चितवन । एक भाई सिंगापुरको लाहुरे, अर्को भाई व्यवसायको क्रममा जापन । विदेशमै रामाउदै शुखसयलको जिन्दगी विताउन कुनै कुराको कमी थिएन । तर आफ्नै भुमिमा नयाँ काम गर्ने सोचका कारण विदेश छाडेर नेपालमा कृषिमा सकृय ।
भरतपुर महानगरपालिका– २६ दिब्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरूङ र उनका भाइ ताइबहादुर गुरूङले तिन विघा जमिनमा ड्रागन फ्रुट खेती गरेका छन् । विदेशको जागिरबाट अवकासपछि व्यवसायिक कृषिमा सकृय भएका उनीहरु नेपालमा नयाँ भएकोले ड्रागन खेती थालेको बताउछन् ।
दाई पदमबहादुर व्यवासायको क्रममा लामो समय जापानमा काम गरेर फकिएका हुन भने ताइबहादुर सिंगापुर गोर्खा कन्टिन्जेन्टबाट सेवा निवृत्त भएका हुन् । बाँकी जीवन स्वदेश मै सकृय भएर बिताउन पुर्खाको कृषी कर्ममा फर्केकाहुन ।
ड्रागन खेतीका लागि तिन विघा क्षेत्रफलमा १२ हजार विरुवा रोपिएका छन् । दुई मिटर फरकमा तिन हजार वटा सिमेन्टका पोल गाडेर हरेक पोलमा चारवटा विरुवा रोपेका छन् । हालसम्म एक करोड २० लाख लगानी गरेका उनीहरु यो खेतीलाई क्रमिक रुपमा थप्दै जाने बताउछन् ।
एकपटक लगाएपछि निकैवर्ष फल दिने, रोग–किरा कम लाग्ने र नयाँ पनि भएकोले ड्रागन फ्रुट लगाएको ताइबहादुर गुरुङले बताए । ‘यो खेती अरु बालीको भन्दा सजिलो र सरल छ’, उनले भने, ‘ माग बढ्दै गएको र बजारको पनि अभाव देखिएन ।’

ड्रागन फ्रुटको बिरुवा लगाएको दुई वर्षमा फल्न थाल्छ । जेठदेखि कात्तिकसम्म ५–६ पटक फल दिन्छ । फल २५० ग्रामदेखि एक किलोसम्मको हुन्छ । यो फल टिपेको १५ दिनसम्म बिग्रदैन
चितवनका अन्य ठाउँमा पनि ड्रागन फ्रुट लगाइएको छ, जिल्लामा व्यवसायीक रुपमा एकै पटक यति धेरै विरुवा लगाउने चाही गुरुङ दाजुभाइ नै हुन् । “गर्मीमा सप्रने यो फलको लागि चितवन निकै उपयुक्त ठाउँ देखियो ” गुरुगंले भने “सिउँडी प्रजातिको भएकाले ड्रागन फ्रुटलाई चर्को घाम लाग्ने चैत, बैशाख र जेठमा मात्र पानी दिए पुग्ने रहेछ । ”
डिप बोरिङ गरेर थोपा सिँचाइ प्रणाली अपनाइएको खेतीमा विरुवालाई पानीसँगै मल दिने गरिएको बताउदै उनले पानी लाग्ने तर नजम्ने तराई र भित्री मधेसमा ड्रागन फ्रुटको राम्रो व्यावसायीक सम्भावना रहेको जानकारी दिए ।
सुरुमा विरुवा पाउन भने समस्या परेको बताउदै उनले त्यसका लागि काठमाडौं, काभ्रे,भारत र भियतनामसम्म पुगेर महंगो –प्रति बोट पाँचसय रुपैयाँसम्म तिरेर विरुवा ल्याउनु परेको जानकारी दिए । ‘अहिले आफैँले नर्सरी तयार गरेर विरुवा विक्री गर्दै आएका छौं’, उनले भने ‘लगभग ६० हजार विरुवा विक्री गरिसकेका छौँ ।’
विरुवाको प्रति गोटा दुई सयका दरले विक्री गर्दै आएको जानकारी दिदैँ उनले अव यो लागत पनि कम गरेर सस्तोमा विरुवा दिने तयारीमा रहेको जानकारी दिए। “हामी ड्रागनको श्रोत केन्द्रको रुपमा विकास गर्दै छौँ ” गुरुगंले भने “कोही यो खेती गर्न रुचि राख्नुहुन्छ भने हामी सहयोग गर्छौँ । ”
ड्रागन फ्रुटको बिरुवा लगाएको दुई वर्षमा फल्न थाल्छ । जेठदेखि कात्तिकसम्म ५–६ पटक फल दिन्छ । फल २५० ग्रामदेखि एक किलोसम्मको हुन्छ । यो फल टिपेको १५ दिनसम्म नबिग्रने र किलोको पाँच सय रुपैयाँसम्म बिक्री भइरहेको उनले बताए ।
रसिलो, गुलियो र स्वादिलो फल ड्रागन फ्रुटमा १२ प्रकारका खनिज र भिटामिन पाइन्छ । यसबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी पनि बनाउन सकिन्छ । यसको फूलको तरकारी स्वादीलो हुन्छ ।
ड्रागन फ्रुट तीन किसिमको हुन्छ– खाने भाग सेतो, रातो र बाहिरी भाग पहेँलो हुन्छ । बाहिर बोक्रा रातो र भित्र खाने भाग सेतो हुने ड्रागन फलमा बाहिर रातो र भित्र खाने भाग पनि रातो हुने प्रजातीको तुलनामा गुलियोपन कम हुन्छ ।
भित्र–बाहिर रातो हुने ड्रागन फलमा गुलियोपन बढी भए पनि फल कम लाग्ने तइबहादुर गुरुङले बताए । अहिले नेपालमा बाहिर रातो भित्र सेतो हुने ड्रागन फल बढी लगाइएको उनले बताए । बोक्रा हल्का पहेँलो र खाने भाग सेतो हुने प्रजाती पनि हुन्छ, तर त्यसको पनि फल कम लाग्छ । “हामीले सवै जातको लगाएका छौँ ” उनले भने“उत्पादकत्व र वजारको माग अनुसार पछि वढाउछौँ ।”
ड्रागनको बोट मुनी अन्तरबाली समेत लगाउन सकिने छ । अन्तर बालीका रुपमा राजमा ,लसुन, प्याज,चुकन्दर तरभुर्जा, भेण्डी , खुसार्नी लगाएतका तरकारी तथा फलफुल लगाउन सकिन्छ । अन्तरबाली लगाए र स्याहारसुसार गर्न सके राम्रो लाभ लिन सकिने गुरुगंको भनाई छ ।
यसको सेवनले शरिरमा क्यान्सर प्रतिरोधि शक्तिको विकास गर्न मदत पुग्ने, शरिरमा रहेको विषाक्त तत्वलाई हटाउनुका साथै रगतमा भएको उच्च कोलेस्टोर घटाएर उच्च रक्तचापलाई सन्तुलनमा ल्याउने बताईन्छ । “भरतपुरमा रहेको वीपी मेमोरियल क्यान्सर अस्पतालका विरामी र चिकित्सकहरुको अर्डर धेरै आउनेगरेको छ ” गुरुगंले भने “अस्पतालका चिकित्सकहरु फिल्डमै आएर अवलोकन गरेर अर्डर गर्नेक्रम बढेको छ । ” यो फल नियमित खाने मान्छेमा मुटु रोग, क्यान्सर, सुगर, ग्याष्ट्रिक, कब्जियत, कोलेस्ट्रोललगायतका रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
ड्रागनको बोटले कम्तिमा पनि १२ वर्षसम्म उत्पादन दिइरहन्छ । १२ वर्षपछि बोटलाई एक फुटको उचाइमा काट्नुपर्छ । त्यसपछि फेरि त्यसले करिव १० वर्षसम्म उत्पादन दिन्छ । यसरी राम्रोसँग उचित स्याहारसुसार गरेर खेती गरेमा यसले २० देखि ३० वर्षसम्म फल दिन्छ ।
नेपालमा सुख्खा क्षेत्रमा रहेका वाँझो जमिनमा प्रसस्त खेती गर्न सकिने बताउदै उनले यो खेती प्रभावकारी रुपमा अगाडी बढाउन सरकारले विशेष सहयोग र प्याकेजको कार्यक्रम ल्याउनुपर्ने बताए ।
यसको फललाई इनर्जी ड्रिंक, वाइन, ब्रान्डी, उच्चस्तरीय आइसक्रिम, शरीरमा लगाउने क्रिमलगायतका कुराहरु बनाउन पनि प्रयोग गरिन्छ । ड्रागनको फूलको पत्ता सुकेपछि यसबाट विशेष प्रकारको चियापत्ती बनाउन सकिने गुरुगंले बताए ।
“उत्पादन सुरुभयो अव वजार व्यवस्थापनमा ध्यान दिदैँ छौ” गुरुगंले भने “उत्पादनमा वृद्धी र व्यवस्थित बजार बनाउन सके नेपालमा उत्पादन भएको ड्रागन विदेश पठाउन सकिन्छ ।”






