काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. रुना झाले नेपालमा ‘कसैलाई पनि कोरोना भाइरस (कोभिड–१९)’ संक्रमण नभेटिएको स्पष्ट पारेकी छन् । अहिलेसम्म गरिएको परीक्षणक्रममा कसैमा पनि कोरोना संक्रमण नदेखिएको स्पष्ट पारिएको हो ।
‘नेपालमा यो भाइरस परीक्षण हाम्रो ल्याबमा मात्रै हुन्छ, सुरुमा यसको नमुना परीक्षण हङकङ पठाएका थियौं,’ उनले भनिन्, ‘अहिले हामी आफैंले परीक्षण सुरु गरिसकेका छौं ।’
राजधानीमा बुधबार आयोजित साक्षात्कारमा निर्देशक झाले कोरोना परीक्षण ‘थ्रोट स्वाब र नाकबाट पनि लिने’ गरिएको जानकारी दिइन् । ‘बाहिर आएजस्तै रुघाखोकी र ज्वरा नै कोरोना हो,’ उनले भनिन्, ‘अहिलेसम्म गरिएको परीक्षणमा सबै नेगेटिभ आएका छन्, कुनै पनि पोजिटिभ भेटिएन ।’
दस जनाको परीक्षणपश्चात् आफूहरूले पुनः प्रमाणित हङकङ पठाएको बताउ“दै उनले उताको रिपोर्ट आफूहरूसँग मिलेको स्मरण गराइन् । ‘हामीले गरेको परीक्षणसमेत विश्व स्वास्थ्य संगठनले ठीक छ भनेको छ,’ झाले भनिन्, ‘हालै चीन वुहानबाट उद्धार गरेर ल्याइएका १ सय ७५ नेपालीको परीक्षण गर्दा रिपोर्ट राम्रो आयो, कसमा पनि कोरोना देखिएन ।’
आफूहरूको ल्याबलाई डब्लूएचओले मान्यता दिएको सुनाउँदै उनले सातामा पा“च सय जनाको परीक्षण गर्न सकिने ल्याबको क्षमता रहेको जानकारी दिइन् । ‘हालै दक्षिण कोरियाबाट आएका नेपालीलाई श्वासप्रश्वास समस्या र ज्वरो आएको थियो,’ डा. झाले भनिन्, ‘परीक्षण गर्दा उनको रिजल्ट पनि नेगेटिभ आयो ।’
आफूहरूले ल्याबमा काम गर्दा उच्चसतर्कता अपनाएको पनि उनले विश्वास दिलाइन् । नेपाललाई कोरोनामुक्त बनाउन सबै मिलेर काम गर्नुपर्नेमा जोड दि“दै झाले ‘मास्क प्रयोग गर्न’ आग्रह गरे । विशेषतः रुघाखोकी लागेकाले झनै यसको प्रयोग गर्न जरुरी रहेको र लगातार साबुनपानीले हात धुन उनले आग्रह गरिन् । ‘यो भाइरस हावामा कति दिनसम्म बाँच्न सक्छ ? भनेर अहिलेसम्म आधिकारिक तथ्य बाहिर आएको छैन,’ डा. झाले भनिन्, ‘यो अहिले पनि अध्ययनको विषय हो । १०० प्रतिशत रिसर्च भइसकेको छैन ।’
कांग्रेस भेला, सम्मेलन र सभा स्थगित
प्रमुख प्रतिपक्षी कांग्रेसले पार्टी भेला, सम्मेलन र सभा स्थगित गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी र भ्रातृ संघसंस्थाका सबै तहका भेला, सम्मेलन र सभालगायत कार्यक्रम अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
कोरोना भाइरस संक्रमण विश्वभर फैलिएपछि कांग्रेसले सबैमा सचेतता अपनाउनसमेत आग्रह गरेको छ । यसका लागि कांग्रेसले कोरोना संक्रमण’bout सतर्कता र चेतना अभियान सञ्चालन गर्ने तयारी पनि उसले गरेको छ ।
त्यस्तै, कोरोना जोखिम सामना गर्ने साझा अभियानमा सरकारलाई साथ दिने निर्णय कांग्रेसले गरेको छ ।
कालाबजारी गर्नेमाथि कडा कारबाही गर्ने निर्णय
कोरोना भाइरसको सन्त्रास छाइरहेको बेला मास्क, स्यानिटाइजरलगायत वस्तुमा कालाबजारी गर्नेलाई कडा कारबाही गर्ने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो ।
हाल, काठमाडौं उपत्यकामा मास्कलगायत वस्तुमा कालोबजारी गरिका साथै कृत्रिम अभाव सिर्जना गरिँदै आएको छ । जसका कारण उपभोक्ता मर्कामा परेका छन् । प्रजिअ दाहालले कालाबजारी गर्नेमाथि अनुगमन गरी कानुनी कारबाही गरिने बताए । भेला, सम्मेलन र उत्सवमा सहभागी नहुन आग्रह गर्दै उनले काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम रहेकाले सतर्क रहनसमेत उनले आग्रह गरे ।






