काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो ।
२९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि गठबन्धनमा रहेका दलहरूबीचको सहमतिबाट सरकारका कामकारबाहीलाई सहयोग गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको थियो ।
सो कार्यदलले सरकारको न्यूतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको हो । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेतृत्वबाट अन्तिम रूप दिने तयारी भइरहेको छ । कार्यदलले नै सरकारमा सहभागी हुने दलबीच मन्त्रीको भागबन्डाको कामसमेत गरिरहेको छ ।
कार्यदलका संयोजक खड्काले सरकारले गर्ने कामका विषयको सन्दर्भमा रहेर न्यूनतम साझा कार्यक्रम बनाइँदै गरेको जानकारी दिए । ‘सरकारसँग सम्बन्धित विषयमा न्यूनतम कार्यक्रम बनाउँदै छौं, सरकारले केके गर्ने भन्ने कुरा हामीले साझा कार्यक्रममा ल्याउँदै छौं, ड्राफ्ट तयार हुँदै छ,’ कार्यदलका संयोजक खड्काले राजधानीसँग भने ।
– सरकारले गर्ने काम निर्धारण हुँदै
– संविधान संसोधनको विषय पनि समावेश
साझा कार्यक्रमको तयार मस्यौदामा प्रारम्भमा गठबन्धनलाई बलियो बनाउन साझा कार्यक्रमको आवश्यकता महसुस गरिएको उल्लेख छ ।
कार्यदलले तयार गरेको सरकारको साझा कार्यक्रममा अहिलेको अवस्थामा जनताको स्वास्थ्य सरोकारसँग प्रत्यक्ष जोडिएको कोरोना संक्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको छ ।
यसैगरी, अघिल्ला सरकारले विभिन्न निकाय र क्षेत्रमा गरेका देशभरका राजनीतिक नियुक्तिका विषयलाई प्रक्रिया पु¥याएर कसरी खारेजीको प्रक्रियामा लैजाने भन्ने विषय पनि उल्लेख छ ।
यस्तै, जनता समाजवादी पार्टी, नेपालले उठाउँदै आइरहेको संविधान संसोधनको मुद्दाका विषय पनि सरकारको साझा कार्यक्रममा राखिएको छ । संविधान संसोधनका लागि कार्यदल बनाउने विषय साझा कार्यक्रममा आउँदै छ ।
यसैगरी, गठबन्धन आबद्ध दलबीच गरिने काम र सहकार्यका विषयलाई पनि सरकारको साझा कार्यक्रममा राखेर गठबन्धनको शक्तिलाई थप बलियो बनाउने विषय पनि सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यदलका सदस्य कांग्रेस नेता रमेश लेखकले सरकारले गर्नुपर्ने न्यूनतम कार्यक्रम साझा कार्यक्रममा आउने जानकारी दिए ।
‘सरकारले केके काम गर्ने, सरकारको प्राथमिकता के हो ? भन्ने कुरा न्यूनतम साझा कार्यक्रममा आउँछ, केही विषयमा अघिल्ला सरकारले गरेका कामको पनि समीक्षा हुन्छ,’ कार्यदलका सदस्य लेखकले भने ।
कार्यदलले केही दिनभित्रमा नै न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतृत्वलाई बुझाउने र शीर्ष नेतृत्वबाट पास भएपछि सरकारले सोही नीतिअनुसार काम गर्ने बताइन्छ ।
कार्यदलमा कांग्रेसबाट डा. मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादीबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।






