काठमाडौं । प्राविधिक दुनियाँमा दशकदेखि सक्रिय सुरेशकुमार राउतले चार सयभन्दा बढी म्युजिक भिडियो सम्पादन गरिसके । यसै सातामात्रै उनीद्वारा तीन भिडियो सम्पादन भए । साउनभर दर्जन भिडियो सम्पादन सक्नुपर्ने उनी सुनाउँछन् । त्यसो त, राउत महँगो पारिश्रमिक लिने भिडियो सम्पादकमै पर्छन् ।
एउटा भिडियो सम्पादनबापत न्यूनतम १५ हजार र अधिकतम १ लाख रुपैयाँसम्म लिने गरेका छन्, उनले । एउटा गीतको सम्पादन सालाखाला २५ हजार लिनेगरेको उनी बताउँछन् । एउटा भिडियो गीत सम्पादनसँगै पूर्णरूपमा भीएफएक्स र ग्राफिक्सबाट तयार गर्दा १०-१२ दिन लाग्छ ।
मेहनतअनुसार भिडियोको १ लाखसम्म पारिश्रमिक लिने गरेको राउतले बताए । महँगा म्युजिक भिडियो सम्पादकमा भरत रेग्मी पनि पर्छन् । ‘अति सस्तो’ भन्नाले एउटा भिडियो सम्पादन गरेबापत १५ हजार रुपैयाँसम्म लिने गरेका छन्, उनले । डेढ दशकको सम्पादन ‘करिअर’मा रेग्मीले करिब १ हजार भिडियो गीत सम्पादन गरिसके ।
चलचित्र दृश्य सम्पादन अरू पेसाको तुलनामा सजिलो, सुरक्षित र राम्रो कमाइ हुने क्षेत्र भएको उनीहरूको कथन छ
आफ्नो पारिश्रमिकबाट सन्तुष्टै देखिन्छन्, उनी । ‘एक दिन मेहनत गरेर एउटा भिडियोको सम्पादन सक्दा १५ देखि २५ हजार जसले पनि दिन्छन्,’ भन्छन्, ‘यही कारण पनि आफ्नो पेसाबाट सन्तुष्ट नै छु ।’ रेग्मीका अनुसार रोदी एन्ड फ्रेन्च ब्यान्डको ‘एक छिन बरालिँदा…’, रविना थापाको ‘सेल्फी क्विन…’ जस्ता गीतबाट प्रतिभिडियोको १ लाखसम्म पारिश्रमिक लिइएको छ । यी भिडियो गीत सम्पादन, भीएफएक्स, ग्राफिकसहित तयार गर्दा दुई साता लागेको उनको अनुभव छ ।
भिडियो सम्पादक मित्र गुरुङ साताको तीनवटासम्म भिडियो गर्छन् । मूलतः उनी चलचित्र सम्पादक हुन् । यद्यपि, दुई सयभन्दा बढी म्युजिक भिडियो सम्पादन उनको पोल्टामा परिसकेका छन् । एउटा भिडियो सम्पादन गर्दा १५ हजारदेखि ६५ हजारसम्म पारिश्रमिक लिने गरेका छन्, उनले । गुरुङका अनुसार एउटा म्युजिक भिडियो भीएफएक्स र ग्राफिकबाट ६५ हजारसम्म लिने गरेको र यी भिडियो तयार गर्न एकदेखि दुई साता लाग्छ ।
महँगो पारिश्रमिक लिएर म्युजिक भिडियो सम्पादन गर्नेमा निशान घिमिरे, टेकेन्द्र शाह, लोक बज्राचार्यलगायत पर्छन् । पछिल्लो पुस्ताका विकास दाहाल, विकास ज्ञवाली, सुप्रिम पराजुली, नवीन निरौला, सिलन लम्साल देखिएका छन् । उनीहरू एउटा भिडियोबाट १५ देखि २५ हजार रुपैयाँ पारिश्रमिक लिने गर्छन् । एउटा भिडियो भीएफएक्स, ग्राफिक, एनिमेसनसहित तयार गर्दा ६० देखि ८० हजारसम्म लाग्ने गरेको उनीहरू बताउँछन् ।
म्युजिक भिडियो सम्पादन घरमै गर्न मिल्ने भएकै कारण आफूहरू कोरोनाबाट सुरक्षित हुने गरेको उनीहरू बताउँछन् । चलचित्र दृश्य सम्पादन अरू पेसाको तुलनामा सजिलो, सुरक्षित र राम्रो कमाइ हुने क्षेत्र भएको उनीहरूको कथन छ । लकडाउन केही खुकुलो भएसँगै म्युजिक भिडियो छायांकन बढेको अवस्था छ । जसका भडियो गीत सम्पादकले व्यस्त हुने मौका पाएका छन् । आफ्नै घरभित्र बसेर गरिने कर्मले ‘राम्रो आम्दानी हुने गरेको’ उनीहरू बताउँछन्






