सांसदको आग्रहः कोरोना खोप चैतसम्म नपर्खौं

काठमाडौं । कोराना खोपका लागि चैतसम्म नपर्खिन सांसदहरूले आग्रह गरेका छन् ।
स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण अवस्था, न्युनीकरण योजना, खोप अभियान विषयमा बिहीबार प्रतिनिधिसभा बैठकमा जानकारी गराएपछि सांसदहरूले चैतअघि नै खोप व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

दसैं–तिहारजस्ता चाडपर्वमा धेरै मानिस आवतजावत गर्ने हुनाले कोरोना संक्रमण बढ्नसक्ने भन्दै उनीहरूले दसैंअघि नै खोप दिनुपर्नेमा जोड दिए । दसैंअघि नै कोरोना खोप दिन नसके ‘तेस्रो लहर भयावह बन्नसक्ने’समेत उनीहरूले औंल्याएका छन् ।

राज्यमन्त्री श्रेष्ठले चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको योजना रहेको बताउ“दै त्यसअनुसार तयारी अघि बढिरहेको जानकारी दिए ।
सांसद खेमप्रसाद लोहनीले चार महिनाभित्र सबै नागरिकलाई खोप दिनेगरी व्यवस्थापन गर्न आग्रह गरे । ‘कोरोना खोप चैत मसान्तसम्ममा भन्ने यहाँ पनि आयो, धेरै ठाउँमा आएको छ,’ उनले भने, ‘यो धेरै ढिलो हुन्छ । अहिले चैत भन्यौं भने असार जान्छ । त्यसकारण अबको चार महिनामा खोप लगाउने व्यवस्थापन गरौं ।’

पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले खोपका लागि गरेको काम प्रशंसायोग्य रहे पनि व्यवस्थापन कमजोर भएको टिप्पणी गरे । ‘व्यवस्थापन किन यति कमजोर ?’ थापाले प्रश्न गर्र्दै थपे, ‘काठमाडौं उपत्यकामा कोरोना संक्रमण न्युनीकरणका लागि भनेर बिहीबार राति ८ बजेपछि यातायात सञ्चालनमा रोकसमेत लगाइएको छ । कोरोना साँझ र राति बढ्दै जाने दिउँसो घट्ने यसको वैज्ञानितक तथ्य के हो ?’
सांसद रामकुमारी झाँक्रीले खोप केन्द्र व्यवस्थापन चुस्त हुन नसकेको बताइन् । ‘खोपका लागि मान्छेलाई लाइनमा राखिएको छ । खोपकार्डमा रि म्यानेजमेन्ट गर्ने हो कि ?’ उनको सुझाव छ ।

पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले ‘निःशुल्क’ भनिएको कोरोना उपचारका लागि नागरिकले महंगो शुल्क तिर्नु परिरहेको भन्दै सांसदको ध्यानाकर्षण गराए ।
सांसद कृष्णकुमार राईले होटल रेष्टुरेन्टमा समेत कोरोना खोप भेटिएको भन्दै सरकारको जवाफ मागे ।

सांसद रामबहादुर विष्टले नेपालले पैसा तिरिसकेको भनिएको ‘खोप भारतबाट आउँदैछ कि आउँदैन ?’ भन्दै प्रश्न तेस्र्याए ।

सांसद महेश बस्नेतले विद्यार्थीको परीक्षा स्वास्थ्य मापदण्ड पालना नगरी ‘किन लिइएको ?’ भनी प्रश्न गरे । खोप लगाएको प्रमाणपत्र लिन लाइन लागेको विषयमा सरकारको जवाफसमेत उनले मागे ।

जवाफमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकार सबै कोणबाट कोरोना महामारी न्युनीकरणमा लागिरहेको र लाग्ने प्रतिबद्धता जनाए । अब कोरोना खोप पर्याप्त आउने विश्वाससमेन उनले दिलाउन खोजे ।

‘अब खोप प्रशस्त आउँछ, सरकारले नागरिकलाई कमसेकम एक खोप त लाऊ भन्ने छ,’ उनले भने, ‘अनुदान र खरिद गरेर पनि खोप ल्याउने पहल जारी छ, कतिपय सुनिश्चित भइसकेको छ ।’ अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएकामध्ये ४२ लाखलाई लगाइएको जानकारी पनि उनले दिए ।

नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पु¥याएको राज्यमन्त्री श्रेष्ठको दाबी छ । हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको उल्लेख गर्दै उनले असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको बताए ।

‘अब सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५÷१६ वटा जिल्ला प्राथमिकतामा राखेर खोप अभियान चलाउने’ मन्त्री श्रेष्ठले जानकारी दिए । ‘तर एकैपटक धेरै खोप ल्याएर भण्डारण गर्ने नेपालको क्षमता छैन,’ उनले भने, ‘हाम्रो खोप भण्डारण २५ लाखभन्दा छैन, यसकारण ल्याएर द्रुतगतिमा लगाउने नै विकल्प हो ।’

राज्यमन्त्री श्रेष्ठले मेलम्ची बाढीपीडितका लागि तत्काल खोप व्यवस्था हुने बताए । ‘म भोलिपर्सिका दिन मेलम्चीका जनतालाई पूर्ण रूपमा खोप लगाउने प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ उनले भने ।

सांसदहरूले होटलमा, नेताका घरमा र मःमः पसलमा समेत खोप भेटाइएको भनी सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले ‘खोप दुरुपयोग गरेको पाइए कारबाही हुने’ बताए ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी