ग्रिसले अवैध आप्रवासी उनीहरूकै देश फिर्ता गर्ने

कास्टानिज ।  ग्रिसले यही मार्च १ तारिखपछि अवैध रूपमा ग्रिस प्रवेश गरेका आप्रवासीलाई उनीहरू आएकै स्थानतर्फ फर्काउने जनाएको छ । उनीहरू छिमेकी मुलुक टर्कीको सेरेजबाट बिना इजाजत ग्रिस प्रवेश गरेका थिए । ग्रिसका आप्रवासमन्त्री नोटिस मिटाराचीले रातिको समयमा लुकिछिपी ग्रिस प्रवेश गरेकालाई पक्राउ गरी उनीहरूकै देशतर्फ फर्काइने जानकारी दिए ।

टर्कीले गत २८ फेब्रुअरीमा आफ्नो भूमिमा लामो समयदेखि रहे÷बसेका आप्रवासीमध्ये टर्की प्रवेश गर्न चाहनेमाथि कुनै कारबाही नगर्ने वा नरोक्ने घोषणा गरेको थियो । यही मौकामा कम्तीमा १० हजार व्यक्ति ग्रिस प्रवेशका लागि सीमा क्षेत्रमा भेला भएका थिए । युरोपेली युनियनसँग टर्कीले सन् २०१६ मा गरेको सम्झौतामा यी आप्रवासीलाई ग्रिस वा युरोपेली मुलुकमा अवैध प्रवेश गर्न नदिने उल्लेख थियो ।

यहीबीच टर्कीले आप्रवासीमाथि खुकुलो नीति लिएसँगै सयौं व्यक्ति ग्रिस प्रवेश गरिसकेका छन् । उनीहरूमध्ये अधिकांश सामुद्रिक मार्ग हुँदै ग्रिसको लेसबोस पुगेका छन् भने केही व्यक्ति ग्रिसका अरु द्वीपमा पुगेका छन् । टर्की र ग्रिसले पछिल्लो समय एकअर्कामाथि आप्रवासीमाथि ज्यादती गरेको आरोप लगाइरहेका छन् । सीमा क्षेत्रमा भेला भएका आप्रवासीमाथि दुवै देशका सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको छ ।

एथेन्स न्युज एजेन्सीसँग कुरा गर्दै ग्रिसका आप्रवास मन्त्री मिटाराचीले भने, ‘हाम्रो उद्देश्य अवैध आप्रवासीलाई उनीहरूकै देश फर्काउनु हो,’ उनले सन् २०१९ को जनवरी १ भन्दा अघि ग्रिस प्रवेश गरेका र विभिन्न द्वीपमा छरिएर बसिरहेका आप्रवासीलाई आगामी दिनमा एकै थलोमा ल्याइने पनि बताए ।

ग्रिसले गत मार्च १ मा आप्रवासका लागि आवेदन दिए पनि कुनै पनि निवेदनलाई स्वीकार नगरिने घोषणा गरेको थियो । तर, ग्रिसको सो कदमप्रति विभिन्न मानवअधिकार संस्थाले आलोचना गरेका छन् । ग्रिसको लेसबोसमा यसअघि नै २० हजारभन्दा बढीले आश्रय लिइरहेका छन् ।

टर्कीले सीमा क्षेत्रमा गोली चलाउँदा एक जना आप्रवासीको मृत्यु भएको र अरू पाँच जना घाइते भएको आरोप लगाएको छ तर ग्रिसले उक्त आरोपको खण्डन गरेको छ । ग्रिसका अनुसार टर्कीको प्रहरीले अश्रुग्याँस प्रहार गरी आप्रवासीलाई ग्रिसको सीमाभित्र प्रवेश गराउन मद्दत गरिरहेको छ ।

सिरियाको इद्लिबमा रसिया समर्थित सिरियाली हवाई आक्रमणमा टर्कीका ३३ जना सैनिक मारिएपछि पछिल्लो संकट उत्पन्न भएको हो । इद्लिबमा जारी सिरियाली बम हमला रोक्न युरोप र अमेरिकाले पर्याप्त ध्यान नदिएको टर्कीको आरोप छ ।

तपाइको प्रतिक्रिया
(Visited 441 times, 1 visits today)

epaper

ताजा समाचार

जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार