नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया सुरु भएसँगै महाधिवेशन प्रतिनिधि छनोटका लागि वडास्तरीय सम्मेलन सम्पन्न हुने क्रम रहँदा २१ वटा जिल्लाको वडास्तरको सम्मेलनको टुंगो लाग्न सकेको छैन । यसले नेपाली कांग्रेसभित्र चलिरहेको गुटगत अभ्यासको जालो र समस्या अझै उस्तै छ भन्ने देखाएको छ भने यस्तो प्रवृत्तिले कांग्रेसभित्रको आधारभूत प्रजातान्त्रिक अभ्यासमाथि प्रश्न उठ्दै गएको छ ।
नेपाली कांग्रेस सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भए पनि पार्टीको सोचमा प्रजातान्त्रिकपन र त्यसको प्रजातान्त्रिकतवरले गरिनुपर्ने अभ्यासमा ठुल्ठुला गत्यावरोध सिर्जना हुँदै गएको स्पष्ट देखिन थालेको छ । जनस्तरमै यो व्यवधान खडा हुन थालेपछि महाधिवेशन स्वच्छ र स्वस्थ हुन सक्ला कि नसक्लान् भन्ने प्रश्न पनि उब्जिएको छ । किनकि, यही प्रजातान्त्रिक अभ्यासले नै कांग्रेसलाई अरू पार्टीहरूभन्दा फरक देखाउने हो । तोकिएको समयमा प्रक्रियागत हिसाबले सबै ठाउँमा पहिलो चरणको स्थानीयस्तरको वडा सम्मेलन सम्पन्न हुनुपर्नेमा २१ जिल्लामा रोकिँदा यसले आशंका उब्जाएको छ । कतै यी जिल्ला र तिनमा हुने महाधिवेशन प्रतिनिधि छनोट नेताहरूको हार र जितका लागि निर्णायक त छैनन् ? यदि यसो हो भने नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापति उमेदवारहरूको हारजितको फैसला स्थानीय स्तरबाटै सुनिश्चिततापूर्वक गराउँदै ल्याइँदै छ भन्ने देखिन्छ ।
स्थानीय तह रहेको २१ जिल्लाका क्रियाशील सदस्यताको नामावली अहिलेसम्म सार्वजनिक गरिएको छैन । अहिलेसम्म ४० जिल्लाको सम्मेलन सम्पन्न भइसकेको, बाँकी १६ जिल्लामा पनि क्रियाशील सदस्यको नामावली सार्वजनिक भइसकेको अवस्थामा नामावली नै प्राप्त नभएका २१ जिल्ला’bout पार्टी निर्वाचन समिति बेखबर रहेको छ । हरेक राजनीतिक पार्टीका लागि स्थानीय तह आधारभूत तह हुन् । यी तहमा हुने गतिविधिले केन्द्रमा भुइँचालो ल्याउने गर्छ । स्थानीय तहले ‘हाइपोसेन्टर’को काम गरिरहेको हुन्छ भने केन्द्र ‘इपिसेन्टर’को भूमिकामा हुन्छ । त्यसैले पनि नेपाली कांग्रेसको केन्द्रीय तहमा देखिएका विभिन्न लबी र तिनका गतिविधिले स्थानीय तह निकै प्रभावित हुने गरिरहेका छन् । त्यति मात्र होइन, स्थानीय तहका गतिविधिले केन्द्र पनि स्वाभाविक रूपमा निकै तरंगित र कम्पित हुने गरिरहेको छ । स्थानीयस्तरका यी २१ जिल्लाको क्रियाशील सदस्यको नामावली नआउँदासम्म कुर्नुबाहेक अन्य विकल्प देखिँदैन । यसले भदौ २३ गतेसम्म स्थानीय सम्मेलन सम्पन्न गरिसक्ने पार्टी महाधिवेशनको समयतालिका प्रभावित हुने देखिएको छ । तर, अब कांग्रेसले यदि आफू साँच्चै नै लोकतान्त्रिक दल भएको अनुभूति आमजनतामा दिनका लागि पनि तोकिएकै समयमा सबै प्रकारका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशन पनि समयमा नै सम्पन्न गर्नुपर्छ । अहिले कतिपय जिल्लामा निर्वाचित भएका पदाधिकारीमा युवापुुस्ताको राम्रो उपस्थिति देखिएको छ । यसलाई भने निकै सकारात्मक रूपमा लिनुपर्छ ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार नेपाली कांग्रेसले १८ भदौमा नै देशभरका ७७ वटै जिल्लामा रहेका ६ हजार ७ सय ४३ वटा वडामा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने थियो । पार्टीभित्रको क्रियाशील सदस्यताको विवाद क्रियाशील सदस्यता छानबिन समितिले गर्ने भनिए पनि समस्या हल हुन सकिरहेको छैन । उता कांग्रेसले तोकेको ७ सय ५३ वटै पालिका तहको २७ भदौमा गरिसक्ने पालिका महाधिवेशन सम्मुख आइपुगेको छ । तर, पनि यी तहगत अधिवेशनमा विचार र बहसलाई स्थान दिइएको छैन । केवल सांगठनिक र प्राविधिक कुरालाई हार र जितको विषय बनाइएको छ । महाधिवेशन संगठनको सर्वोच्च रूप हो । यसमा विचारको बहसले प्रधानता पाउनुपर्छ ।






