इटहरी । विभिन्न समयमा चर्चामा आएका गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् ।
गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर परिसरमै दुई महिलालाई दुव्र्यवहार गरेका थिए । इटहरी ४ का सीता शेर्पा राई र शर्मिला भट्टराईलाई मेयर चौधरीले ‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ? बाहिर–बाहिर’ भन्दै कार्यकक्षमै दुव्र्यवहार गरेका थिए ।
सोही विषयमा केहीदिनयता इटहरीका महिला अधिकारकर्मीहरू आन्दोलनरत छन् । महिला सञ्जाल इटहरीकी अध्यक्ष शुभद्रा प्याकुरेलले मेयर चौधरीसँग विषयगत हिसाबमै कुरा गर्न आफूहरु तयार भएको भएपनि चौधरीले फोन ‘स्वीच अफ’ गरेको र होच्याएर बोलिएको शब्द फिर्ता लिनुपर्ने बताइन् । ‘उहाँले बोल्नुभएको शब्दले हाम्रो भावनामा चोट पुगेको छ, विषयगत रुपमा जान्छौँ भन्ने सोचेका थियौँ, तर मेयर साबको फोन पनि स्वीच अफ छ,’ बिहीबार उपमहानगर परिसरमा आन्दोलनरत महिलाहरूको पक्षमा बोल्दै उनले भनिन्, ‘भोलिका दिनमा भयावह अवस्था आउन नदिनका लागि पनि उहाँले सार्वजनिक माफी माग्नुपर्छ र जनप्रतिनिधिले पाठ सिक्न आवश्यक छ ।’ वृद्ववृद्वाले समेत घरपरिवारको समस्यालाई थाँती राखेर आन्दोलन गर्नुपर्ने बाध्यता आइपर्नुले पनि मेयर चौधरीको अस्वभाविक हर्कत रहेको उनको तर्क छ ।
महिला अधिकारकर्मी योशा गुरागाईँले आफूहरू दुईदिनयता आन्दोलनमा रहेको भएपनि प्रहरीले हस्तक्षेप गरेको बताइन् । उनले भनिन्, ‘संयुक्त रूपमा हामी आन्दोलनमा छौँ, बुधबार मेयरको कार्यकक्षमा पनि तालाबन्दी गरेका थियौँ, तर बिहीबार प्रहरीहरूले तालाबन्दी फोडेको भन्ने खबर आएको छ ।’ आफूहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको उनको भनाइ छ । पटकपटक महिलामाथि मेयर चौधरीले गरेको अस्वभाविक हर्कतको जति विरोध गरेपनि नहुने उनको तर्क छ । ‘मेयरले के गर्न हुन्छ हुँदैन भनेर पदको ख्याल छैन भने राजीनामा दिदाँ पनि फरक पर्दैन,’ उनले भनिन् ।
महिला अधिकारकर्मी सावित्री सुवेदी (जयनारी) ले मेयर चौधरीले महिलाहरूलाई पटकपटक गरेको व्यवहार खेदजनक रहेको टिप्पणी गरिन् । आन्दोलनरत महिलाहरूको पक्षमा सम्बोधन गर्दै उपमहानगर परिसर अगाडि उनले मेयरले सार्वजनिक माफी माग्नुपर्ने बताइन् । ‘महिलाहरू घर चुल्होमा मात्रै सीमित छन् भन्ने किसिमले मेयरले गरेको व्यवहार मान्य हुँदैन,’ उनले भनिन्, ‘इटहरीका मेयर नमूना मेयर हुन्, अन्य ठाउँका जनप्रतिनिधिहरू महिला हिंसा अन्त्य गरौँ भनेर महिलाका मुद्वा छातीमा बोकेर हिड्नुहुन्छ, तर यहाँका मेयर लात प्रहार गर्नुहुन्छ ।’
अघिल्लो बुधबार सीता शेर्पा र शर्मिला भट्टराई नगरले दिने गरिबी अनुदान लिन मेयरको कार्यकक्षमा पुग्दा उनीमाथि दुव्र्यवहार भएको थियो । मेयरबाट पीडित शेर्पाले भनिन्, ‘मेयरको दुव्र्यवहारले एकातिर पीडा छ, अर्कोतिर सडकमा रातदिन हड्डी घोटेर गरिखाने दिदीबहिनीलाई सम्झदाँ पोल्छ ।’ गरिखाने श्रमिक महिलामाथि मेयरको व्यवहार अस्वभाविक भएकाले कारबाही गरिनुपर्ने उनको माग छ ।
मेयर चौधरीका स्वकीय सचिव सूर्य चौधरीले समेत धम्की दिएको उनको भनाइ छ । अहिले विभिन्न १३ सङ्गठन महिला अधिकारकर्मीहरूले मेयरलाई कारबाही हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् ।