काठमाडौं । हास्यव्यंग्य जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुमुर्स–सुन्तली) जोडीलाई भाइ कुमार कट्टेल (जिग्री)ले गीत उपहार दिएका छन् । धुमुर्स–सुन्तलीको विवाहको १४औं वर्ष गाँठको अवसरमा यी जोडीलाई कुमारले गीत उपहार दिएका हुन् ।
तीन वर्षयताबाट चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त रहेका धुमुर्स–सुन्तलीलाई यतिबेला त्यो परियोजना सम्पन गर्न निकै सकस परेको छ । आर्थिक अभावले उनीहरूले त्यो परियोजनालाई दु्रत गतिमा अघि बढाउन सकेका छैनन् । जसका कारण निकै तनावमा रहेका धुमुर्स–सुन्तली जोडीलाई उनीहरूको विवाह वर्ष गाँठमा कुमारले एउटा गीत नै बनाएर १४औं वार्षिकोत्सव मनाइदिएका छन् ।
यसअघि हास्य अभिनेताको रूपमा परिचित कुमारले दाजुभाउजूका लागि नयाँ ‘गीत मायाले जीवन सजाऊँ….’ गाएका छन् । यो गीतमा कुमार र अस्मिता अधिकारीको स्वर रहेको छ । अभिनयमा आफ्नो फरक परिचय बनाएका कुमारको यो गीतमा स्वर पनि राम्रै सुनिएको छ ।
क्रिकेट रंगशालाका कारण तनावमा रहेका धुमुर्स–सुन्तलीलाई यो गीतबाट विवाहको १४औं वर्ष गाँठको शुभकामना दिइएको छ । गीतको भिडियोमा धुर्मुस र सुन्तली आफैंले अभिनय गरेका छन् । गीतको भिडियोमा यी दम्पत्तिको प्रेम देखाइएको छ । कुमारले गाएको यो गीत मायाप्रेम भावमा रहेकाले भिडियोमा धुमुर्स–सुन्तलीलाई प्रेमी प्रेमिकाको रूपमा उतारिएको छ ।
यसरी एकातर्फ कुमारले आफ्नो गायन यात्रा यो गीतबाट सुरु गरेका छन नै । अर्कोतर्फ दाइ भाउजूलाई वैवाहिक वर्ष गाँठको शुभकामना पनि दिएका छन् ।
यो गीतलाई अर्जुन पोखरेलले संगीत गरेका हुन् । गीतको शब्द पनि अर्जुन पोखरेलकै हो । यो गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोलाई धुमुर्स सुन्तलीको अफिसियल च्यानलबाटै रिलिज गरिएको छ ।






