूले एक अर्कामाथि धोका नदिने वचन गरेका छन् ।
शनिबार संसद् भवन बानेश्वरमा पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले पत्रकारलाई साक्षी राखेर गठबन्धनमा आबद्ध एक अर्कामाथि धोका नदिने वचन गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले देश, राष्ट्रियता, संविधान र लोकतन्त्रका पक्षमा गठबन्धन बनाइएकाले कुनै मूल्यमा गठबन्धनमा आबद्ध नेताहरूबाट एक अर्कामाथि धोका नहुने बताए ।
देश, राष्ट्रियता, संविधान र लोकतन्त्रका पक्षमा गठबन्धन बनाइएकाले कुनै मूल्यमा गठबन्धनमा आबद्ध नेताहरूबाट एक अर्कामाथि धोका हुँदैन
शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेसविपक्षी पाँच दल आबद्ध गठबन्धन मुद्दामा आधारित भएर बनेको गठबन्धन हो, देउवालाई प्रधानमन्त्री बनाउने विषयमा म र माधव कमरेडबाट धोका हुन्न
पुुष्पकमल दाहाल, अध्यक्ष, माओवादी केन्द्रमाधव नेपाल धोका दिने मान्छे होइन, देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता हुन्न, प्रधानमन्त्रीका लागि मलाई नै प्रस्ताव आए पनि मान्दिनँ
माधवकुमार नेपाल, वरिष्ठ नेता, एमाले
देउवाले माधव नेपालप्रति लक्षित गर्दै भने, ‘माधवजी लडाकु मित्र हो, उहाँलाई हामी कसैबाट धोका हुँदैन, उहाँकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ, मबाट पनि उहाँलाई धोका हुन्न ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवा आफैंले प्रधानमन्त्रीमा अघि सर्छु भनेर नभनेको र नेता नेपाल र आफू मिलेर अघि सारेकाले गठबन्धनबाट धोका नहुने बताए । उनले विपक्षी पाँच दल आबद्ध गठबन्धन मुद्दामा आधारित भएर बनेको समेत स्पष्ट पारे ।
‘देउवाजी आफैं प्रधानमन्त्रीमा अघि सर्नुभएको होइन, हामीले नै अघि सारेका हौं, उहाँलाई प्रधानमन्त्री बनाउने कुरामा धोका हुँदैन,’ दाहालले भने ।
उनले संसद् पुनस्र्थापना हुनैपर्ने र १ सय ४९ जना सांसदहरूको बहुमतसहित दाबी पेस भएकाले देउवा नै प्रधानमन्त्री बन्नेसमेत दाबी गरे ।
दहालले संविधानको धारा ७६ (५) मा सांसदलाई ह्विप नलाग्ने गरेर विशेष अधिकार संविधान बनाउँदा नै राखेको बताए । उनले एमालेभित्र ‘रियल लिडर’ माधवकुमार नेपाल भएको भन्दै केपी ओली खस्किन थालेको पनि दाबी गरे ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले देउवालाई प्रधानमन्त्रीमा दिएको समर्थन र हस्ताक्षर फिर्ता नहुने भन्दै ढुक्क रहन आग्रह गरे । उनले प्रतिनिसभा पुनस्र्थापना भएको अवस्थामा पनि देउवालाई नै प्रधानमन्त्री बनाउने प्रक्रियामा आफू प्रतिबद्ध रहेको बताए ।
‘जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ अब धोका हुन्न, माधव नेपाल धोका दिने मान्छे होइन, हस्ताक्षर फिर्ता हुन्न, प्रधानमन्त्रीका लागि मलाई नै प्रस्ताव आए पनि मान्दिनँ,’ नेता नेपालले अन्तत्र्रिmयाका क्रममा भने ।
जसपाका नेता राजेन्द्र श्रेष्ठले गठबन्धनबाट दायाँबायाँ हुने सोचमा जसपा नरहेको बताए । यसैगरी, जनमोर्चाका महासचिव मनोज भट्टले गठबन्धनसँगको सहकार्यमा आफ्नो दलको हैसियतअनुसारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।






