काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डबाट बर्खास्त भीष्मराज ढुंगानाको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उनलाई बर्खास्त गर्नुको कारण माग गर्दै नेपाल सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । ढुंगानालाई किन बर्खास्त गरेको भन्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । साथै, रिट निवेदक ढुंगानाको मागबमोजिम अन्तरिम आदेश जारी नहुने आदेश जारी गरेको छ । बोर्डको अध्यक्षमा पुनर्बहालीको माग गर्दै ढुंगानाले कात्तिक ७ गते दायर गरेका थिए ।
सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो । उनले छोरी रेविका ढुंगाना धितालको नाममा सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ खरिद गरेको आरोप लागेको थियो ।
नियामक निकायको नेतृत्वमा रहेका उनीमाथि सो सेयर खरिद गरेर सेयर बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गर्न सहयोग गरेको आरोप छ । सोही आरोपमा मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बोर्डको अध्यक्षबाट हटाएको थियो ।






