एक आर्थिक वर्षमा १०६.७३ प्रतिशतले बढ्यो नेप्से

काठमाडौं । गत आर्थिक वर्ष २०७७-७८ मा नेपाली पूँजीबजारले ऐतिहासिक नयाँ फड्को मारेको छ । यो वर्ष प्राथमिक तथा दोस्रो बजारले नयाँ रेकर्ड कायम गरेका छन् । कोरोना भाइरसको प्रभावका कारण विश्वको अर्थतन्त्रमा नै ठूलो प्रभाव पारेका बेला नेपाली पुँजीबजारका लागि भने नयाँ अवसर मिलेको हो ।

आर्थिक वर्ष २०७७-७८ को पहिलो कारोबार दिनमा नेप्से सूचक १ हजार ३९४ दशमलव ७७ विन्दुमा बन्द भएको थियो । अहिले अन्तिम दिन बिहीबार नेप्से सूचक २ हजार ८८३ दशमलव ३८ मा बन्द भएको छ । यस आर्थिक वर्षको पहिलो र अन्तिम दिनलाई तुलना गर्दा नेप्से सूचक १०६ दशमलव ७३ प्रतिशत अर्थात एक हजार ४२८ दशमलव ६१ अंकले बढेको हो । गत आर्थिक वर्षको उच्च विन्दु गत जेठ ३१ गते अल टाइम हाई रेकर्ड ३ हजार २५ दशमलव ८३ विन्दुसम्म पुगेको थियो । जेठकै ३० गतेका दिन हालसम्मकै उच्च १९ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

१४ खर्ब ३८ अर्ब २४ बढीका सेयर कारोबार

गत आर्थिक वर्ष दोस्रो बजारमा हालसम्मकै उच्च १४ खर्ब ३८ अर्ब २४ करोड ८७ लाख ५५ हजार ९३३ रुपैयाँको कारोबार भएको केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)ले जनाइएको छ । जुन अहिलेसम्मकै सबैभन्दा बढी कारोबार हो । यो कारोबार अघिल्लो वर्षको कारोबारको तुलनामा ८५८ दशमलव ५८ प्रतिशत बढी हो । रेकर्ड ब्रेक कारोबार हुँदा पुँजीगत लाभकर देखि ब्रोकर, नेप्से र धितोपत्र बोर्ड सबैको कमिसनमा समेत रेकर्ड ब्रेक भएको छ । गत वर्ष मात्रै सरकारले पुँजीगत लाभकरमार्फत १४ अर्ब ६ करोड ४२ लाख ५५ हजार ८ सय २३ रुपैयाँ प्राप्त गरेको छ ।

प्राकृतिक व्यक्तिले पुँजीगत लाभकर स्वरूप ५ प्रतिशत लाभकर तिर्नुपर्छ भने संस्थागत लगानीकर्ताको हकमा १० प्रतिशत लाभकर लाग्छ । गत वर्षको उठेको दुवै दरका लाभकरलाई औसतमा गणना गर्दा साढे सात प्रतिशत हुन्छ । त्यस आधारमा गणना गर्दा गत वर्ष मात्रै लगानीकर्ताले दोस्रो बजारबाट एक खर्ब ८९ अर्ब रुपैयाँ नाफा गरेका छन्। जबकि अघिल्लो वर्ष लगानीकर्ताले साढे १४ अर्ब रुपैयाँको हाराहारीमा नाफा गरेका थिए ।

धितोपत्र बोर्डले ५१ कम्पनीको नामै तोकिदिएर जोखिमयुक्त भनेर सार्वजनिक गरेपछि ३ हजारभन्दा माथि पुगिसकेको सेयर बजार तल झरेको थियो । तथापि यसको असर लामो समयसम्म भने रहेन । लगानीकर्ताले बोर्डको यस्तो निर्णयको खुलेरै आलोचना गरेका थिए । आर्थिक वर्षको अन्त्यतिर भने बजारले सकारात्मक गति लिएको छ ।

गत आर्थिक वर्ष नेप्सेको सेयर खरिदबिक्रीबाट मात्रै २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी आर्जन गरेको छ । गत आर्थिक हितग्राही खाता खोल्दै २० लाख १२ हजार ९ सय ५९ लगानीकर्ता प्राथमिक बजार प्रवेश गरेका छन् । २० लाखभन्दा बढी लगानीकर्ताको प्रवेशसँगै प्राथमिक बजारमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ३७ लाख ५१ हजार ७१८ पुगेको छ ।

साथै २०७७-७८ वर्षमा प्राथमिक बजारमा १९ कम्पनीको १४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार ७ सय बराबरको आईपीओ जारी भएको छ । ७ वटा कम्पनीको १४ अर्ब ४ करोड ९७ लाख ७ हजार २५ रूपैयाँ बराबरको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएका छन् । त्यस्तै, २३ कम्पनीको ६९ अर्ब ६० करोड बराबरको ऋणपत्र निष्कासन भएको छ । १ सय ३४ कम्पनीको ४६ अर्ब १७ करोड ८१ लख ३८ हजार ६६२ दशमलव ९० रुपैयाँ बराबरको बोनस सेयर रजिस्टर गरिएको छ भने ९ वटा कम्पनीको ९ अर्ब ४० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड योजना स्वीकृत भयो भएको हो ।

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकारसँगको भेटघाटमा सेयर बजारलाई सर्वसाधारण अनुकूल बनाइने बताएका छन् । वार्षिक करिब १४ अर्ब राजस्व उठ्ने क्षेत्र सेयर बजार पनि रहेकोले यस क्षेत्रमा रहेका समस्या समाधान गर्दै सर्वसाधारणको हित हुने गरी विकास गरिने शर्माले बताएका छन् । नवनियुक्त अर्थमन्त्रीप्रति लगानीकर्ता समेत सकारात्मक रहेको कारण चालू आर्थिक वर्षमा सेयर बजारले थप गति लिने विश्वास गरिएको छ ।

यसका साथै यस आर्थिक वर्षमा नियामकले पुँजी बजारमा एनआरएनको लगानी भिœयाउने, नयाँ स्टक एक्सचेन्ज सञ्चालन, कमोडिटी एक्चेन्ज कम्पनीलाई लाइसेन्स दिने, नयाँ ब्रोकर र बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा आइरहेको छ । यी कामहरू समयमा सम्पन्न हुन सके चालू आर्थिक वर्षमा सेयर बजारले थप फड्को मार्ने देखिन्छ ।

गत आर्थिक वर्ष सेयर बजारका सूचकहरूसँगै अन्य प्राविधिक तथा नीतिगत पक्षहरूमा समेत सुधार आएको थियो । अनलाइन कारोबार प्रणालीमा सुधार, ब्रोकर कमिसन घटाएर लगानीकर्तालाई केही राहत, अझै घटाउन धितोपत्र बोर्डद्वारा अध्ययन सुरु, पूँजीगत लाभकर सम्बन्धी व्यवस्थालाई नेपाल सरकारबाट स्पष्ट गरिदिनुका साथै विभिन्न वजार विकासका काम भएका थिए । त्यसका साथै बैंकको ब्याजदरले बजार बढाउन टेवा पुगेको थियो । यहि ब्याजदर चालू आर्थिक वर्षमा कायम भयो भने नेपाली पुँजी बजारले अर्को नयाँ फड्को मार्ने अपेक्षा गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 383 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब प्रतिस्पर्धीलाई काँधैमा बोके विजयीले